कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

ट्वान्टी-२० विश्वकप : शक्तिशाली दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई ठूलो चुनौती

सेन्ट भिन्सेन्ट (वेस्ट इन्डिज) — सन् १९८० को दशकदेखि ९० को सुरुआतसम्म विश्व क्रिकेटमा एकछत्र राज गरेको थियो वेस्ट इन्डिजले । क्यारेबियन क्षेत्रका विभिन्न टापुहरु मिलेर बनेको यही वेस्ट इन्डिजमा नेपालले ट्वान्टी-२० विश्वकपमा शनिबार दक्षिण अफ्रिकासँग खेल्दै छ ।

ट्वान्टी-२० विश्वकप : शक्तिशाली दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई ठूलो चुनौती

८० को दशकमा जति बलियो थियो वेस्ट इन्डिज, नेपालले समूहचरणमा खेल्न लागेको दक्षिण अफ्रिका त्यत्ति नै सशक्त छ । गत वर्ष चीनमा एसियाली खेलकुदमा भारतसँग प्रतिस्पर्धा गरेयता ट्वान्टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा बलियो टोली हो दक्षिण अफ्रिका ।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरीयतामा पाँचौं स्थानमा रहेको दक्षिण अफ्रिकाविरुद्ध १८ औं स्थानमा रहेको नेपालले कस्तो चुनौती तेर्स्याउला त्यो भने हेर्न बाँकी छ । दक्षिण अफ्रिका पहिलो ३ खेल जितेर समूह ‘डी’ बाट सुपर ‘एट’ मा पुगिसकेको छ । समूह विजेता बन्नबाहेक नतिजाको हिसाबमा दक्षिण अफ्रिकालाई यो खेलको खासै महत्त्व छैन ।

त्यसैले दक्षिण अफ्रिकाले यो खेलमा केही प्रमुख खेलाडीलाई विश्राम दिन सक्छ । तर दक्षिण अफ्रिकाले त्यस्तो केही संकेत देखाएको छैन । दक्षिण अफ्रिकाका प्रमुख तीव्र बलर कागिसो रबाडा बिहीबार सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा गएर घाँसे विकेटको निरीक्षण गरेका थिए । उनले वेस्ट इन्डिजको विकेटहरु स्पिनका लागि मैत्रीपूर्ण रहेको बताइरहे पनि बिहीबार साँझसम्म हरियो देखिएको विकेटमा दक्षिण अफ्रिकाका रबाडासहित एन्रिक नोकिए, मार्को जानसेन, जेरार्ड कोएट्जीसहितको तीव्र बलिङ आक्रमणलाई झेल्नु नेपाललाई सजिलो हुने छैन ।

स्पिनरमा दक्षिण अफ्रिकासँग केशव महाराज रहेका छन्, जसले पहिलो ३ खेलमा ५ विकेट लिइसकेका छन् । एक समय ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नम्बर एक बलर रहेका ताब्राइज साम्सीलाई दक्षिण अफ्रिकाले यस विश्वकपमा प्रयोग गरेको छैन । त्यसैले नेपालसँगको खेलमा उनले मौका पाउने सम्भावना देखिन्छ ।

नेपाली टोलीमा स्पिनर सन्दीप लामिछाने समावेश भएका छन् । नेदरल्यान्ड्सविरुद्ध देब्रे हाते स्पिनर सागर ढकालले खेल्दै राम्रो प्रभाव पारेका थिए । मोन्टी देसाई दुई वर्ष वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षकको रुपमा रहेपछि २०२३ को फेब्रुअरीमा नेपालको प्रशिक्षक बनेका थिए । वेस्ट इन्डिजका बारेमा आफूलाई केही जानकारी भए पनि सेन्ट भिन्सेन्ट नयाँ खेल स्थल भएको उनले जनाए । उनले यहाँ पनि स्पिनमैत्री विकेट भएको अनुमान गरे । तर नेपालले सन्दीप र सागर प्रमुख दुई स्पिनर खेलाउने निश्चित गरेको छैन । दीपेन्द्रसिंह ऐरी अफ स्पिनरका रुपमा रहने छन् ।

एडेन माक्रमको कप्तानीमा रहेको दक्षिण अफ्रिकाको टोलीमा क्विन्टन डी कक, हेनरिक क्लासेन, डेबिड मिलरजस्ता ब्याटर रहेका छन्, जसले फ्रेन्चाइज क्रिकेट लिगहरुमा आफ्नो ठूलो प्रभाव देखाउँदै आएका छन् ।

डालासमा आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले हारेको नेपालको श्रीलंकासँग फ्लोरिडामा हुने खेल वर्षाका कारण रद्द भएको थियो । सुपर ‘एट’ मा पुग्न नेपाललाई बाँकी दुई खेल जित्नु पर्नेमा आफू स्पष्ट रहेको कप्तान रोहित पौडेलले बताएका छन् । नेपालले यही मैदानमा सोमबार बंगलादेशसँग समूहचरणको अन्तिम खेल खेल्दै छ । दुवै खेलमा विजय हात पारेमा मात्र नेपाल दोस्रो चरणमा पुग्ने छ ।

समूह ‘डी’ मा दक्षिण अफ्रिकाको ६, बंगलादेशको ४, नेदरल्यान्ड्सको २ तथा नेपाल र श्रीलंकाको १–१ अंक छ । श्रीलंका सुपर ‘एट’ को दौडबाट बाहिरिइसकेको छ । समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ ।

फ्लोरिडामा ठूलो वर्षा भइरहेका कारण प्राइभेट विमानबाट बुधबार सेन्ट भिन्सेन्ट आइपुग्ने नेपालको तालिका रद्द हुन पुगेको थियो । नेपाली टोली बिहीबार दिउँसोमात्र यहाँ आइपुगेको थियो र साँझ आर्नोस खेल मैदानमा ३ घन्टा प्रशिक्षणमा बिताएको थियो, जहाँ कुशल भुर्तेलले लामो लामो शटहरु प्रहार गरेका थिए ।

नेपालले क्यारेबियन क्षेत्रमा आएर दोस्रो पटक खेलेको हो । २०१३ मा नेपालले बर्मुडामा आएर विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि जितेको थियो ।

अमेरिकासहित अन्य देशहरुबाट नेपाली समर्थक वेस्ट इन्डिज आइपुगेका छन् । लन्डनबाट ५ जनाको समूह बनाएर आएका नारायण सिम्खडाले भने, ‘दक्षिण अफ्रिका धेरै बलियो टोली हो, सुपर एटमा पुगे पनि उसले पूर्ण टोली उतार्ने जनाएको छ । दक्षिण अफ्रिकालाई राम्रो चुनौती दिन हाम्रो ब्याटिङ चल्नु पर्छ ।’

हेड टु हेड

नेपालले दक्षिण अफ्रिकासँग राष्ट्रिय टोलीमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेको हो । यद्यपि आईसीसी यू-१९ विश्वकपमा नेपालले २००४ मा बंगलादेशमा र २००६ मा श्रीलंकामा दक्षिण अफ्रिकालाई दुई पटक पराजित गरेको थियो ।

तथ्यांक

– आफूले सामना गरेका नयाँ टोलीविरुद्धका यसअघिका सबै १० खेल दक्षिण अफ्रिकाले जितेको छ ।

– २००७ र २००९ को ट्वान्टी-२० विश्वकपमा पनि दक्षिण अफ्रिकाले समूह चरणका सबै चार खेले जितेको थियो ।

– एन्रिच नोकिएले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ४६ विकेट लिइसकेका छन् र ५० विकेट पुर्‍याउने दक्षिण अफ्रिकाका आठौं बलर हुने प्रयासमा छन् ।

– क्विन्टन डी कक ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ९३ छक्का प्रहार गरेका छन् । डेविड मिलरले दक्षिण अफ्रिकाबाट ट्वान्टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी १ सय १२ छक्का प्रहार गरेका छन् ।

कसले के भने-

कागिसो रबाडा, बलर, दक्षिण अफ्रिका

नेपालसँगको खेल हाम्रा लागि एउटा अर्को अन्तर्राष्ट्रिय खेल हो, यो खेललाई हामी हलुका रुपमा लिने छैनौं । हामीले यस प्रतियोगितामा जस्तो खेलेको छौं, नेपालविरुद्ध त्योभन्दा राम्रो खेल्न चाहान्छौं । यो प्रतियोगितामा जुन हिसाबमा रन बनिरहेको छैन, त्यस हिसाबमा एउटा बलरको रुपमा म निकै रमाइरहेको छु । यस खेलमा १० जना जति दक्षिण अफ्रिकाको समर्थक हुने विश्वास मैले लिएको छु । अरु स्थानीय समर्थक पनि हुन सक्छन् । सन्दीप लामिछाने रहस्मयी स्पिनर हुन्, कुनै पनि रहस्मयी स्पिनरलाई खेल्न गाह्रो हुन्छ । हाम्रो टोली उनको बलिङलाई खेल्न तयार छन् । यहाँको विकेट टर्न र स्लो हुने भनिएको छ ।

इमान्दार भएर भन्नु पर्दा मलाई नेपालको बारेमा खासै थाहा छैन, तर हाम्रो टोलीमा एनालिस्ट छन, उनले नेपालको बारेमा सवै तयार पारेर राखेका छन् र हामी यसको गृहकार्य गर्नेछौं । नेपालले पछिल्ला वर्षहरुमा धेरै क्रिकेट खेल्दै आएको छ । क्रिकेट सवैतिर अगाडि बढिरहेको देख्दा खुशी लागेको छ । मैले अघि नै भनिसके, नेपालको खेललाई हामी सजिलो हिसाबमा लिदैनौं ।

रोहित पौडेल, कप्तान, नेपाल

दक्षिण अफ्रिकाविरुद्ध खेल्नलाई हाम्रो टोली उत्साहित छ । दक्षिण अफ्रिकाविरुद्ध खेल्न पाउनु हाम्रो लागि ठूलो अवसर हो, हामी पहिलो पटक दक्षिण अफ्रिकाविरुद्ध खेल्न गइरहेका छौं । दक्षिण अफ्रिकाले यो प्रतियोगिता राम्रो खेलिरहेको छ । मौसमले प्रभावित पारे पनि हाम्रो तयारी पूर्ण छ । पछिल्लो तीन खेल देखि उनीहरुको ब्याटिङ राम्रो हुन सकेको छैन, त्यसैले दबाब उनीहरुको ब्याटिङ युनिटलाई पनि छ । दक्षिण अफ्रिकाको ब्याटिङ चल्न नसकेको एडभान्टेज हामीलाई छ । तर डेबिड मिलरले रन बनाइरहेका छन् । उनीहरुको ब्याटिङ माथि दबाब सिर्जना गर्ने हो र उनीहरुलाई जति सक्दो चाडो रनमा रोक्न हामीले प्रयास गर्ने हो ।

नेपालले दुवै खेल जित्ने हो भने सुपर ‘एट’ मा पुग्छ, यसमा हामी स्पष्ट छौं । कन्डिसन र हाम्रो क्षमता हेर्ने हो भने नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्ने सम्भावना पनि राम्रै छ, त्यसका लागि सवैले राम्रो खेल्नु पर्छ । एक दुई जनाले मात्र राम्रो खेलेर टेस्ट राष्ट्रलाई पराजित गर्न सकिँदैन । स्किलका हिसाबले निश्चय पनि दक्षिण अफ्रिका राम्रो छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×