कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

समर्थकप्रेरित टर्कीको विश्वास

रोयटर्स

डर्टमन्ड — युरोको आफ्नो पहिलो खेलमा प्राप्त जित र समर्थकहरूको अपार उपस्थितिले टर्की एक अर्को राम्रो प्रदर्शनका लागि प्रेरित रहनेछ । 

समर्थकप्रेरित टर्कीको विश्वास

टर्कीले आफ्नो दोस्रो खेलमा शनिबार पोर्चुगलको सामना गर्नेछ । पोर्चुगलले भने इन्ज्युरी समयको गोल मदतमा चेक गणतन्त्रलाई गाह्रोसँग २–१ ले हराएको थियो । फ्रान्सिस्को कोन्सेकाउले खेलको अन्त्यतिर गोल गरेका थिए । त्यसैले प्रतियोगिता अगाडि उपाधिको बलियो दाबेदार रहेको पोर्चुगलमाथि शंका उत्पन्न भएको थियो ।

रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको पोर्चुगलले छनोटका सबै १० खेल जितेको थियो । यो टिमसँग सबैभन्दा ठूलो सम्पत्तिका रूपमा ३९ वर्षीय जादुयी कप्तान क्रिस्टियानो रोनाल्डो छन् । यस्तै ठूलो आशाकै कारण चेक टिमविरुद्ध जित निस्के पनि पोर्चुगल फिक्का देखिएको थियो । यसपल्ट पोर्चुगलसामु यो भन्दा बलियो प्रतिद्वन्द्वी छ टर्की । टोली भने जर्जियामाथि ३–१ को प्रभावशाली जित निकाल्न सफल रहेको थियो ।

दसौं हजारको संख्यामा रहेका टर्कीका समर्थक अहिले जर्मनीमा छन् । उनीहरू सबै देशका रातो झण्डासँग मिल्ने गरेर रातै देखिएका छन् । पोर्चुगलविरुद्धको खेलअघि अझ बढी टर्कीका समर्थक जर्मनी आइपुग्ने विश्वास छ । ‘हाम्रा समर्थक जर्जियाविरुद्धको खेलमा अविश्वसनीय रहे । खराब मौसमका बेला पनि ती समर्थक हाम्रा लागि रंगशालामा थिए । अनि हाम्रा लागि ठूलो स्वरमा नारा लगाइरहेका थिए,’ धेरै भूमिकामा खेल्न सक्ने फेर्डीले भने ।

‘हाम्रा समर्थक हाम्रा लागि १२ औं खेलाडी हुन्,’ उनी थप्छन् । जर्मनीमा तीस लाखभन्दा बढी टर्की मूलका छन् । सन् ६० को दशकमा टर्कीबाट जर्मनीमा पलायनको क्रम सुरु भएको थियो । जर्मन र टर्कीको फुटबल टिममा पनि धेरै समानता पाइन्छ । जर्मन कप्तान इल्काये गुन्डोगन स्वयं टर्की मूलका हुन् । अर्कोतर्फ टर्कीका मध्यपंक्ति खेलाडी सालिह ओजकन कोलोनमा जन्मेका हुन् । उनी जर्मनीमै बोरुसिया डर्टमन्डका लागि खेल्छन् ।

टर्कीविरुद्ध पोर्चुगलको खेल खासमा पुस्ता–पुस्ताबीचको खेल पनि रहनेछ, किनभने टर्की पोर्चुगललाई स्तब्ध पार्न चाहन्छ । अहिलेको पोर्चुगल त्यो टिम हो, जसले ठूलो अपेक्षाको बावजुत पनि धेरै ठूला सफलता हात पार्न सकेको छैन । पोर्चुगाली फरवार्ड डिएगो जोटा भन्छन्, ‘कुनै पनि खेल आफैंमा सजिलो हुन्न । टर्कीविरुद्धको खेल फरक हुनेछ । चेक टिमको तुलनामा टर्कीका खेलाडी उत्कृष्ट छन् । त्यसैले हाम्रो आफ्नै खेल पनि माथिल्लो स्तरको हुनुपर्नेछ ।’

चेक गणतन्त्र–जर्जिया

त्यस खेलअगाडि चेक गणतन्त्र र जर्जिया एक आपसमा भिड्ने छन् । दुवै टिमलाई के राम्रोसँग थाहा छ भने एक अर्को हारको अर्थ प्रतियोगिताबाट बाहिरिने सम्भावना हुनेछ । जर्जिया समूह ‘एफ’ को अन्तिम स्थानमा छ । जर्जिया एक स्वतन्त्र देशका रूपमा पहिलो पटक कुनै ठूलो फुटबल प्रतियोगिता खेलिरहेको छ । पूरा सम्भावना के छ भने जर्जियाले टर्कीविरुद्धको हारमा ठूलो शिक्षा प्राप्त गरेको हुनुपर्छ । बायर्न म्युनिखका पूर्व खेलाडी रहेका विली सागनोल जर्जिया टिमका प्रशिक्षक छन् ।

उनी भन्छन्, ‘अहिलेको जर्जिया टिममा अलिकति प्रतिभा र अलिकति अनुभव कम रहेको छ । हामीले जति ठूला प्रतियोगिता खेल्नेछौं, हामी उत्तिकै बढी अनुभवी टिम हुनेछौं ।’ पोर्चुगलविरुद्ध गोल गरेका लुकास प्रोभोडसँगै अन्य चेक खेलाडी अबको दोस्रो खेलमा सुधारिएको खेल प्रदर्शन गर्न चाहन्छन् । प्रोभोड आफैं के मान्छन् भने अबको खेलमा सफलता चाख्ने हो भने बढीभन्दा बढी आक्रमण गर्नुपर्नेछ, त्यो पनि सटिक ।

प्रकाशित : असार ८, २०८१ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×