कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सशस्त्र प्रहरी, कोशी, बागमती र लुम्बिनी सेमिफाइनलमा

माधव अर्याल

पाल्पा — प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत् सोमबार भएका खेलबाट सशस्त्र प्रहरी बल (एपीएफ), कोशी, बागमती र लुम्बिनी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । सशस्त्रले गण्डकीलाई, लुम्बिनीले कर्णालीलाई, कोशीले सुदुरपश्चिमलाई र बागमतीले मधेश प्रदेशलाई पराजित गरेर सेमिफाइनल प्रवेश गरेका हुन् । 

पाल्पाको रामपुरमा सोमबार भएका खेलमा सशस्त्रले राष्ट्रिय महिला भलिबल टीमकी क्याप्टेन अरुणा शाही सम्लित टोलीलाई सोझो सेटमा पराजित गरेको छ । शसस्त्रले २५–७, २५–१७ र २५–९ को सेटमा पराजित गरेको हो ।

सोमबार सम्पन्न दोस्रो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ३–१ सेटले पराजित गरेको छ । लुम्बिनी प्रदेशले जित निकाल्ने क्रममा कर्णाली प्रदेशलाई २५–१७, २५–१०, २५–१७ को सेटमा पराजित गरेको छ । कर्णाली प्रदेशले २५–१९ को सेटमा सान्तवना जित निकाल्यो । तेस्रो खेलमा कोशीले सुदुरपश्चिमलाई ३–१ सेटले हरायो ।

कोशीले २५–२०, २५–१९ र २५–१४ को सेटमा पराजित गरेको हो । चौथो खेलमा बागमतीले मधेश प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । उसले २५–६, २५–८ र २५–१३ को सेटमा पराजित गरेको हो ।

यसैगरी सोमबार नै शनिबार र आइतबार मौसम खराबीले रोकिएको सुदरपश्चिम र मधेश प्रदेश बीचको खेलमा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ३–१ सेटमा पराजित गरेको छ । मधेश प्रदेशले जित निकाल्ने क्रममा २५–२०, ३१–२९, १५–६ को सेटमा पराजित गरेको छ । सुदुरपश्चिम प्रदेशले २५–२० को सेटमा सान्तवना जित निकाल्यो ।

मंगलबार सेमिफाईनल खेल र बुधबार फाईनल खेल हुने आयोजकले जनाएको छ । सहभागी आठ समूह मध्ये समूह ‘ए’ तर्फ एपीएफ क्लब, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश थियो भने समूह ‘बी’ तर्फ बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश रहेको थियो । राष्ट्रिय खेलकुद परिषद लुम्बिनीको मुख्य प्रायोजन, जिल्ला खेलकुद विकास समिति पाल्पाको समन्वय तथा जिल्ला भलिबल संघ पाल्पाको आयोजनामा भएको हो । प्रतियोगिता लिक नकआउटको आधारमा खेलाइएको छ ।

फागुन २३ गतेसम्म संचालन हुने प्रतियोगितामा विजेता हुने प्रथम, द्वितीय, तृतीय र सान्त्वना समुहले क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २१, २०८० २३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?