१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

दाङ क्रिकेट लिग : दंगाली लायन्सलाई उपाधि

दुर्गालाल केसी

दाङ — नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो सिजनको उपाधि दंगाली लायन्सले चुमेको छ । दाङ क्रिकेट संघद्वारा आयोजित लिगको फाइनलमा दंगालीले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गरेको हो । घोराही क्रिकेट रंगशालामा शनिबार सम्पन्न फाइनलमा दंगाली लायन्सले दिएको १०८ रनको लक्ष्य तुलसीपुरले १६ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो ।

दाङ क्रिकेट लिग : दंगाली लायन्सलाई उपाधि

तुलसीपुर रोयल्सको ब्याटिंङमा रुपेश सिंहले २० तथा अमर सिंह रौटेलाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दंगाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द म्याच समेत घोषित बसिरले ४ ओभरमा मात्र १३ रन खर्चिए । यस्तै बिपिन खत्री, बिर बहादुर घर्ति मगर, प्रकाश जैसीले समान २ विकेट तथा शंकर रानाले १ विकेट लिए ।

टस जितेर ब्याटिंङ गरेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रन बनायो । दंगालीको लागि कप्तान बिपिन खत्रीले सर्वाधिक ४५ रन बनाए जुन क्रममा उनले ३८ बलमा २ चौका र ३ छक्का प्रहार गरे । बसिर अहमदले २४ तथा अंकित बुढाले ११ रन बनाए ।

बलिङतर्फ तुलसीपुर रोयल्सका अमर सिंह रौटेलाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २३ रन खर्चिए । रुपेश सिंह, भुवन कार्की, दिवान पुन र नबिन बिकले १/१ विकेट लिए ।

उपाधिसहित विजेता दंगाली लायन्सले २ लाख ५० हजार रुपैया प्राप्त गर्‍यो । उपविजेता तुलसीपुर रोयल्सले १ लाख रुपैया पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द सिरिज विजेता टिम दंगाली लायन्सका बसिर अहमद घोषित भए ।

यस्तै प्रतियोगिताको उत्कृस्ट ब्याटर दंगाली लायन्सका सन्तोष कार्की, उत्कृष्ट बलर पुरन्धारा च्यालेन्जर्सका दिपेन्द्र रावत तथा उदयमान खेलाडी देउखुरी वारियर्सका शुभम खनाल घोषित भए । प्लेयर अफ द सिरिजले १५ हजार रुपैया प्राप्त गर्दा उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार रुपैया प्राप्त गरे ।

फाइनल खेलका प्लेयर अफ द म्याच घोषित बसिर अहमदले ५ हजार रुपैया पाए । प्रतियोगितामा पाच वटा फ्रेन्चाइज् टिमको सहभागिता रहेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले बताए । प्रतियोगिताको खेलाडी छनोट अक्सनमार्फत गरिएको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १९, २०८० १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?