कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बेल्जियमलाई चुनौती सकिने डर

रोयटर्स

ह्याम्बर्ग — बेल्जियमले अहिले आफू शान्त र संयमित रहेको देखाइरहेको छ, तर टोलीलाई चर्को डर के छ भने कतै युरो च्याम्पियनसिपमा चुनौती समाप्त हुने त होइन ? आफ्नो पहिलो खेल गुमाएपछि बेल्जियमले अब शनिबार रोमानियाको सामना गर्दै छ । समूह ‘ई’ मा बेल्जियम सुरुमै स्लोभाकियाको हातबाट १–० ले पराजित भएको थियो ।

बेल्जियमलाई चुनौती सकिने डर

रोमानिया भने युक्रेनमाथिको ३–० को जितले उत्साहित छ । बेल्जियमका प्रशिक्षक डोमेनिको टेडेस्को भन्छन्, ‘यो टिमलाई राम्रो बनाउनुपर्छ, त्यो म भन्न सक्दिनँ ।’

बेल्जियमले आफ्नो पहिलो खेलमा शृंखलाबद्ध मौकाहरू गुमाएको थियो । यो अन्त्यमा महँगो साबित भयो । प्रशिक्षक टेडेस्कोले केही अन्तर्वार्तामा आफ्ना खेलाडीलाई प्रतियोगिताको अर्को चरण पुग्न के गर्नुपर्छ भनेर राम्रोसँग थाहा भएको प्रतिक्रिया दिएका छन् । ‘हामीले केही नयाँ युवा खेलाडीलाई अगाडि बढाएका छौं र उनीहरू सफलताको भोका छन् । उनीहरूसँग सम्भावना धेरै छ । तर हाम्रा केही खास ठाउँमा कमजोरी छ, त्यसमा सन्तुलन ल्याउनै पर्छ ।’

उनी मान्छन्, युरो जत्तिको प्रतियोगितामा अनुभव पनि उत्तिकै आवश्यक हुन्छ । डिफेन्डर जान भेर्टोगान ३७ वर्षका भए । उनीसँग अनुभवको कुनै कमी छैन । केभिन डी ब्रुएना र रोमेलु लुकाकु पनि उत्तिकै अनुभवी छन् । त्यसैले बेल्जियमसँग त्यस्ता खेलाडीको कुनै कमी छैन, जसले रोमानियाविरुद्ध आफूअनुकूल नतिजा निकाल्न सक्छ । ‘त्यसैले म भन्छु, रोमानियाविरुद्ध पक्कै पनि गोल निस्कने छ । म यसमा आत्मविश्वासी छु,’ प्रशिक्षक भन्छन् ।

तर बेल्जियममाथि प्रतियोगिताबाट चाँडै बाहिरिने डर त हुनेछ । किनभने दुई वर्षअगाडिको विश्वकपमा पनि बेल्जियम लिग चरणबाटै घर फर्केको थियो । छनोटमा पनि बेल्जियम अपराजित रहेको थियो, त्यसैले पहिलो खेलमा हारमा बावजुत बेल्जियमले अर्को चरण खेल्ने विश्वास छ । उता युक्रेनले भने २४ वर्षको लामो समयपछि युरोमा पहिलो जित निकालेको थियो । त्यसअगाडि टोलीको जित सन् २००० को युरोमा इंग्ल्यान्डविरुद्ध थियो ।

युक्रेनमाथि ‘प्लेयर अफ द म्याच’ निकोल स्टानकु चाहन्छन्, एक अर्को उत्कृष्ट गोल निस्कोस् । बेल्जियमको क्लब फुटबलमा उनी नै सबैभन्दा महँगा खेलाडी हुन्, जतिबेला उनी सन् २०१६ मा एन्डरलेच गएका थिए एक करोड ४२ लाख डलरमा । तर त्यहाँ उनी असफल रहे र १८ महिनापछि नै बेचिए । रोमानियासँग उनीमात्र होइनन्, अरू पनि खेल जिताउन सक्ने खेलाडी छन् । जस्तो कि डेनिस ड्रागस र भ्यालेन्टिन मिहाला । रोमानिया पनि छनोटमा अपराजित रहेको थियो ।

प्रकाशित : असार ८, २०८१ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×