कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दुई मित्रशक्तिबीच प्रतीक्षित भिडन्त

नेपाली क्रिकेटलाई आजको स्थितिमा पुर्‍याउन श्रीलंका क्रिकेटको ठूलो योगदान छ, नेपालले त्यही श्रीलंकाविरुद्ध विश्वकपमा निर्णायकजस्तो मानिएको खेल खेल्दै छ 
विनोद पाण्डे

फ्लोरिडा — नेपालले दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्दै गर्दा सम्भवतः सबैभन्दा खुसी हुने राष्ट्रमा पर्छ श्रीलंका । त्यही श्रीलंकाविरुद्ध नेपालले मंगलबार ट्वान्टी–२० विश्वकपको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै छ । पहिलो दुई खेल हारिसकेको श्रीलंकाको भने यो तेस्रो खेल हो । 

दुई मित्रशक्तिबीच प्रतीक्षित भिडन्त

सन् २००१ रोय डायस प्रशिक्षक भएर काठमाडौं आउँदा नेपाली क्रिकेट कसरी अगाडि बढ्ने केही निश्चित थिएन । नेपालले हरेक दुई वर्षमा हुने एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र सहभागिता जनाउँदै आएको थियो । प्रमुख प्रतियोगिता खेल्न जानुअघि नेपाल सोझै खेल्न जाने गरेको थियो ।

डायस आएपछि नेपालको श्रीलंका क्रिकेटसँगको सम्बन्ध जोडिएको थियो । श्रीलंकाका पूर्व महान ब्याटर डायसले नेपाल र श्रीलंका क्रिकेट बोर्डसँग सम्बन्ध जोड्न सेतुको भूमिका खेलेका थिए । डायस नेपालको प्रशिक्षक र विश्वकप विजेता श्रीलंकाका कप्तान अर्जुना रणतुंगा श्रीलंका क्रिकेट बोर्डको अध्यक्ष हुनु एउटा संयोगमात्र थिएन । श्रीलंका क्रिकेटले यो अवधिमा नेपाली क्रिकेटलाई धेरै सहयोग गरेको थियो ।

नेपाल सन् २००२ मा एसीसी ट्रफी क्रिकेटमा सहभागिता जनाउनुअघि कोलम्बोमा १० दिन अभ्यास गरेर सिंगापुर पुगेको थियो । श्रीलंकामा स्थानीय टोलीसँग अभ्यास खेल खेलेर खारिएर नेपाली टोली सिंगापुर पुगेको हो । श्रीलंकामा स्थानीय टोलीसँग खेल्न नेपाली ब्याटरलाई निकै हम्मे परेको थियो, तर त्यसले नेपाली खेलाडीलाई राम्रो अनुभव गराएको तत्कालीन कप्तान राजु खड्का बताउँथे ।

श्रीलंकाको प्रशिक्षणबाट जोसिएको नेपाल एसीसी ट्रफीको फाइनल पुग्दै एसिया कपका लागि छनोट भएको थियो । नेपाल पहिलो पटक एसीसी ट्रफीको फाइनल पुगेको हो । तर भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धका कारण एसिया कप समयमै हुन नसक्दा नेपालले त्यो एतिहासिक अवसर गुमाउन पुगेको थियो । जेहोस् नेपाली राष्ट्रिय टोलीको आत्मविश्वास सिंगापुरको एसीसी ट्रफीबाट देखिएको थियो, त्यो सफलताको एउटै स्रोत त्यही श्रीलंकामा गरेको अभ्यास थियो ।

झन्डै १० वर्ष नेपालको प्रशिक्षक रहेका डायस नेपाली क्रिकेटमा ‘फादर फिगर’ को रूपमा रहे । यो अवधिमा नेपाली क्रिकेटले श्रीलंका क्रिकेटसँग अझ सामीप्य हुने अवसर पायो । डायसको स्थानमा अर्का श्रीलंकन पुबुदु दासानायके आए । श्रीलंकाबाट क्यानडा लागेका पुबुदुले नेपाललाई विश्वकपमा खेल्ने बाटो देखाए । पुबुदुकै प्रशिक्षणमा नेपालले १० वर्षअघि पहिलो ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

पुबुदु आएपछि घरेलु मैदानबाहिर नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो विश्व क्रिकेट लिग डिभिजन–४ । मलेयिसयामा भएको यो प्रतियोगिताअघि नेपालले विगतमा जस्तै तयारी श्रीलंकामै गरेको थियो । नतिजाको हिसाबमा नेपाली क्रिकेटले त्यसपछि लामो यात्रा तय गरेको थियो । नेपालले डिभिजन–४, डिभिजन–३ जितेर एकदिवसीय विश्वकप छनोट खेलेको थियो भने ट्वान्टी–२० विश्वकप खेलेको थियो । पुबुदुको प्रशिक्षणमा क्यानडाले अहिले अमेरिका र वेस्ट इन्डिजमा भइरहेको विश्वकपमा प्रतिस्पर्धा गर्दै छ ।

नेपाल र श्रीलंकाबीचको क्रिकेट सम्बन्धमा अर्को छुटाउनै नाम हुन् बन्दुला वार्नापुरा, रुमेश रत्नायके र डेव ह्वाटमोर । एसियाली क्रिकेट परिषद् (एसीसी) मा लामो समय डेभलपमेन्ट म्यानेजर रहेका श्रीलंकाका पहिलो टेस्ट कप्तान वार्नापुरा र पूर्व तीव्र गतिका बलर रत्नायके लामो समय नेपाली क्रिकेटसँग जोडिए । नेपाल क्रिकेट संघको व्यवस्थापन तथा त्रिवि क्रिकेट मैदान कीर्तिपुरको मैदान र विकेट सुधार्न वार्नापुराले लामै समय खर्चिए । रत्नायकेले खेलाडीको क्षमता अभिवृद्धि गर्न डायस र पुबुदुसँग जोडिएर काम गरेका थिए ।


सन् २०१५ मा डब्लुसीएलसी खेल्ने क्रममा तत्कालीन कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लसँग श्रीलंकन प्रशिक्षक पुबुदु दासानायके ।फाइल तस्बिर : कान्तिपुर

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टालीका पछिल्लो श्रीलंकन प्रशिक्षक हुन्, ह्वाटमोर । सन् २०२१ मा उनी ९ महिना नेपालको प्रशिक्षक बनेका थिए । कुशल झुर्तेल आसिफ शेख, गुलशन झालगायतका खेलाडीले ह्वाटमोर प्रशिक्षक हुँदा नै नेपालबाट ‘डेब्यु’ गरेका थिए । विशेष गरी ह्वाटमोरको प्रशिक्षणमा नेपालले आक्रामक ब्याटिङमा जोड दिएको थियो र नेदरल्यान्ड्सलगायत माथिल्लो राष्ट्रसँग नेपालले खुलेर खेलेको थियो ।

नेपालसँग लडरहिलस्थित ब्रवर्ड क्रिकेट रंगशालामा खेल्दा श्रीलंकाले यसपालि भने कुनै मायादया राख्ने छैन । मैदानभित्रको खेलमा विगतको सम्बन्ध, मायाभन्दा पनि प्रतिस्पर्धा हुन्छ । श्रीलंका पहिलो दुई खेल हारेर आफैं प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । नेपालसँग सामान्य विजय हात पारे पनि सुपर ‘एट’ मा पुग्न नसक्ने स्थितिमा छ श्रीलंका । त्यसैले नेपालविरुद्ध ठूलो विजय हात पार्ने उद्देश्यसहित श्रीलंका मैदान उत्रने निश्चित छ । नेपाल र श्रीलंका पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने गर्न लागेका हुन् ।

श्रीलंका अहिले आफैं विदेशी प्रशिक्षकको नेतृत्वमा छ । इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस सिल्भरउडको दुईवर्षे कार्यकाल सकिनेक्रममा छ । विश्वकपमा देखाएको प्रदर्शनले उनको श्रीलंकासँगको करार नवीकरण नहुने स्थितिमा पुगेको छ । विशेष गरी डालासमा बंगलादेशविरुद्धको खेलमा श्रीलंका १४ औं ओभरमा १००–३ को स्थितिमा रहेको थियो, तर पूरा खेल्दा टोली १२४–९ को स्थितिमा रोकिएको थियो । बंगलादेशसँग पाएको दुई विकेटको पराजयले श्रीलंकालाई समूह ‘डी’ मा निकै अप्ठ्यारोमा स्थितिमा पुर्‍याइदिएको छ ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले अबको ६ दिनमा तीन टेस्ट राष्ट्रसँग खेल्नेछ, त्यसको सुरुआत श्रीलंकाबाट गर्न लागेको हो । नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा समूह चरणको अन्तिम दुई खेल खेल्ने छ । श्रीलंकाले सेन्ट लुसियामा नेदरल्यान्ड्ससँग जुन १६ मा समूह चरणको अन्तिम खेल खेल्नेछ ।

नेपाललाई सुपर ‘एट’ मा पुग्न बाँकी खेल जित्नुपर्ने दबाब छ । समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ ।

प्रकाशित : जेष्ठ २९, २०८१ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x