कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

वर्षाले रोक्न नसकेका नेपाली समर्थक

पिच कन्डिसन र मौसम सबै टोलीका लागि निकै चुनौती बनेको छ, तर यी सबैलाई ओझेलमा पार्दै ट्वान्टी–२० विश्वकपमा नेपाली समर्थक छाएका छन् 
विनोद पाण्डे

फ्लोरिडा — कमजोर विकेट, लो स्कोरिङ खेल र अनुमान गर्न गाह्रो अमेरिकाको मौसममा नेपाली समर्थकले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटलाई चहलपहल गराइदिएका छन् । जुन हिसाबमा ट्वान्टी–२० क्रिकेट छिटो गतिमा खेलिन्छ, त्यसअनुसारको रन अमेरिकामा भएका अधिकांश खेलमा नबनेपछि विश्वकप ओझेलमा पर्दै आएको छ ।

वर्षाले रोक्न नसकेका नेपाली समर्थक

वेस्ट इन्डिजमा भइरहेका खेलहरूमा रन बने पनि अमेरिका र क्यानडाबीचको पहिलो खेलबाहेक अमेरिकी भूमिका अन्य सबै खेल ब्याटरहरूका लागि दिवास्वप्न बनेको छ र रनमा अंकुश लाग्दै आएको छ । पिच कन्डिसन र मौसम पनि सहभागी टोलीहरूका लागि निकै चुनौती बनेको छ ।

यी सबैलाई ओझेलमा पार्दै विश्वकपमा नेपाली समर्थक छाएका छन् । नेदरल्यान्ड्ससँग एक साताअघि नेपालले डालासमा ट्वान्टी–२० विश्वकपमा आफ्नो पहिलो खेल खेल्दा रंगशालामा झन्डै ८ हजार दर्शक भरिभराउ थिए, त्यसमा अधिकांश नेपाली समर्थक रहे । भारत र पाकिस्तानबीच न्युयोर्कमा भएको खेललाई छाड्ने हो भने अमेरिकामा भएका खेलहरूमा अधिकांशमा दर्शक संख्या कम छ ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

नेपाल र श्रीलंकाबीच (नेपाली समयअनुसार बुधबार बिहान) को खेल वर्षाका कारण रद्द हुन पुग्यो । तर, यसपल्ट पनि आकर्षणको केन्द्रमा नेपाली समर्थक नै रहे । १५ हजार दर्शक क्षमताको लाउडरहिलस्थित ब्रोवर्ड क्रिकेट रंगशालामा बाक्लो संख्यामा नेपाली समर्थक रहेका थिए । बिहानैदेखि सुरु भएको वर्षाका कारण साँझ खेल सुरु हुन सकेन । खेल सुचारु हुने कुनै सम्भावना नरहे पनि ठूलो संख्यामा नेपाली दर्शक रंगशाला भित्रिएका थिए ।

उनीहरूले नेपाली टोलीको समर्थनमा गीत गाउँदै, नाच्दै रंगशालालाई गुञ्जयमान बनाए । तर, बिहानदेखि परेको वर्षा नरोकिएपछि साँझ ८.३० बजे खेल रद्द भएको आधिकारिक घोषणा गरिएको थियो । त्यसपछि नेपाली राष्ट्रिय टोलीले बाक्लो संख्यामा उपस्थित दर्शकलाई मैदानको चारैतिर पुगेर अभिवादन गरेका थिए ।

‘नेपाली क्रिकेट यी समर्थकको सधैं ऋणी छ, विश्वका कुनाकुनामा छरिएका नेपालीले नेपाली क्रिकेटलाई समर्थन गर्दै आएका छन्, डालासपछि यहाँ पनि नेपाली समर्थकले जुन समर्थन देखाएका छन्, त्यसमा हामी आभारी छौं,’ नेपालका प्रशिक्षक मोन्टी देसाईले भने ।

वर्षाका कारणले खेल रद्द हुँदा नेपाली टिम रसमर्थक जति निराश थिए, त्योभन्दा बढी निराश सम्भवतः श्रीलंका क्रिकेट टोली थियो । मंगलबार बिहानैदेखि नै परेको झरी रातिसम्म निरन्तर बनेपछि नेपाल र श्रीलंकाबीच खेल टसविना नै रद्द हुन पुगेपछि दुवै टोलीलाई १–१ अंक प्रदान गरिएको थियो ।

यस नतिजाले श्रीलंका समूह चरणबाटै बाहिरिने लगभग निश्चितजस्तै भएको छ । सन् २०१४ को विजेता श्रीलंका पहिलो दुई खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो ।

‘वर्षा रोकिएर खेल हुने आसमा हामी थियौं, तर यो सबै हाम्रो नियन्त्रणमा थिएन,’ श्रीलंकाका बलर माहिस थिकसना निराशा पोख्दै थिए, ‘हामीले पहिलो दुई खेलमा राम्रो प्रदर्शन गर्न सकेका थिएनौं, नेदरल्यान्ड्ससँग अब हामी राम्रो गर्ने प्रयास गर्नेछौं र अर्को चरणमा पुग्न भाग्यको साथ पनि हुनुपर्नेछ ।’

लाउडरहिलमा समूह ‘ए’ का अमेरिका र आयरल्यान्ड, क्यानडा र भारत तथा आयरल्यान्ड र पाकिस्तानबीचको खेल हुने तालिका छ । तर, यो साताभर नै यस क्षेत्रमा निरन्तर वर्षा देखाइएकाले खेल प्रभावित हुने सम्भावना त्यत्तिकै छ । नेपाल र श्रीलंकाबीचको खेल हुनुअघि नै यहाँको प्रशासनले वर्षाका कारण बाढीको चाप बढ्ने सन्देश पठाएर सतर्क गराएको थियो ।

नेपालका प्रशिक्षक देसाईले पनि खेल नभएपछि आएको १ अंक स्वीकार्न चाहेनन् । ‘हाम्रो सन्तुलित टोली छ र सबै खेलाडी आफ्नो प्रदर्शन देखाउन लालयित छन्, त्यसैले यो एक अंकभन्दा पनि खेल भएको भए खुसी हुन्थें,’ उनले भने ।

तर, एक अंक सुपर ‘एट’ प्रवेशका हिसाबले नेपालका लागि बहुमूल्य पनि हुन सक्छ । नेपाल र श्रीलंकाबीचको खेल रद्द भएपछि समूह ‘डी’ मा पहिलो ३ खेल जितेको दक्षिण अफ्रिकाले सुपर ‘एट’ प्रवेशको औपचारिकता पूरा गरेको छ । बंगलादेश र नेदरल्यान्ड्सले दुई खेलमा १–१ खेल जितेका छन् । नेपालको २ खेलमा १ अंक र श्रीलंकाको ३ खेलमा १ अंक छ ।

नेपाली टोली बुधबार वेस्ट इन्डिज लाग्नेछ । नेपालले क्यारेबियन भूमिको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।


प्रकाशित : जेष्ठ ३१, २०८१ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×