२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

एक महिनादेखि क्रिकेट लिगको रोमाञ्च

२०५४ सालयता प्रत्येक वर्ष सञ्चालन हुने लिगबाट ८० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन 
सन्जु पौडेल

लुम्बिनी — रुपन्देहीमा अहिले खेल स्पर्धा आयोजनाको होड चलिरहेको छ । जिल्लाका विभिन्न विधाका खेल प्रतियोगिता सञ्चालन भइरहेका छन् । जिल्लाको सिमावर्ती सहर भैरहवाका क्रिकेटप्रेमी एक महिनादेखि सञ्चालन भइरहेको जिल्ला त्रिकेट सुपर लिगमा रोमाञ्चित छन् । प्रतियोगिताले यहाँका क्रिकेट खेलाडीलाई व्यस्त तुल्याएको छ ।

एक महिनादेखि क्रिकेट लिगको रोमाञ्च

नयाँ प्रतिभा छनौट गर्न मिल्ने भएकाले जिल्ला क्रिकेट संघका पदाधिकारी र प्रशिक्षक खुसी छन् । त्यसैले लिग सफल तुल्याउन मरिमेटेका छन् ।

आगामी वैशाख ५ गतेसम्म लिग सञ्चालन हुनेछ । लिगको पहिलो चरणमा बी डिभिजनका टिमले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धाबाट दुई टिम एक डिभिजनमा बढुवा भएका थिए । दुई सातादेखि जिल्लाका एक डिभिजनका १० क्लबबीच प्रतिष्पर्धा भइरहेको छ । प्रत्येक वर्ष सञ्चालन हुने यो लिग ऐतिहासिक बनेको छ । यहाँ २०५४ सालबाट लिग आयोजना थालिएको थियो । यसै लिगमा सहभागिता जनाएका धेरै खेलाडी राष्ट्रिय टिममा पर्न सफल भएका छन् । लिगलाई अहिलेसम्म निरन्तरता दिन सक्नु नै रुपन्देही क्रिकेट संघकालागि गर्वको विषय भएको संघका संस्थापक अध्यक्ष प्रेम सेन्चुरीले बताए ।

जिल्ला संघ स्थापना भएको एक वर्ष पछि लिग सुरुवात गरिएको उनले बताए । पहिलो वर्ष १२ टिमले सहभागिता जनाएका थिए । उक्त सहभागिता देखेर संघका पदाधिकारी छक्क परेको उनी सुनाउँछन् । ‘हामीले कल्पना नगरेको सहभागिता थियो,’उनले भने, ‘उक्त सहभागिताले क्रिकेट गाउँ गाउँमा लोकप्रिय रहेको देखियो । त्यसले हौसला थप्यो ।’

पहिलो लिग १५ दिनसम्म चलेको थियो । विजेताले मेडल, ट्रफी मात्र पाएको उनले बताए । सेन्चुरीका अनुसार ०५९ सालमा लिग आयोजना हुन सकेन । प्राविधिक कारणले लिग सञ्चालन हुन नसकेपछि खेलाडी एवं खेलप्रेमीले चिन्ता व्यक्त गर्न थाले । त्यसले आयोजनाका लागि दबाब परेको उनले बताए । त्यसको एक वर्षपछि २०६० बाट पुन: लिग आयोजना गर्न थालियो । ०६१ सालमा विजेतालाई २० हजार रुपैयाँ पुरस्कार राखिएको थियो । त्यसयता पुरस्कार राशि थपिँदै गएको छ । यसपटक विजेताले एक लाख र फस्ट रनर अपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

२०६७ सालमा जिल्ला क्रिकेट संघको अध्यक्ष प्रशान्त विक्रम मल्ल थिए । उक्त वर्ष लिगमा सहभागी हुने १२ टिम पुर्‍याउन मुस्किल भएको उनको अनुभव छ । त्यसपछि बार्‍है महिना क्रिकेट गतिविधि बढाउँदै लगेपछि खेलाडीले यसप्रति चासो दिन थालेको मल्लले बताए । पछि सहभागी हुने टिमको संख्या बढ्दै गएपछि दुई चरणमा लिग खेलाउन थालिएको उनले बताए ।

नयाँ सहभागीलाई नकआउटको आधारमा खेलाउने र त्यसबाट विजेता बन्नेलाई अर्को चरण प्रवेश दिने गरिएको उनले बताए । यसरी १२ टिम पुर्‍याएर लिग सञ्चालन भइरहेको उनले जानकारी दिए । मल्लका अनुसार ०७० सालबाट ए र बी डिभिजनमा टिम छुट्याउने गरिएको छ । ए डिभिजनबाट दुई टिम घटुवा हुने र बी डिभिजनबाट ४ टिम बढुवा भई ए मा पुग्ने गरी तालिका निर्माण गरेर लिग सञ्चालन भइरहेको छ । लिग आयोजनाले खेलाडीले धेरै खेल खेल्ने अवसर पाएको उनको भनाई छ । ‘खेलाडीलाई प्रतियोगिताले राम्रो अभ्यासको वातावरण बनेको छ,’उनले भने, ‘सुरुमा १५ दिन चल्थ्यो । बढाउँदै लगेर ४२ दिनको बनाइएको छ ।’ यो मुलुकमै सबैभन्दा धेरै दिनसम्म सञ्चालन हुने लिग भएको मल्लले बताए ।

रुपन्देही क्रिकेट संघले नौलो तालिका बनाएर प्रतियोगिता सञ्चालन गरिरहेको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए । ‘एउटा टिमले कम्तीमा ४ वटा वान डे म्याच खेल्नेगरि फर्म्याट बनेको छ,’ उनले भने, ‘यो लिगबाट उत्पादन भएका चर्चित खेलाडीले देश चिनाइसकेका छन् ।’

उनकाअनुसार राजु खड्का, शक्ति गौचन, वसन्त रेग्मी, कुशल भुर्तेल, कुशल मल्ल, देव खनाल लगायत सुपर लिगबाट उदाएका खेलाडी हुन् । यस लिगबाट ८० भन्दाबढी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादन भइसकेको उनले बताए । लिगले अन्तर्राष्ट्रिय अम्पायर समेत तयार गर्न सहयोगी भूमिका खेलेको थापा बताउँछन् । अम्पायर सत्यजित सरकार, सन्जय गुरुङ, समिर खान, रामचन्द्र पाण्डे लिगबाटै अघि बढेका अम्पायर हुन् ।

सुपर लिगबाटै अन्तर्राष्ट्रिय अम्पायर बनेका सन्जय गुरुङले २०५४ देखि आफूले सिद्धार्थ क्रिकेट मैदानमा अम्पायरको भूमिका निर्वाह गरिरहेको बताए । नेपाली क्रिकेट टिममा रुपन्देहीको लिग नखेलेका कमै खेलाडी रहेको उनले बताए । विभिन्न उमेर समूहका खेलाडीले लिगमा अभ्यास गरेरै अघि बढेको र देशको लागि खेलिरहेकाले संघले त्यसमा गर्व अनुभूति गर्ने बताए । अन्य फ्रेन्चाइज लिगको प्रचार भएजस्तो रुपन्देहको लिगको हुन नसकेपनि यो लिग देशका कुनैपनि संघले गर्न नसकेको एकमात्र लिग भएको उनको दाबी छ ।

४२ दिनसम्म एउटै लिग चल्नु सामान्य नभएकाले आउँदो पिंढीले यसलाई थप प्रभावकारी बनाउँदै अघि बढुन् भन्ने चाहना रहेको उनले बताए । रुपन्देही सुपर लिग खेलाडीको बेस बसाल्ने लिग भएकाले संघले एकेडेमी सुरु गरेको र यसमा आउने विद्यार्थी नै लिगका लागि तयार हुने उनको भनाई छ ।

सन् २००१ म क्यानडामा भएको वर्ल्डकप क्वालफिायरमा राष्ट्रिय टिमबाट खेलेका दुर्गा सेन हाल रुपन्देही क्रिकेट संघको एकेडेमीमा प्रशिक्षकका रुपमा छन् । आफु सुपर लिग खेल्दा मैदानको स्थिती पुरानो र सामान्य भएकामा अहिलेका खेलाडीले अन्तर्राष्ट्रियस्तरको पिच प्राप्त गरेको उनले बताए । ‘हामीले खेल्ने बेला यस्तो पिच किन भएन होला भन्ने लाग्छ,’ उनले भने, ‘रुपन्देहीको लिग खेल्ने खेलाडीले अन्यत्र जाँदा समेत मैदान र पिचको अनुमान सहजै गरेर खेल्न सक्ने गरि मैदान बनेको छ, त्यो खुसीको कुरा हो ।’

लिगमा प्रतिस्पर्धा गरिरहेका एउटा क्लबले जिल्ला बाहिरबाट ३ खेलाडी समेट्न पाउँछ । यसअघि नेपालका प्राय अन्तर्राष्ट्रिय खेलाडी लिग खेल्न आउने गरेकामा यसपटक उनीहरु खेलमै व्यस्त रहेकाले आउन नपाएको अध्यक्ष थापाले बताए ।

प्रकाशित : वैशाख ३, २०८१ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?