कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेदरल्यान्ड्सलाई फाइनलमा जाँच्ने अवसर

विनोद पाण्डे

काठमाडौँ — ट्वान्टी–२० विश्वकपअघि नेपाल र नेदरल्यान्ड्ससामु एकअर्कालाई जाँच्ने राम्रो अवसर हुनेछ । यी दुई टोली मंगलबार ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाको फाइनलमा भिड्दै छन् । वर्तमान खेल तालिकाअनुसार विश्वकपअघि यी दुई टोली अन्तिमपल्ट आमनेसामने हुँदै छन् । 

नेदरल्यान्ड्सलाई फाइनलमा जाँच्ने अवसर

जुनमा वेस्ट इन्डिज र अमेरिकाले ट्वान्टी–२० विश्वकप आयोजना गर्दै छ । दुई टोलीले अमेरिकाको डालासमा जुन ४ मा विश्वकपको आफ्नो पहिलो खेल खेल्नेछन् । नेपाली क्रिकेटको निकै व्यस्त तालिका रहकाले यस शृंखलाको फाइनलपछि नेपाल र नेदरल्यान्ड्सको विश्वकपअघि भेट हुने सम्भावना छैन ।

नेदरल्यान्ड्ससँग फाइनल खेलेलगत्तै नेपाल अर्को ट्वान्टी–२० त्रिकोणात्मक शृंखला खेल्न हङकङ जानेछ । नेपालले त्यहाँ हङकङ र पपुवा न्युगिनीसँग सिंगल राउन्ड रोबिनको प्रतियोगितामा खेल्नेछ । काठमाडौं फर्किएपछि नेपालले आयरल्यान्ड ‘ए’ सँग दुई ट्वान्टी–२० खेल्नेछ भने नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग तीन ट्वान्टी–२० र तीन एकदिवसीय खेल खेल्नेछ ।

नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग खेल्न सुरु गर्दा नेपाली टोलीले भारतमा गुजरात र बरोडासम्मिलित डबल राउन्ड रोबिनको त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेल्नेछ । नेपाली टोली सम्भवत भारतबाटै ओमान जानेछ । ओमानको मस्कटमा नेपालले अप्रिल १२ देखि २१ सम्म हुने ट्वान्टी–२० एसिया कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघले आफ्नो वार्षिक क्यालेन्डरमा मे महिना विश्वकप तयारीलाई राखिएको जनाएको थियो ।

त्यसैले विश्वकप खेल्नुअघि नेपाल र नेदरल्यान्ड्स दुवैलाई मंगलबार एकअर्काको नाडी छाम्ने अन्तिम अवसर छ । नेपालले प्रतियोगितामा आफ्नो उत्कृष्ट प्लेयिङ ११ अझै खेलाएको छैन । प्रशिक्षक मोन्टी देसाईसँग यसको खास कारण छ । नेपाली टोलीभित्रका सबै १८ जनालाई खेलाउँदै आएका उनी ट्वान्टी–२० विश्वकपलाई हेरेर सबै खेलाडीको प्रयोग गरिरहेको बताउँछन् ।

यस त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपाल र नेदरल्यान्ड्स तेस्रोपल्ट भिड्न लागेका हुन् । पहिलो खेलमा नेदरल्यान्ड्सले बनाएको १ सय ८५ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल २ रनले पछाडि परेको थियो । तर, दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई कुनै अवसर दिएन । नेदरल्यान्ड्सलाई १२० रनमा अलआउट गरेपछि नेपालले १५.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपाली टोलीभित्र प्रयोगमा रहेका प्रतिश जिसीले ३ विकेट लिँदै नेदरल्यान्ड्सलाई तहसनहस पारेका थिए ।

नेपाली टोलीमा सोमपाल कामी, करण केसी, गुलशन झा, अविनाश बोहराजस्ता मध्यम गतिका बलर रहेको हुलमा देव्रेहाते सिमर प्रतिशले मौका पाउँदा आफूलाई प्रमाणित गरेका थिए । गुलशन बलिङभन्दा ब्याटिङमा केन्द्रित देखिएका छन् । ब्याटिङमा पनि नेपालका प्रशिक्षक मोन्टीले विवेक यादव, सन्दीप जोरालाई प्रयोग गर्दै आएका छन् ।

नेपालसामु तीन वर्षअघिको प्रदर्शन दोहोर्‍याउने अवसर छ, जतिखेर नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले हराएको थियो । कुशल भुर्तेलको आफ्नो ‘डेब्यु’ रहेको प्रतियोगिताको फाइनलमा ५३ बलमा ७७, कुशल मल्लले २४ बलमा अविजित ५०, दीपेन्द्रसिंह ऐरीले १८ बलमा अविजित ४८ र ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन बनाएपछि नेपालले ३ विकेट गुमाई २ सय ३८ रन बनायो, जुन त्रिवि क्रिकेट मैदानकै तत्कालीन अवस्थामा उच्च स्कोर थियो ।

तर, नेपाली ब्याटिङ त्यसअनुरुप खुल्न सकेको छैन । विशेष गरी ओपनिङ ब्याटर भुर्तेलको चमक नदेखिँदा नेपाली टोली पनि दबाबमा पर्ने गरेको छ । तर, आसिफ शेख, कप्तान रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रले राम्रो ब्याटिङ गर्दै आएकाले नेपालले नेदरल्यान्ड्सलाई ब्याटिङबाट राम्रै चुनौती दिने विश्वास गरिएको छ ।

यसै प्रतियोगितामा ‘डेब्यु’ गरेका माइकल लेभिट नेदरल्यान्ड्सका प्रमुख ब्याटर हुन् । उनले नेपालविरुद्ध पहिलो खेलमा ५४ र त्यसपछि नामिबियाविरुद्ध १ सय ३५ रन बनाएका थिए । कप्तान स्कट इडवार्डससहित म्याक्स ओ’डड, साइब्रान्ड इंगेलब्रेक्ट पनि नेपाली विकेटबारे जानकार भइसकेका छन् । भेट्रान देव्रेहाते स्पिनर रोइल्फ भान डेर मर्वी बलिङमा डचका प्रमुख खेलाडी हुन् ।

प्रकाशित : फाल्गुन २२, २०८० ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?