कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

स्टार्क विश्वकपलाई तयार

‘अब विश्वकप सुरु हुनेछ । त्यसैले तयारीका रूपमा आईपीएल खेल्न पाउनु ठूलै उपलब्धि हो । यो किन ठूलो उपलब्धि हो भने प्रतियोगिता आफैं निकै प्रतिस्पर्धात्मक हुन्छ’
एएफपी

चेन्नई — सायद इन्डियन प्रिमियर लिगले मिचेल स्टार्कलाई नराम्रोसँग थकित बनाएको हुनुपर्छ । तर अस्ट्रेलियाली बलरलाई यस्तो फिटिक्कै लाग्दैन । बरू उनी तयार छन्, अबको ट्वान्टी–२० विश्वकपका लागि । कोलकाता नाइट राइडर्सका लागि फाइनलमा उनको प्रदर्शन सानदार रह्यो । 

स्टार्क विश्वकपलाई तयार

सनराइजर्स हैदराबादविरुद्ध आइतबारको फाइनलमा उनले सुरुमै १४ रन खर्चेर २ विकेट लिए । यो नै अन्ततः खेलको निर्णायक मोड रह्यो ।

यसले प्रमाणित गरेको छ, ३४ वर्षीय बायाँहाते तीव्र गतिका बलरका लागि कोलकाताले २९ लाख ८० हजार डलर तिर्नु ठीक रहेछ । लगभग दुई महिना चलेको यसपल्टको आईपीएलमा स्टार्कले प्रचण्ड गर्मीबीच खेले । फाइनलमा उनको प्लेयर अफ द म्याच प्रदर्शनका अगाडि हैदराबाद १ सय १३ रनमात्रै टिक्न सक्यो । त्यसलाई पछ्याउने क्रममा चेन्नईमा भएको खेलमा कोलकातालाई जम्माजम्मी ९.३ ओभर मात्रै आवश्यक पर्‍यो । त्यो पनि दुई विकेट गुमाएर ।

‘अहिले मेरो शरीर पूर्णतः तन्दुरुस्त छ,’ प्रतियोगिताका १३ खेलमा १७ विकेट लिएका स्टार्कले फाइनलपछि भने । कोलकाताको जितपछि खुसी मनाउने क्रममा मिडियासँग उनले भने, ‘मैले यति धेरै समयदेखि क्रिकेट खेलिरहेको छु कि अहिलेको स्थिति सामना गर्न सक्छु । खासमा टेस्ट क्रिकेट जत्तिको गाह्रो पनि छैन ट्वान्टी–२० क्रिकेट । मौसम नै गर्मीको छ । ठीक छ, यो खेलकै एक भाग हो ।’

ट्वान्टी–२० विश्वकप शनिबार (जुन १) देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदै छ । अस्ट्रेलियाको पहिलो खेल भने जुन ६ मा परेको छ ओमानविरुद्ध । ‘भारतमा जति गर्मी भए पनि त्यसको तुलनामा वेस्ट इन्डिजमा चिसै हुनेछ,’ स्टार्कले थपे । गत साता ४४ डिग्री सेल्सियसबीच अहमदाबादमा हैदराबादविरुद्धकै खेलमा पनि उनी नै ‘प्लेयर अफ द म्याच’ भएका थिए । ‘आईपीएलको यो सिजन मैले खुसी आनन्द महसुस गरेको छु । यो साँच्चै गजब रह्यो,’ उनी मान्छन् ।

उनी भन्छन्, ‘अब विश्वकप सुरु हुनेछ । त्यसैले तयारीका रूपमा आईपीएल खेल्न पाउनु पनि ठूलै उपलब्धि हो । यो किन पनि ठूलो उपलब्धि हो भने प्रतियोगिता आफैं निकै प्रतिस्पर्धात्मक छ । विपक्षी खेलाडी सबै राम्रा छन् । म त अब अर्को वर्ष पनि खेल्न अहिले नै आतुर छु ।’ उनलाई एउटा तथ्यमा भने दुविधा छ । सन् २०२७ को एकदिवसीय विश्वकपमा स्टार्कले खेल्ने छन् वा छैनन्, उनीसँग ठ्याक्कै उत्तर छैनभन्दा हुन्छ ।

‘एउटा तथ्य निश्चित के छ भने म आफ्नो खेलजीवनको अन्त्यतिर अग्रसर छु । त्यसैले सायद म क्रिकेटको एउटा स्वरूप खेलिरहन सक्दिनँ होला । अबको एकदिवसीय विश्वकपका लागि धेरै समय बाँकी छ । मलाई के पनि लाग्छ भने यो ५० ओभरको क्रिकेट अब मेरो शरीरका लागि उपयुक्त नहुन पनि सक्छ ।’ उनीबारे एउटा तथ्यमा के पनि छ भने विश्वभरको ट्वान्टी–२० लिगमा खेल्ने मनसाय छ, रोकिन चाहँदैनन् ।

पछिल्लो ९ वर्ष स्टार्कले अस्ट्रेलियाली क्रिकेटकै लागि समय खर्चिए । किनभने यसैलाई आफ्नो प्राथमिकतामा राखे ।

ट्वान्टी–२० विश्वकपपछि भने उनी केही आराम गर्न चाहन्छन् । क्रिकेटबाट टाढा रहेर अनि आफ्नो शरीरलाई आराम दिएर । भनौं श्रीमतीलाई सक्दो समय दिएर । विश्व क्रिकेटका तीनै ढाँचामा उनले अस्ट्रेलियाका लागि ६ सय ६८ विकेट लिएका छन् । यसमा ८९ टेस्ट, १ सय २१ एकदिवसीय र ६० ट्वान्टी–२० खेल छ ।

यसपल्टको आईपीएलको एउटा ठूलै विशेषता रह्यो, ब्याटर हाबी रहनु । रनको खोलो बग्नु ।स्टार्क पनि मान्छन्, अबको विश्वकपमा यस्तो पनि हुने छैन । उनी भन्छन्, ‘अबको विश्वकपमा २ सय ७० रन जस्तो ठुल्ठूलो स्कोर बन्ने छैन । यसका लागि एउटै कारण पर्याप्त छ । अबको विश्वकपमा इम्प्याक्ट प्लेयरको नियम छैन, त्यसको अर्थ थप एक ब्याटर पनि हुने छैन । पछिल्लो समय ब्याटर खुबै बहादुर बनेका छन्, विशेषतः पावर–प्लेमा । फेरि वेस्ट इन्डिजको क्रिकेट पनि फरक हुनेछ । विश्वास गरौं, बलरको भूमिका अझ केही बढी हुनेछ ।’

प्रकाशित : जेष्ठ १५, २०८१ ०५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x