कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रिन्स र प्रफुलको उपाधि भिडन्त

काठमाडौँ — नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुनः एक पटक लि–निङ १३ औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । पुष्पलाल स्मृतिको अघिल्लो संस्करणमा प्रफुललाई पछि पारेका प्रिन्स तेस्रो प्रधानमन्त्री कपमा प्रफुलसँग पराजित भएका थिए

प्रिन्स र प्रफुलको उपाधि भिडन्त

त्यसयता ललितपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको दोस्रो मेयर कप र स्पोर्टस् हबद्वारा आयोजना गरिएको प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्दैर् प्रिन्सले उपाधि जितेका थिए । प्रिन्सले एपीएफकै देवराज रानालाई २१–७, २१–१२ ले र प्रफुलले नेपाल पुलिस क्लबका सुनिल जोशीलाई २१–१४, २१–१३ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको महिला एकलको प्रतिस्पर्धामा ललितपुरकी रसिला महर्जनले नेपाल पुलिस क्लबकी निता लम्साललाई पराजित गर्दै फाइनल प्रवेश गरिन् । रसिलाले निलामाथि २१–१६, २१–१६ को जित निकालिन् । रसिलाले उपाधिका लागि भोजपुरकी नङशल तामाङसँग प्रतिस्पर्धा गर्ने छिन् । नङशलले ११ औं र १२ औं संस्करणकी विजेता आर्मीकी अनुमाया राईलाई २१–१४, २४–२२ ले पराजित गरिन् ।

मास्टर्स ४५ वर्षमाथिको युगल प्रतिस्पर्धामा रिभाइभका शुक्र पाख्रिन र भीमबहादुर थापाको जोडी तथा पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थामसुहाङको जोडी उपाधिका लागि भिड्ने भएका छन् । शुक्र र भीमको जोडीले ललितपुरका मधु गुरुङ र प्रकाश राईको जोडीलाई १०–२१, २१–१६, २१–१८ ले तथा सञ्जय र अनिलको जोडीले पाँचथरका दीपक आङदम्बे र कुश्माका प्रेम गुरुङको जोडीलाई २२–२०, २१–८ ले पराजित गरे ।

मास्टर्स ५५ वर्षमाथिको प्रतिस्पर्धामा पिस फिटनेस सेन्टरका गणेश राई र कर्णबहादुर शाहीको जोडीले फिटनेस पार्कका पूर्ण जोशी र उमेश केसीको जोडीलाई २१–१९, २६–२४ ले पराजित गर्दै उपाधिका लागि गुल्मीका राम गुरुङ र खगेन्द्र रेग्मीको जोडीसँगको भेट पक्का गरेका छन् । गुरुङ र राईको जोडीले ललितपुरका दिल कन्दङवा र एपीएफका प्रेम श्रेष्ठको जोडीलाई २०–२२, २१–१८, २१–७ ले पराजित गरे ।

प्रिन्सलाई मोटरसाइकलले प्रदान गर्ने

राष्ट्रिय ब्याडमिन्टन संघले आफ्नो पूर्वघोषणाअनुरूप नेपालका नम्बर एक खेलाडी एवं पूर्वविश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई मोटरसाइकल प्रदान गरेरले सम्मान गर्ने भएको छ । १३ औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम दिन शनिबार प्रिन्सलाई सम्मान गर्न लागिएको हो ।

संघले पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणको विजेतालाई मोटरसाइकलले सम्मान गर्ने घोषणाअनुरूप यसपटक प्रिन्सलाई सम्मान गर्न लागेको हो । प्रिन्स पुष्पलाल स्मृति ब्याडमिन्टनको १०औं, ११औं र १२औं संस्करणका विजेता हुन् । यसअघि यो सम्मानबाट रत्नजित तामाङ र नङशलदेवी तामाङ सम्मानित भइसकेका छन् ।

प्रकाशित : फाल्गुन १८, २०८० २३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?