कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कोशी प्रदेश टी-१० क्रिकेट : प्यान्थर्स र एनबीएससीको विजयी सुरूवात 

विनोद भण्डारी

विराटनगर — प्रथम कोशी प्रदेश दिवा-रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको प्यान्थर्स क्रिकेट क्लब र एनबीएससी लायन्स क्लबले विजयी सुरुवात गरेको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि सुरू प्रतियोगिताको उद्घाटन खेलमा प्यान्थर्सले विराटनगरकै वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले र एनवीएससी लायन्सले फुलवारी क्रिकेट क्लबलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेका हुन् ।

कोशी प्रदेश टी-१० क्रिकेट : प्यान्थर्स र एनबीएससीको विजयी सुरूवात 

जितसँगै दुवै क्लबले दुई अंक जोडेका छन् । पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको प्यान्थर्सले निर्धारित ओभरमा ७ विकेट गुमाई ८२ रनको लक्ष्य प्रस्तुत गर्दा अलराउन्डर बसिर अहमदले ११ बलमा ३२ रन बनाए । उनले ४ छक्का र १ चौका प्रहार गरे । तुल बहादुर थापाले ८ बलमा १५ रन पारी खेल्दा एमडी अफाकले ६ बलमा ११ रनको योगदान दिए ।

वाइआरसीसीका अभिषेक पाठक, हेमन्त धमला र विपिन खत्रीले समान २ विकेट लिए । ८२ रनको विजय लक्ष्य पछ्याएको वाईआरसीसीले ८ विकेट गुमाइ ७५ रन मात्रै बनायो । उसका ओपनर तथा यू १९ का कप्तान देव खनालले ७ बलमा २० रन बनाए । उनले २ छक्का र २ चौका हिर्काए । अभिषेक पाठकले ८ बलमा २८ रनको योगदान दिए । उनले तीन छक्का र १ चौका प्रहार गरे ।

राष्ट्रिय टिमका पूर्वसदस्य विनोद भण्डारीले १२ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । वाईआरसीसीलाई विजयी हुनवाट रोक्न प्यान्थर्सका बसिर अहमदले घातक बलिङ गरे । उनले २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । उनी खेलको प्लेर अफ म्याच घोषित भए । साहब आलम र आयुष तिम्सिनाले समान १ विकेट लिए ।

दोस्रो खेलमा एनबीएससी लायन्सले निर्धातिर ओभरमा १ विकेट गुमाइ १ सय ५७ रन बनाउदा राहुल रोमाल्डले २९ बलमा ८ छक्का र ४ चौका प्रहार गर्दै अविजित ७५ रन बनाए । सन्तोष कार्कीले २७ बलमा ६४ रनको योगदान दिए । उनले ७ छक्का र २ चौका हिर्काए । फुलबारीका एमडीले १ विकेट लिए ।

एनबीएससीले दिएको १ सय ५८ रनको विजय लक्ष्य पछ्याएको फुलबारीले ७ विकेट गुमाइ १ सय ७ रन मात्रै बनायो । जसमा राजेस सिंहले १४ बलमा ४१ रन बनाए । दिपक राज जोशीले १८ बलमा २३ रन पारी खेल्दा भुवन कार्कीले १४ रन बनाए । एनबीएससका बलर फिरदोज अन्सारी, सन्तोष कार्की र दिपेश कन्डेलले समान २–२ विकेट लिए ।

प्रतियोगितामा मुलुकका विभिन्न ७ वटा क्लबको सहभागिता छ र हरेक क्लबमा चार जना भारतीय खेलाडी अनुबन्धित छन ।

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुवर खापुङले उद्घाटन गरेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक वडा अध्यक्ष अक्षय सहनीले बताए । दिवा रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि विराटनगर ६ बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फल्डलाइटको व्यवस्था गरेको छ ।

प्रकाशित : जेष्ठ १४, २०८१ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?