कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

‘खेल पत्रकारिता शोध र अनुसन्धानतिर केन्द्रित हुनुपर्छ’

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद पत्रकारिता अब शोध र अनुसन्धानमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

‘खेल पत्रकारिता शोध र अनुसन्धानतिर केन्द्रित हुनुपर्छ’

नेपाल खेलकुद पत्रकार मञ्चको १९ औं वार्षिक साधारणसभा उद्घाटनसत्रमा सदस्यसचिवले खेलकुद विकासको गहन पाटोमा खेल पत्रकारिता रहेको बताउँदै सबै खेल गतिविधिलाई प्राथमिकता दिन सुझाए । उनले भने, ‘पत्रकारिताको आयाम फेरिरहेको छ । यस्तोमा खेल पत्रकारले खेलजगतलाई दीर्घकालीन प्रभाव पार्नसक्ने समाचारमा ध्यान दिनु जरुरी छ । शोध तथा अनुसन्धानमा केन्द्रित हुन आवश्यक छ ।’

पूर्वसदस्यसचिव तथा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नेपाली खेलकुदमा नयाँ खेलाडी उत्पादन हुनु जरुरी रहेको बताउँदै एकै खेलाडीले लामो समय कब्जा जमाउनु खेलकुद गतिशील नहुनुको सूचक रहेको बताए । उनले ग्रासरुटबाट खेलकुदलाई माथि उकास्नुपर्ने बताए ।

नेपाल पौडी संघका नवनियुक्त अध्यक्ष जगतमान श्रेष्ठले खेलकुदका संघसंस्थाहरू प्रजातान्त्रिक ढंगमा चल्नुपर्ने आवश्यकता औंल्याउँदै मञ्चले त्यसमा आफूलाई अब्बल साबित गरेको र त्यसलाई राष्ट्रिय खेल संघले अनुशरण गर्नुपर्ने बताए ।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले भदौमा एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) को कंग्रेस नेपालमा आयोजना गर्ने र त्यसमा राष्ट्रिय संघहरूलाई आफ्नो अन्तर्राष्ट्रिय प्रतियोगिताका बारेमा जानकारी दिन फोरम उपलब्ध गराइने बताए । साधारणसभाको बन्दसत्रमा महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०८१ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x