२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

झापा गोल्डकप : एपीएफ सेमिफाइनलमा

अर्जुन राजवंशी

बिर्तामोड — दोस्रो खेलमा पनि टाइब्रेकरमा जित हासिल गर्दै विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको वाग्मती युवा क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै एपीएफले गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

झापा गोल्डकप : एपीएफ सेमिफाइनलमा

सोमबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा एपीएफका लागि टाइब्रेकरमा श्याम मगर, कुलदीप कार्की, प्रदीप लामा र विदेशी खेलाडी फोडे फोफोनाले गोल गरेका थिए ।

वाग्मतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूको पेनाल्टी प्रहारले मात्र जाली चुम्यो । उसका निर्मल घिसिङको पेनाल्टी प्रहार एपीएफका गोलकिपर अन्जल श्रेष्ठले रोकेका थिए भने अनिल रानामगरको प्रहार गोलपोस्टको पिल्लरमा ठोक्किएर बाहिरिएको थियो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा नतिजा गुमाए पनि खेल अवधिभर दर्शकको मन भने ‘सी’ डिभिजन क्लब वाग्मतीले जित्न सफल भयो । उसले पहिलो हाफमा एपीएफलाई पूरै दबाबमा राखेको थियो । आधा दर्जनभन्दा बढी पटक एपीएफको गोलपोस्टमा वाग्मतीका खेलाडीहरुले धावा बोले पनि बल फ्रेमभित्र पर्न नसक्दा नतिजा हात लागेन ।

छैटौं मिनेटमा वाग्मतीका सनम धिमालले मैदानको मध्य भागबाट पाएको लामो पास बललाई नियन्त्रणमा लिएर पोस्टको दिशा दिन सकेनन् । २७ औं मिनेटमा वाग्मतीका सुजन गुरुङले करिब ३५ यार्ड टाढाबाट गरेको कडा प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्यो ।

३७ औं मिनेटमा वाग्मतीका अभि लामाले मैदानको मध्य भागबाट एक्लै अघि बढाएर लगेको बललाई पेनाल्टी बक्समा एपीएफका डिफेन्डरहरुले रोक्दा अवसर गुम्यो । वाग्मतीले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता बनाउने अर्को अवसर पनि गुमाएको थियो । उसका निर्मल घिसिङले प्रहार गरेको फ्रिकिक गोलपोस्टको बारमा ठोक्किदै मैदान बाहिरिएको थियो ।

खेलको तेस्रो मिनेटमा एपीएफका विदेशी खेलाडी फोफोनाले बक्स नजिकैबाट दिएको क्रस पासमा अनिस महर्जनले हेडमार्फत बललाई पोस्टको फ्रेममा पार्न सकेनन् । ५३ औं मिनेटमा एपीएफका प्रदीप लामाको कडा प्रहार बारमा लागेर बाहिर गयो । ५७ औं मिनेटमा बागमतीका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई एपीएफका फोफोनाले प्रहार गरेपनि वाग्मतीका गोलकिपर रौनकले सुझबुझका साथ नियन्त्रणमा लिए ।

इन्ज्युरी समयमा वाग्मतीका खेलाडीलाई फल गरेपछि एपीएफका दिपेश धिमालले रेड कार्ड पाउँदै मैदान छोडेका थिए । खेल जिते पनि एपीएफका प्रशिक्षक सुमन श्रेष्ठ भने खुसी देखिएनन् । उनले आफ्नो प्लानअनुसार खेलाडीले खेल नपस्किदा निर्धारित समयभित्र नतिजा निकाल्न नसकेको बताए । ‘हामीले पहिलो हाफमै रिजल्ट निकाल्ने गरी प्लान गरेका थियौं । तर, उल्टै वाग्मतीले हामीलाई पूरै हाफ दबाबमा राख्यो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘यसअघि हेटौडामा सजिलै जितेको टिमसंग दबाबमा खेल्नुपर्दा नतिजाको लागि पेनाल्टी सुट पर्खिनुपर्ने भयो ।’

वाग्मतीका प्रशिक्षक सुनिल श्रेष्ठले पहिलो हाफमा पाएका अवसरलाई नतिजामा बदल्न नसक्दा खेल गुमाउन पुगेको बताए । ‘हाम्रा खेलाडीले प्लानअनुसार राम्रो खेलेको हो । विभागीय टिमलाई दबाबमा राखेर खेल्न सक्नु नै हाम्रो सफलता हो,’ उनले भने,‘हामीले पहिलो हाफमा पाएका अवसरलाई गोलमा बदल्न नसक्नु नै कमजोरी रह्यो ।’

यसअघि गोल्डकपको उद्घाटन खेलमा पनि एपीएफले संकटा क्लबलाई टाइब्रेकरमा पराजित गरेको थियो । सोमबारको खेलमा पनि एपीएफका गोलकिपर अन्जल श्रेष्ठ प्लेयर अफ दी म्याच भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपमा मंगलबार चर्च ब्वाइज युनाइटेड र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : फाल्गुन २१, २०८० १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?