३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कोशी प्रदेश टी–१० क्रिकेट : एनबीएससी र वाईआरसीसीको लगातार जित

विनोद भण्डारी

विराटनगर — प्रथम कोशी प्रदेश दिवा रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा बुधबार एनबीएससी र वाइआरसीसीले जित निकाल्दै लिग चरणमा समान चार अंक जोडेका छन् ।

कोशी प्रदेश टी–१० क्रिकेट : एनबीएससी र वाईआरसीसीको लगातार जित

विराटनगर–६ स्थित एमबीजे क्रिकेट मैदानमा भएको पहिलो खेलमा पूर्वाञ्चल क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै एनबीएससी र दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १ सय ३० रनले हराउँदै वाईआरसीसीले लगातार दुई जित हात पारेका हुन् ।

पहिलो खेलमा पूर्वाञ्चलले दिएको ८५ रनको लक्ष्य एनबीएससीले ६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । एनबीएससीको जितमा सन्तोष कार्कीले आक्रामक ब्याटिङ गर्दै २० बलमा अविजित ४१ रन बनाए । उनले ४ छक्का र ३ चौका प्रहार गरेका थिए । अतहर अन्सारीले ७ बलमा १८ रनको योगदान गर्दा मनीष थापाले १० बलमा १८ रन बनाए । भीम सार्कीले ७ रन जोडे । पूर्वाञ्चलका बलर विकास लोहियाले २ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । जसमा विकास लोहियाले ११ बलमा २१ रन, अंकित सुवेदीले १२ र शरद भेषवाकरले ९ बलमा १० रन बनाएका थिए । एनबीएससीका बलर प्रशान्त सिंह राजपुतले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । मयंक कुमारले २ र फिरोद अन्सारीले १ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा वाईआरसीसीले एलिटलाई १ सय ३० रनले हरायो । वाईआरसीसीले ४ विकेट गुमाउँदै १ सय ८० रन बनाउँदा लोकेश बम र देव खनालले आक्रामक ब्याटिङ गरेका थिए । बमले २० बलमा अर्धशतक पूरा गर्दै ५६ रनको योगदान दिए । उनले ६ छक्का र ४ चौका प्रहार गरे । खनालले १९ बलमा ५२ रन बनाए । देवले ७ छक्का र १ चौका प्रहार गरेका थिए । विवेक यादवले ५ बलमा अविजित २० रन र राशिद खानले ५ बलमा अविजित १८ रनको योगदान दिए । एलिटका मोहितले २ विकेट र सलन कामतले १ विकेट लिए ।

वाईआरसीसीले दिएको १ सय ८१ रनको विजय लक्ष्य पछ्याएको एलिट ९.२ ओभरमा ५० रनमै सीमित भयो । वाईआरसीसीका बलर तारिक जमिलले गरेको घातक बलिङ सामु एलिटका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । अभिषेक पलले ८ बलमा ९ रन, दीपक बोहराले ४ रन बनाए । वाईआरसीसीका तारिक जमिलले घातक बलिङ गर्ने क्रममा २ ओभरमा १० रन खर्चेर ५ विकेट लिएका थिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । त्यसैगरी विपिन खत्री र इमरन नजिरले समान २–२ विकेट लिए ।

बाँसको खम्बामा अस्थायी फ्लडलाइट जोडेर सुरु भएको दिवा–रात्रिकालीन प्रतियोगिता लिगका आधारमा भइरहेको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबार सुरु भएको प्रतियोगितामा विभिन्न ७ क्लबको सहभागिता छ र हरेक क्लबमा चार जना भारतीय खेलाडी अनुबन्धित छन् ।

प्रकाशित : जेष्ठ १६, २०८१ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?