कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेदरल्यान्ड्समाथि नामिबियाको पहिलो जित

काठमाडौँ — नामिबियाले क्रिकेट विश्वकप लिग २ शृंखलामा शुक्रबार नेदरल्यान्ड्सलाई २४ रनले स्तब्ध पारेको छ । यससँगै नामिबियाले २०२४–२७ लिग २ साइकलको निकै कठिन मानिएको पहिलो शृंखलामा ३ खेल जितेको छ ।

नेदरल्यान्ड्समाथि नामिबियाको पहिलो जित

वर्षाले मैदान भिजेका कारण ४५ ओभरमा छोट्याइएको खेलमा नामिबियाले ४१.३ ओभरमा २ सय ३ रन बनाएर अलआउट भयो । जारी शृंखलामा पहिलो ब्याटिङ गरेको टोलीले सबैभन्दा बढी ओभर खेल्दै सबैभन्दा बढी रन बनाएको हो । जबाफमा आएको नेदरल्यान्ड्सलाई ४३.५ ओभरमा १ सय ७९ रनमा अलआउट गर्‍यो । लिग २ का यसअघिका चारै खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले हार बेहोर्दै आएको थियो । नामिबियाले त्यो क्रमलाई तोड्दै नेदरल्यान्ड्समाथि एकदिवसीय अन्तर्राष्ट्रियमै पहिलो विजय हात पारेको हो । नामिबियाले यसपटक नेपालविरुद्धको दुवै खेल जितेको थियो । एउटा खेलमा नेदरल्यान्ड्सले नामिबियालाई पराजित गरेको थियो ।

‘डेब्यू’ गरिरहेका मालन क्रुगरले ३९, यान फ्रिलिन्कले ३४, यान निकोल लफ्टी इटोनले ४३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाएका थिए । जेन ग्रिनले २० बलमा २ चौका र १ छक्कासहित २२ रन बनाए भने रुबेन ट्रम्पलमन २६ बलमा ३ चौका प्रहार गरी २३ रन बनाई अविजित रहे । नेदरल्यान्ड्सका भिभियन किङ्माले ६.३ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ३, आर्यन दत्त र रोइल्फ भान मर्बीले २–२ विकेट लिए ।

माइकल लेभिटलाई पहिलो ओभरमै गुमाएको नेदरल्यान्ड्सले खुलेर खेले पनि ठूलो साझेदारी गर्नु अघि महत्त्वपूर्ण विकेट गुमाइरहेको थियो । अर्का ओपनर म्याक्स ओ डडले ४१, बास डे लिडले २४ रन बनाए । कप्तान स्कट इडवार्डस ४ रनमै आउट भए । नोह क्रोजले ५६ बल खेल्दै ३ चौकासहित अविजित ४६ रन बनाए पनि डच टोलीलाई जिताउन सकेनन् । नेदरल्यान्ड्सले अन्तिम ३ विकेट ८ बल अन्तरमा गुमाएको थियो ।

फ्रिलिन्कले अन्तिम दुई विकेट एकै ओभरमा लिए । प्लेयर अफ द म्याच उनले ५.५ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । कप्तान जेराहर्ड इरासमसले ९ ओभरमा ३३ रन खर्चेर ३ र बर्नान्ड स्कोल्ट्जले ९ ओभरमा ३ मेडन राख्दै १५ रनमात्र खर्चेर २ विकेट लिए । यसअघि नेपाल दुई पटक आउँदा सबै ६ खेलमा पराजय बेहोरेको नामिबियाले यसपालि ४ मध्ये ३ खेल जितेको हो । शृंखलाको अन्तिम खेल आइतबार नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ ।

प्रकाशित : फाल्गुन १२, २०८० ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?