१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९
ट्वान्टी २० आई त्रिकोणात्मक क्रिकेट शृंखला

नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा *

काठमाडौँ — लगातार दुई खेल जित्दै नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको फाइनलमा पुगेको छ । कप्तान रोहितकुमार पौडेल र गुल्शन झाको उत्कृष्ट साझेदारीले शनिबार त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपालले फाइनलको बाटो तय गरेको हो । 

नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा *

शनिबार टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो । घरेलु टोलीले १५.२ ओभरमा ४ विकेट गुमाएर नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य पूरा गर्‍यो । नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेदरल्यान्ड्सले दिएको लक्ष्य १५ ओभरभित्र पूरा गरेको भए नेपालको रनरेट नेदरल्यान्ड्सभन्दा अघि हुने समीकरण थियो । तर यसमा सफल नभएपनि पोजिटिभ रन रेट भएपछि नेपाल १ खेल अगावै फाइनल पुगेको हो । नेदरल्यान्ड्स ३ खेल खेलेर २ मा जित र १ मा हार ब्यहोर्दै ४ अंकका साथ पहिलो स्थानमा छ । उसको नेट रन रेट ०.३१० छ ।

यस्तै नेपालले ४ खेल खेलेर २ मा जित र २ मा हार ब्यहोर्दै ४ अंक बटुलेको छ । उसको नेट रन रेट ०.२९३ रहेको छ भने नामिबिया ३ खेलमा १ जित निकालेर २ मा हार ब्यहोर्दै २ अंकको साथ तालिकाको अन्तिममा छ । उसको नेट रन रेट -०.७०० छ । अंक तालिकाको शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान छ ।

अब आइतबार लिगको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । उक्त खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

नामिबियाले नेदरल्यान्ड्सलाई हराएमा नेदरल्यान्ड्सको नेट रन रेट घट्ने छ । नामिबियाले हारेमा समूह बिजेता बन्दै नेदरल्यान्ड्स फाइनल प्रवेश गर्ने छ ।

शनिबार नेपालको तर्फबाट कप्तान पौडेल र गुल्सन झाले ६६ बलमा ८६ रनको साझेदारी गरे । पौडेलले ३४ बलमा ४६ रन बनाए भने झाले ३६ बलमा ३८ रन बनाए । ओपनर कुशल भूर्तेलले १२ र आसिफ शेखले ८ रन बनाए ।

नेदरल्यान्ड्सको विभियन किंग्माले ३ विकेट लिए भने आर्यन दत्तले १ विकेट लिए ।

यसअघि नेदरल्यान्ड्सका म्याक्स ओडाउडले २४ बलको सामना गर्दै सर्वाधिक ३१ रन बनाए । यस्तै टिम भान डर गुगटेनले २४, रोयलोफ भान डर मर्वेले २३ र स्कट एडवार्ड्सले १८ रन बनाए । नेदरल्यान्ड्सका अन्य ब्याटरले दोहोरो अंक रन बनाउन सकेनन् ।

नेपालको तर्फबाट प्रतिश जिसीले ३, करण केसी र कुशल मल्लले २-२ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

पहिलो ओभरमै करण केसीले नेदरल्यान्ड्सको दुई विकेट लिएपछि नेदरल्यान्ड्स दबाबमा परेको थियो ।

[*फाइनल प्रवेश हुनुपर्नेमा अन्यथा भएकोले शीर्षक सच्याइएको छ । सम्पादक]

प्रकाशित : फाल्गुन १९, २०८० १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?