कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

सूर्य नेपाल प्रिमियर गल्फ : दिनेशको अग्रता

काठमाडौँ — गोकर्ण गल्फ क्लबमा मंगलबार सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरु भएको छ ।

सूर्य नेपाल प्रिमियर गल्फ : दिनेशको अग्रता

यस प्रतियोगिताले सिजनको ‘नम्बर वान गल्फर’ को तय गर्नेछ । प्रो भुवन नगरकोटीले नम्बर वानको ताज जोगाउन यस प्रतियोगिता जित्नुपर्नेछ । सूर्य नेपाल गल्फ टुर सिजन २०२३/२४ को यो अन्तिम प्रतियोगिता हो ।

यस प्रतियोगिता जित्नेले सिजनकै सर्वाधिक ठूलो पुरस्कार राशि हात पार्नेछ । कुल १५ लाख ७५ हजार पुरस्कार राशि रहेको प्रिमियर च्याम्पियन हुनेले २ लाख ७५ हजार रुपैयाँ जित्ने आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी गराएका छन् ।

७२ होलमा हुने प्रिमियर गल्फ च्याम्पियनसिपमा काठमाडौं, धरान र पोखराका गरी ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरले प्रतिस्पर्धामा छन् ।

पहिलो दिन दिनेश प्रजापति ७ अन्डर ६५ को सानदार स्कोरसहित शीर्षस्थानमा छन् । उनले तोरणविक्रम शाही र एमेच्योर सुमन परियारलाई एक स्ट्रोकले पछि पारेका छन् । दुवैले ६ अन्डर ६६ को स्कोरमा संयुक्त दोस्रो स्थान बाँडे ।

डिफेन्डिङ च्याम्पियन सुवास तामाङ, भुवन नगरकोटी र एमेच्योर सद्भाव आचार्य ४ अन्डर ६८ सहित संयुक्त चौथो स्थानमा रहे । ३ अन्डर ६९ को स्कोरमा एमेच्योर विजय श्रेष्ठ सातौं र अर्का एमेच्योर वाङ्चेन ढोन्डुप २ अन्डर ७० सहित आठौं स्थानमा छन् ।

१ अन्डर ७१ स्कोर गरेका रवि खड्का, नीरज तामाङ, धनबहादुर थापा र सञ्जय लामा र एमेच्योर तेन्जिङ पाल्देनले संयुक्त रूपमा नवौं स्थान बाँडे ।

पहिलो दिन उत्कृष्ट स्कोर निकाल्ने क्रममा दिनेशले बोगीरहित ७ अन्डरको स्कोर गरे । सात बर्डी प्रहार गरेका दिनेशको सुरुआत राम्रो रह््यो । दोस्रो, तेस्रो, चौथो र छैटौं होलको बर्डीले फ्रन्टनाइन ४ अन्डर ३२ मा सके । यसपछि ब्याकनाइनमा पनि यही लयलाई निरन्तरता दिए । १३, १४ र १७ औं होलमा पनि एक–एक शट बचाए । उनले ब्याकनाइन ३ अन्डर ३३ मा पुरा गरे ।

तोरणले फ्रन्ट नाइन इभन–पार ३६ मा सके । दोस्रो होलमा एक सट खेर फाले भने तेस्रो होलमा बर्डी प्रहार गरे । यसपछि ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे । १०, १३, १५ र १७ औं होलमा बर्डी प्रहार गरे । ५ पारको पाँचौ होलमा इगलको सफलता हात पार्दै ब्याक नाइन ६ अन्डर ३० मा सके ।

एमेच्योर सुमनले उत्कृष्ट सुरुआत गर्दै फ्रन्टनाइन ५ अन्डर ३१ मा सके । उनले तेस्रोदेखि छैटौं होलमा लगातार चार बोगी प्रहार गरे । आठौं होलमा पनि एक शट बचाए । यसपछि दसौं होलमा एक शट खेर फाले भने ११ र १३ औं होलको बर्डीले ब्याक नाइन १ अन्डर ३५ मा सके ।

दुई दिन (३६ होल) को खेलपछि कट लागू हुनेछ । त्यसमा पर्ने शीर्ष २१ खेलाडीले थप ३६ होल खेल्नेछन् । प्रतियोगितामा दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार, तेस्रोले १ लाख २ हजार र पाँचौं हुनेले ८८ हजार रुपैयाँ जित्नेछन् । शीर्ष २१ खेलाडी नै पुरस्कारका हकदार बन्नेछन् । यस सिजन सर्वाधिक ‘प्राइज मनी’ का आधारमा भुवन नगरकोटी अगाडि छन् । उनले ५ लाख ६६ हजार ८ सय ७५ रुपैयाँ हात पारेका छन् । यो प्रतियोगिता जिते उनले नम्बर वानको ताज कायमै राख्ने महासचिव आचार्य बताउँछन् ।

प्रकाशित : असार ४, २०८१ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×