१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सूर्य नेपाल वेस्टर्न ओपन : कोर्स रेकर्डसहित भुवन शीर्षमै

काठमाडौँ — पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्डसहित शीर्षस्थानमा कायमै छन् ।

सूर्य नेपाल वेस्टर्न ओपन : कोर्स रेकर्डसहित भुवन शीर्षमै

पोखरास्थित पार–६९ को हिमालयन गल्फ कोर्समा बिहीबार ७ अन्डर ६२ को रेकर्डसहित भुवनले ३६ होल समाप्तिमा १० अन्डर १ सय २८ को उत्कृष्ट प्रदर्शन गरे । उनले सन् २०१७ मा शिवराम श्रेष्ठले राखेको ६ अन्डर ६३ को रेकर्ड उछिनेका हुन् ।

भुवनले रवि खड्का र एमेच्योर गल्फर सदभाव आचार्यमाथि ११ स्ट्रोकको अग्रता बनाएर उपाधि जितको सम्भावना बलियो पारे । समग्रमा १ ओभर १ सय ३९ स्कोर नतिजामा रवि र राष्ट्रिय गल्फ टिमका सदस्य सदभाव संयुक्त दोस्रो स्थानमा रहे । रविले १ ओभर ७० र सदभावले ३ ओभर ७२ मा दिनको खेल टुंग्याए ।

समग्रमा ४ ओभर १ सय ४२ सहित धरानका प्रो नीरज तामाङ चौथो स्थानमा रहे । उनले ४ ओभर ७३ को कार्ड बनाए । प्रदीपकुमार लामा र दीपक मगरले समग्रमा ६ ओभर १ सय ४४ को नतिजामा पाँचौं स्थान बाँडे । प्रदीपले इभन–पार ६९ र दीपकले ३ ओभर ७२ मा बिहीबारको खेल पूरा गरे ।

जयराम श्रेष्ठ, शिवराम पौडेल, दलबहादुर लामा, बलभद्र राई र एमेच्योर सुन्दर राई समग्रमा ७ ओभर १ सय ४५ सहित संयुक्त सातौं स्थानमा रहे । जयरामले १ अन्डर ६८, शिवराम पौडेलले २ ओभर ७१, दलबहादुरले ३ ओभर ७२ तथा बलभद्र र सुन्दरले ४ ओभर ७३ स्कोर गरे ।

भूबहादुर गुरुङ, भुवनकुमार रोक्का, पशुपति शर्मा, सन्जय लामा, दिनेश प्रजापति, युवराज भुजेल, टंकबहादुर कार्की, सूर्य प्रसाद शर्मा, कृष्णमान राजबाहक, रामे मगर, सञ्जीवबहादुर नेपाली, धनबहादुर थापा तथा एमेच्योर प्रज्वल गुरुङ र सुरेश तामाङले कट बनाएका छन् ।

३६ होलको समाप्तिमा १४ ओभर १ सय ५२ स्कोर गरेका २१ प्रोफेसनल र ४ एमेच्योर खेलाडीले कट बनाएका हुन् । ५४ होलको तीन दिने प्रतियोगिताको अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ ।

एसिया क्षेत्रकै कठिनमध्ये एक मानिएको हिमालयन गल्फ कोर्समा भुवनले बोगीरहित कार्ड बनाउने क्रममा सात बर्डी प्रहार गरे । पहिलो, चौथो र नवौं होलमा १–१ शट बचाउँदा फ्रन्ट नाइन ३ अन्डर ३१ मा पूरा गरे । यही लयलाई निरन्तरता दिँदै उनले ११, १४, १५ र १८ औं होलमा बर्डीको सफलता पाउँदै ब्याकनाइन ४ अन्डर ३१ मा टुंग्याए ।

लोभलाग्दो प्रदर्शन गरेका भुवन करियरको ११ औं उपाधि नजिक पुगेका छन् । २०२२ को डिसेम्बरमा सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेपछि भुवन उपाधिविहीन छन् । कुल ८ लाख ४० हजार नगद पुरस्कार राशिको प्रतियोगिता विजेताले १ लाख ४० हजार, दोस्रोले ९६ हजार र तेस्रो हुनेले ७२ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : फाल्गुन १०, २०८० २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?