१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बिर्तामोडको ‘फुटबल हब’ हुने सपना

हिमेश

काठमाडौँ — यति बेला झापाको बिर्तामोड जानुहोला र अचम्ममा पर्नुहोला । अनि भन्नुहोला, यो त अर्कै बिर्तामोड हो कि ? खासमा होइन । झापा गोल्डकप सुरु हुन लागेको छ, शनिबारदेखि । छैटौं संस्करण हो, यो । जति बेला झापा गोल्डकप चल्छ, बिर्तामोडमा पर्वजस्तै लाग्छ ।

बिर्तामोडको ‘फुटबल हब’ हुने सपना

प्रतियोगिता सुरु हुन अगाडि त्यहाँ सरसफाइका कार्यक्रम पनि भए । प्रतियोगिताको शिल्ड घुमाउने काम पनि भयो । मुक्तिचोकलाई चिटिक्क सजाइएको छ । डोमालाल राजवंशी रंगशालाले त रूपै फेरेको छ भन्दा हुन्छ । एउटा फुटबल प्रतियोगिता राम्रोसँग चलाउने हो भने त्यसले पूरा सहरमै कति धेरै फरक पार्न सक्छ, यो राम्रो उदाहरण बनेको छ ।

उदाउँदो र फैलिँदो सहर बिर्तामोडको परिचय बनेको प्रतियोगिताको आयोजक कमिटीका अध्यक्ष विनोद बस्नेत तयारीकै सिलसिलामा काठमाडौंमा भेटिए । केही थाकेको देखिन्थे । प्रतियोगिता सुरु हुन कहिले–कहिले, उनी त्यसकै तयारीमा तीन महिनाभन्दा अगाडिदेखि व्यस्त थिए ।

जति बेला प्रतियोगिता साँच्चै सुरु हुनेछ, त्यति बेला उनलाई आराम मिल्नेछ । उद्योगपति र व्यापारी पनि रहेका बस्नेतलाई खुसी मिल्ने नै भयो, झापा गोल्डकप आफैंमा ब्रान्ड बन्दा । साँच्चै झापा गोल्डकपका धेरै आयाम छन् । झापातिरकै यो सबैभन्दा ठूलो फुटबल प्रतियोगिता त भयो नै । पुरस्कार राशि त धेरै छ नै । त्योभन्दा पनि ठूलो प्रतियोगितामा आम फुटबलप्रेमी जसरी सहभागी हुन्छन्, त्यो अद्वितीय छ । अपार दर्शकको उपस्थिति यसको ठूलै विशेषता हो ।

त्यसै पनि झापा फुटबल खेलाडीका लागि उर्वर भूमि हो । त्यसै त्यसै झापाबाट अहिले पनि फुटबल खेलाडी उत्पादन भइरहेका छन् । एउटा कल्पना गरौं, झापाबाट अझ व्यवस्थित ढंगले खेलाडी उत्पादन गर्न सके कस्तो हुँदो हो ? ‘हो नै । हामी धेरै काम गर्न चाहन्छौं । त्यसमा एउटा झापामै फुटबल एकेडेमी स्थापना गर्नु हो । अझ भन्दा बिर्तामोडलाई फुटबल हब बनाउने सपना छ । त्यसका लागि हामीसँग योजना पनि छन्,’ बस्नेतले भने ।

यसका लागि उनले सामना गरेको सबैभन्दा ठूलो चुनौती हो, भौतिक पूर्वाधार । यो मात्रै तयार हुने हो भने बाँकी काम धेरै गाह्रो नहुने उनी मान्छन् । कोरोना महामारीका बेला सामाजिक अभियन्ताको रूप पनि धारण गरेको बस्नेत युवा समयमा आफैं ठिक्क खेलाडी थिए । वडास्तरीय खेलाडीभन्दा बढी हुन सकेनन् । तर तिनै बस्नेत अहिले झापाको फुटबललाई अझ धेरै व्यवस्थित रूपमा गर्न चाहन्छन् । प्रतियोगिता स्वयंको इतिहास भने लामो छैन ।

झापा गोल्डकपको पहिलो संस्करण भएकै वर्ष ०७४ मा मात्रै हो । त्यसपछि ०७८ सम्म मज्जाले चल्यो । गत वर्ष एकपल्ट भएन, अब भने नियमित गर्ने योजना छ । ‘प्रतियोगिताले अहिले प्रोडक्टको रूप लिएको छ, त्यसैले यसको नियमित सञ्चालनमा कठिनाइ हुने छैन,’ उनी भन्छन् । झापा गोल्डकप आयोजना कमिटीको सुरुआती अध्यक्ष थिए, जेके गुरुङ । पछि होम पाण्डे र महेन्द्र गिरी भए । अहिले तिनै बस्नेत । सुरुदेखि प्रतियोगितालाई लिएर एउटा राम्रो व्यवस्था सुरु गरिएको थियो ।

त्यसको सदस्य बनाउने र तिनले वार्षिक निश्चित रकम तिर्ने । अब त महिला पनि सदस्य हुन सक्छन् । यसले राम्रै रकम जम्मा भएको छ र यसलाई अझ बढाउने योजना छ, बस्नेतको । ‘यो काममा सफल भयौं भने नेतृत्वमा जो जस्तो आए पनि प्रतियोगिता आफैंमा सजिलै सञ्चालन हुनेछ,’ उनी भन्छन् । यसबीच अलगै झापा–११ टिम पनि छ । प्रतियोगिताको यससँगै सिधै सम्बन्ध त छैन तर सहयोग भने गर्छ । धेरैले महसुस गरेको त के हो भने एउटा साह्रै बलियो झापाली टिम पनि त चाहियो ।

‘मूल कुरा हामी झापाली फुटबललाई नै अझ व्यवस्थित र सुदृढ ढंगले अगाडि बढाउन चाहन्छौं । अबको काम यसकै लागि हुनेछ,’ बस्नेतले भने । उनको अर्को एउटा योजना पनि छ, झापाबाट जति पनि फुटबल खेलाडी निस्के, जतिले कुनै न कुनै समय देशको प्रतिनिधित्व गरेर खेले, त्यसको सूची तयार पार्ने । हुन पनि झापाली फुटबलको इतिहास आफैंमा लामो भइसकेको छ । यसमा धेरै जोडिएका छन् । तर को कहाँ छन्, त्यसको ठ्याक्कै विवरण छैन ।

अध्यक्ष बस्नेत यससँग जोडिएका सबै विवरण पनि तयार पार्न हतार मानिरहेका छन् । पुराना खेलाडी को कहाँ छन्, प्रशिक्षकहरूले के कस्तो काम गरिरहेका छन्, आखिरमा तिनीहरूले पुर्‍याएको योगदान पनि त लेखिनुपर्छ । ‘बिर्तामोड सहर आफैंमा व्यावसायिक हब बन्ने प्रयासमा छ । यो फुटबलको पनि हब हो । बिर्तामोडको विकास र विस्तारमा फुटबलले पनि योगदान दिन सक्छ भने कति राम्रो हुनेछ,’ उनले भने । अहिले तत्कालका लागि उनी चाहन्छन्, सबै सहरवासी मिलेर छैटौं गोल्डकपलाई अझ सफल पारौं ।

प्रकाशित : फाल्गुन १९, २०८० ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?