१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

चैत तेस्रो साता स्पोर्ट्स कनेक्ट हुने

काठमाडौँ — नेपाल ओलम्पिक कमिटीसहित विभिन्न खेलका संगठन र संस्थाबीच नेटवर्किङ र समन्वय गर्ने हिसाबले स्पोर्ट्स कनेक्ट कार्यक्रम हुने भएको छ । माइस इन्टरनेसनल प्रालि र नेपाल ई–स्पोर्ट्स एसोसिएसन (नेसा) ले चैत २२ देखि २४ सम्म संयुक्त रूपमा आयोजना गर्ने स्पोर्ट्स कनेक्टमा विभिन्न तीन कार्यक्रम हुनेछ ।

चैत तेस्रो साता स्पोर्ट्स कनेक्ट हुने

नेपाल ई–स्पोर्टस च्याम्पियनसिप तथा एक्स्पो, स्पोर्ट्स एन्ड फिटनेस एक्स्पो र नेपाल स्पोर्ट्स कन्क्लेभ हुने माइसका प्रबन्ध निर्देशक दीपक थापाले बताए । ई–स्पोर्टस च्याम्पियनसिपको यो चौथो संस्करण हो । ई–स्पोर्ट्समा डोटा २, काउन्टर स्ट्राइक २, पब्जी मोबाइल, एमएलबीबी ओपन, एमएलबीबी वुमेन र ई–फुटबल खेलाडी तथा टिममा प्रतिस्पर्धा हुनेछ ।

यो च्याम्पियनसिप इन्टरनेसनल ई–स्पोर्ट्स फेडेरेसन (आईईएसएफ) ले साउदी अरेबियामा नोभेम्बर ११ देखि १९ सम्म आयोजना गर्ने विश्व ई–स्पोर्ट्स च्याम्पियनसिपका लागि छनोटको रूपमा रहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा अझै दर्ता हुन नसकेको ई–स्पोर्ट्सले ५ महिनाअघि चीनमा १९ औं एसियाली खेलकुदमा सहभागिता जनाएको थियो ।

नेपालको खेलकुद, ई–स्पोर्ट्स र फिटेनस उद्योगका लागि स्पोर्ट्स एन्ड फिटनेस एक्स्पो आकर्षणको केन्द्रविन्दु हुने आयोजकको विश्वास छ । खेल सामग्री उत्पादक तथा व्यापारिक कम्पनी, खेल प्रतिष्ठान, क्लब, प्रतियोगिता, च्याम्पियनसिप, खेल संघ, शैक्षिक संस्था, आर्थिक प्रविधि, इन्टरनेट सेवा प्रदायक, ई–स्पोर्टसका डिभाइस तथा सेवा प्रदायक, स्पोर्टस एस्सेरिज र सर्भिस प्रदायक कम्पनी तथा संस्थाले आ–आफ्नो उत्पादन तथा सेवा प्रदर्शनीमा राख्ने माइसले जनाएको छ ।

नेपाल ओलम्पिक कमिटीसँगको समन्वयमा ‘नेपाल स्पोर्ट्स कन्क्लेभ’ आयोजना हुनेछ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले कन्क्लेभका लागि विदेशी प्रतिनिधिसँग पनि छलफल भइरहेको जनाए । कान्तिपुर टेलिभिजनको केटीभी म्याक्सले कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नेछ । केटीभीका प्रमुख कार्यकारी प्रोड्युसर सुरजसिंह ठकुरीले ई–स्पोर्ट्स युवाहरूको ढुकुढुकी रहेकाले यसको प्रत्यक्ष प्रसारणमा निकै उत्सुकता रहेको बताए ।

प्रकाशित : फाल्गुन १७, २०८० १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?