१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

फाइनलमा नेदरल्यान्ड्सलाई नेपालको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ — नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाको नेदरल्यान्ड्सविरुद्धको फाइनलमा १ सय ८५ रनको लक्ष्य दिएको छ । कप्तान रोहित पौडेलले मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभर खेली ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो ।

फाइनलमा नेदरल्यान्ड्सलाई नेपालको चुनौतीपूर्ण लक्ष्य

ओपनर कुशल भुर्तेल १० बल खेली १ चौका र २ छक्का प्रहार गरी २० रनमा आउट भए । रिभर्स स्विप हान्न खोजेका उनलाई टिम भान डेर गुग्टेनले बोल्ड गरे । रोहितले १९ बल खेली ३ चौका र १ छक्कासहित २५ रन बनाए । उनी पनि रिभर्स स्विप हान्ने चक्करमै आउट भए ।

ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । उनले ३७ बल खेली १ चौका र ३ छक्का प्रहार गरे । उनी दुर्भाग्यपूर्ण एलबीडब्लु आउट भए । दुबैलाई माइकल लेभिटले आउट गरे । नेदरल्यान्ड्सका फिल्डरले आसिफ २ र ३६ रनमा भएको समयमा दुई पटक क्याच छाडेका थिए । दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भए ।

कुशल मल्लले ११ बल खेली ३ छक्का प्रहार गरि २६ रन बनाए । करण केसी ९ रनमा आउट भए । आरिफ शेख पहिलो बलमै आउट भए । योक्रममा नेपालले ८ बलको अन्तरमा ४ विकेट गुमाएको थियो । सोमपाल कामी र प्रतिश जिसी समान ६ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सबाट फ्रेड क्लासेन, भान डेर गुग्टेन, लेभिट र साइब्रान्ड इंगलब्रेक्टले २–२ विकेट लिए ।

नेपालले पछिल्लो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरी फाइनलमा पुगेको थियो । सो टोलीबाट नेपालले कुनै खेलाडी परिवर्तन गरेको छैन । नेदरल्यान्ड्सले नेपालसँग खेलेको सो टोलीबाट आर्यन दत्त र नोआ क्रोसको स्थानमा फ्रेड क्लासेन र सारिज अहमदलाई खेलाएको छ ।

अफ स्पिनर दत्तको स्थानमा नेदरल्यान्ड्सले अहमदलाई खेलाएको हो । नेदरल्यान्ड्सको टोलीमा अहमद रोइल्फ भान डेर मार्वी गरी दुई स्पिनर रहेका छन् । डबल राउन्ड रोबिनको यस प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले पराजित गरेको थियो । पहिलो दुई खेल जितेको नेदरल्यान्ड्स तेस्रो खेलमा नेपालसँग पराजित भएको थियो ।

आइतबार नेदरल्यान्ड्स र नामिबिया बीचको खेल वर्षाका कारण रद्द भएपछि नामिबियाको फाइनल पुग्ने सम्भावना समाप्त भएको थियो ।

प्रकाशित : फाल्गुन २२, २०८० १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?