कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मछिन्द्र क्लबले जित्यो वाग्मती गोल्डकप

प्रताप विष्ट

हेटौडा — मकवानपुरको वाग्मती गाउँपालिकामा भएको छैठौं संस्करणको वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । वाग्मती गाउँपालिका–८ स्थित जनता माविको खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) लाई ४–० गोलले हराउँदै मछिन्द्रले उपाधि जितेको हो ।

मछिन्द्र क्लबले जित्यो वाग्मती गोल्डकप

मछिन्द्रको जीतमा विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले एकल दुई गोल गरे ।

खेलको १४ औं मिनेटमा करिमले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै चिजोवाले खेलको दोस्रो हाफको १२ औं मिनेटमा र १८ औं मिनेटमा गोल गरे । मछिन्द्रले एक गोल आत्मघाती उपहार पाएको हो । खेलको दोस्रो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी स्टेफेन समीरको प्रहार एपीएफका डिफेन्डर कुलदीप कार्कीले आत्मघाती गोल गर्न पुगे ।

उपाधि हात पारेको मछिन्द्रले १० लाख रुपैयासहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टिमले ५ लाख रुपैयाँमा चित्त बुझाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका उत्सव राई घोषित भए । उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी उत्कृष्ट गोलरक्षक मछिन्द्रका प्रदीप भण्डारी, डिफेन्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर विशाल तामाङ, फरवार्ड मछिन्द्रका हिसुव थपलिया र प्रशिक्षक मछिन्द्रका सन्तोष न्यौपाने घोषित भए । विधागत उत्कृष्ट सबैले २५–२५ हजार रुपैयाँ हात पारे ।

प्रतियोगिताको अवसरमा आयोजकले समृद्ध समाज राष्ट्रिय दैनिकका सञ्चारकर्मी रविन्द्र वाईबालाई उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो । वाग्मती गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठको सभाध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रममा वाग्मती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी नेपाल खेलकुद महासंघका सचीव किरण राई र वाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलान,अखिल नेपाल फुटबल संघका अध्यक्ष टिका लामाले पुरस्कार वितरण गरेका थिए ।

फागुन १ गतेदेखि संचालित उक्त प्रतियोगितामा १० वटा टिमले भाग लिएका थिए ।

प्रकाशित : फाल्गुन १०, २०८० २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?