कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

टर्कीको सुखद् सुरुआत

काठमाडौँ — टर्कीले युरोको आफ्नो पहिलो खेलमा मंगलबार नवआगन्तुक जर्जियालाई ३–१ ले पराजित गरेको छ । सन् २०२० को संस्करणमा ‘डार्क हर्स’ मानिएको टर्की लिग चरणका सबै तीनै खेलमा पराजित भएर घर फर्केको थियो । यसपालि भने टर्कीले सुखद सुरुआत लिएको हो ।

टर्कीको सुखद् सुरुआत

पहिलो हाफसम्म १–१ को बराबरी खेलेको टर्कीले खेलमा पहिलो अग्रता बनायो । २५ औं मिनेटमा मेर्ट मुल्डुरले भलीमार्फत् गोल गर्दै टर्कीलाई दिलाएको गोल अग्रतामा सात मिनेटपछि नै जर्जियाले बराबरी गरेको थियो । पहिलोपल्ट ठूलो प्रतियोगिता खेलिरहेको जर्जियाका लागि ३२ औं मिनेटमा जर्जेस मिकाउटाजेले गोल गरेका थिए ।

खेलको ६५ औं मिनेटमा टर्कीका लागि रियल मड्रिडका १९ वर्षे फरवार्ड अर्दा गुलरले आकर्षक गोल गरेर पुनः अग्रता दिलाए । इन्ज्युरी समयको सातौं मिनेटमा केरेम अक्टुरकोग्लुले काउन्टर एट्याकमा खाली पोस्टमा गोल गर्दै टर्कीको जित फराकिलो बनाएका थिए ।

समूह ‘एफ’ मा रहेको टर्कीले अब पोर्चुगल र चेक गणतन्त्रको सामना गर्नेछ । खेलअगाडि टर्की र जर्जियाका समर्थक एक आपसमा भिडेका थिए । खेल भएको डर्टमन्डको स्टेडियमको एक भागको तल्लो दर्शकदीर्घामा दुवै टिमको समर्थकले एकअर्काविरुद्ध धक्कामुक्की गरेका थिए । यस्तै एकले अर्कोतर्फ विभिन्न वस्तु पनि प्रहार गरे । जतिबेला पानी परिरहेको थियो ।

सुरक्षाकर्मीले हस्तक्षेप गर्न खोजेपछि भने भिडन्त रोकिएको थियो । त्यसपछि दुवै टिमको समर्थकलाई छुटाएर अलग राखिएको थियो । प्रहरीहरू दुई टिमको समर्थकबीच छुट्याउने रेखाका रूपमा पनि बसे । समूह ‘एफ’ मा रहेका दुई देश छिमेकी हुन् । दुई देशबीच २ सय ७० किलोमिटर लामो सीमा रहेको छ ।

खेलअघि दुवै टिमका समर्थकहरू सहरका एकै स्थानमा देखिएका थिए । तर, उनीहरूबीच झगडा हुने कुनै संकेत देखिएको थिएन । लगातारको वर्षाका कारण तल्लो दीर्घामा दर्शक ओत लागेर बसिरहेका थिए । वर्षाकै कारण रंगशालाभित्रका केही ‘फ्यान जोन’ लाई बन्द राखिएको छ । जर्जियाले आफ्नो फुटबल इतिहासमै पहिलो पटक यति ठूलो प्रतियोगिता खेलिरहेको हो ।

प्रकाशित : असार ५, २०८१ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×