१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

राखेपको वार्षिकोत्सवमा १८ खेल व्यक्तित्व सम्मानित

काठमाडौँ — नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ खेलव्यक्तित्व बुधबार सम्मानित भएका छन् ।

राखेपको वार्षिकोत्सवमा १८ खेल व्यक्तित्व सम्मानित

राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी (१ पारासहित), २ खेल पत्रकार, २ कर्मचारी (२ करारसहित), प्रायोजक, स्थानीय तह र राष्ट्रिय खेल संघलाई सम्मान गरिएको हो ।

सिनियर पुरुषमा एथलेटिक्सका दीपक अधिकारी र महिलामा बक्सिङकी सुष्मा तामाङले सर्वोत्कृष्ट खेलाडी अवार्डसहित १–१ लाख पुरस्कार पाए ।

नवौं राष्ट्रिय खेलकुदको १० हजार किमि दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका दीपक नेपालमै सम्पनन १६ औं एसियाली क्रसकन्ट्री एथलेटिक्सका स्वर्ण विजेता हुन् । सुष्माले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यू–२२ एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाली बक्सिङ खेलाडीले कुनै पनि एसियाली स्तरको बक्सिङमा रजत जितेको अहिलेसम्मकै पहिलो हो । सुष्माले नवौं राष्ट्रिय खेलकुदको ४८ केजीमा स्वर्ण जितेकी थिइन् ।

जुनियर पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट भए । दुवैलाई ५०–५० हजारसहित ट्रफी पाए । नेपाललाई आईसीसी यु–१९ विश्वकपमा छनोट गराउन भूमिका खेल्ने एक मुख्य खेलाडी अर्जुन यु–१९ मा दुई शतक प्रहार गर्ने खेलाडी हुन् । डुवानाले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण र १ रजत जितेकी थिइन् ।

पारा एथलिट खेलाडी पौडीका भीमबहादुर कुमाल चुनिए । गत वर्ष भएको सुरेन्द्र स्मृति पारा पौडीको ५० मिटर फ्रि स्टाइलमा भीमले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नवलपरासीको मध्यविन्दु नगरपालिकालाई उत्कृष्ट स्थानीय तह तथा नेपाल भलिबल संघलाई उत्कृष्ट राष्ट्रिय खेल संघमा पुरस्कृत गरियो । मध्यविन्दुका मेयर भीमलाल अधिकारी र भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अवार्ड ग्रहण गरे ।

कर्मचारीको प्रशासनिकतर्फ भोजानन्द राईले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, सुनीलकुमार दाहालले उत्कृष्ट परिषद् सेवा पुरस्कार र शारदा दाहालले परिषद् सेवा पुरस्कार प्राप्त गरे । प्रशिक्षणतर्फ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसीलाई सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खानलाई उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङलाई परिषद् सेवा पुरस्कार प्रदान गरियो । सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कार पाउनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी पाए । कर्मचारीतर्फ इन्जिनियर सविन महर्जन र सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठले करार सेवा पुरस्कार प्राप्त गरे । दुवैलाई जनही १० हजार पाए ।

खेलकुद पत्रकारिता पुरस्कारतर्फ नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सविना कार्की सम्मानित भए । दुवैले ट्रफीसहित जनही २० हजार पुरस्कार पाए ।

उनीहरूलाई राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय योगजना आयोगका सदस्य उमाशंकर प्रसाद, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कृत गरे । कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, गायक राजेशपायल राईलगायतले प्रस्तुति दिएका थिए ।

प्रकाशित : चैत्र २१, २०८० २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?