कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुजरातलाई हराएर नेपाल टिम फाइनलमा

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार तेस्रो जित हात पार्दै एसएमएस फ्रेन्डसिप ट्वान्टी–२० कपको फाइनलमा पुगेको छ । भारतको गुजरात स्थित भापीमा भइरहेको प्रतियोगितामा नेपालले बुधबार गुजरातलाई ८ रनले हरायो ।

गुजरातलाई हराएर नेपाल टिम फाइनलमा

नेपालले यसअघिका गुजरात र बरोदालाई हराएको थियो । कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारी गरेपछि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाई १ सय ८१ रन बनायो । जबाफमा आएको गुजरातले ७ विकेट गुमाई १ सय ७३ रनमात्र बनाउन सक्यो ।

३७ बलमा अर्धशतक पूरा गरेका आसिफले कुल ५१ बलमा ८५ रन बनाए । प्लेयर अफ द म्याच उनले १० चौका र ५ छक्का प्रहार गरे । आसिफ र कुशलले पहिलो विकेटमा १ सय २५ रनको साझेदारी गरे । कुशल १४ औं ओभरमा आउट भएपछि यो साझेदारी टुटेको हो । कुशल ४४ बलमा ६७ रन बनाई आउट भए । उनले ९ चौका र २ छक्का प्रहार गरे ।

त्यसपछिका नेपाली ब्याटरहरू पालैपालो आउट भए । कप्तान रोहित पौडेल ३, सन्दीप जोरा २, कुशल मल्ल १, गुलशन झा ४ रन र अनिल साह शून्यमा आउट भए । विवेक यादव ५ बलमा ७ र प्रतिश जिसी ३ बलमा ४ रन बनाई अविजित रहे । गुजरातका जयमित पटेलले ४ ओभरमा ४६ रन खर्चेर ३ तथा ध्रुसन्त सोनी र आर्य देसाईले २–२ विकेट लिए ।

ओपनरद्वय रुद्र पटेल ८ र आर्य ९ रनमा आउट भए पनि गुजरातले नेपाललाई राम्रो चुनौती तेर्स्याएको थियो । अन्तिम ओभरमा गुजरातलाई खेल जित्न २० रन चाहिन्थ्यो । प्रतिशले फालेको अन्तिम ओभरको पहिलो बल वाइड गयो भने त्यसपछि दुई बलमा गुजराती ब्याटर हर्ष देसाईले लगातार २ चौका प्रहार गरे । बाँकी ४ बलमा प्रतिशले ४ रनमात्र दिएर नेपाललाई विजयी बनाए ।

कप्तान उमंग रोहित कुमारले गुजरातबाट सर्वाधिक ४७ रन बनाए । उनले २४ बल खेलमा ४ चौका र २ छक्का प्रहार गरे । अभिषेक देसाईले २० र प्रियस पटेलले १७ रन बनाए । हर्ष १६ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । नेपालका सोमपाल कामी, गुलशन र कुशल मल्लले २–२ विकेट लिए । सोमपालले ४ ओभरमा १८, गुलशनले ४ ओभरमा ३७ र कुशलले आफ्नो एकमात्र ओभरमा ३ रन दिए । विवेकले १ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा ४९ रन खर्चन पुगे र कुनै विकेट लिन सकेनन् ।

प्रकाशित : चैत्र २१, २०८० २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?