कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बोटे समुदायबीच डुंगा दौड

चितवन — बोटे समुदायका युवा सम्मिलित डुंगा दौड प्रतियोगितामा दिनेश बोटे पहिलो भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको पटिहानी मध्यवर्ती उपभोक्ता समितिले जैविक विविधता दिवस तथा भरतपुर भ्रमण वर्षको अवसर पारेर बुधबार आयोजना गरेको भरतपुर महानगरपालिका–१३ छितामाइ घाटदेखि भरतपुर–२२ को स्टोनपार्कसम्म राप्ती नदीमा भएको डुंगा दौडमा विजेता भएसँगै उनले १५ हजार रुपैयाँ नगद पुरस्कार जिते ।

बोटे समुदायबीच डुंगा दौड

लगभग अढाई किलोमिटरको उक्त दुरी दिनेश बोटेले १९ मिनेट २० सेकेन्डमा पूरा गरे । उनीभन्दा २० सेकेन्डले पछाडि परेका भरत बोटे दोस्रो भए । २० मिनेट १० सेकेन्डमा दुरी पार गरेका सुनिल बोटे तेस्रो भए । दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ नगद पुरस्कार पाए । प्रतियोगितामा भरतपुर–२२ बोटे टोल र भरतपुर–१३ छितामाई र चौकीडाँडा क्षेत्रका आठ जना बोटे समुदायका युवा सहभागी भएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका थिए । नदी र खोलाहरुमा पुल नहुने समयमा बोटे समुदायका लागि डुंगा चलाउनु नै जीविकोपार्जनको मुख्य आधार थियो ।

अहिले डुंगा चलाउने पुर्ख्यौली पेशा धानेर बस्न सक्ने अवस्था छैन । तर पर्यटकीय क्षेत्रमा डुंगा पनि आर्जनको राम्रो माध्यम हुने गरेको छ । ‘छिताइमाइ र स्टोनपार्कसम्म डुंगा सफारी सुरु गर्न सके यहाँका बोटे समुदायलाई राम्रो हुने देखेको छु । यत्ति काम गरौं,’ आयोजक संस्था पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शंकर महतोले भने ।

भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतोले पटिहानी क्षेत्रमा पर्यटकलाई डुंगा सफारी गराउने काममा अहिले पनि ३० जना बोटेहरु संलग्न रहेको बताए । यो संख्या बढाउन सवैले पहल गर्नुपर्ने उनको भनाइ छ ।


नेपाल बोटे समाज चितवनका अध्यक्ष इन्दिरा बोटले पर्यटकीय क्षेत्रमा बाहेक डुंगा चलाउने व्यवसाय अन्यत्र बाँकी नरहेको, नदी र खोलामा माछा मार्न निषेध भएको, माछा पनि घट्दै गएको हुँदा बोटेहरुलाई जिविका चलाउन गाह्रो हुने गरेको बताइन् । ‘हामी परम्प्रागत पेशा छाड्न पनि चाहन्नौं । तर अहिलेको जमाना अनुसार चल्न पनि परेको छ । हाम्रो पेशालाई आधुनिकतासँग जोड्न आवश्यक छ,’ जिल्ला अध्यक्ष इन्दिराले भनिन् ।

विजेता दिनेश बोटेले डुंगा चलाउनु आफुहरुको पुर्ख्यौली पेशा भएको र लोप हुने अवस्थामा पुगेको यो पेशालाई जोगाउन खेलका रुपमा डुंगा दौड गरे धेरै राम्रो हुने बताए । ‘अहिले डुंगा चलाएर परिवार पाल्न सक्ने अवस्था छैन । पर्यटकीय क्षेत्रमा पर्यटक बोक्न बाहेक अन्यत्र डुंगा कसले चढ्छ र ? तर यसलाई खेलको रुपमा विकास गरेर हाम्रो परम्प्रागत सीप जोगिन्थ्यो । खेलका कारण युवाहरुको आकर्षण पनि बढ्थ्यो,’ उनले भने ।

प्रकाशित : जेष्ठ ९, २०८१ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x