धनगढी — धनगढीमा सञ्चालन भएको दोस्रो संस्करणको श्री कलेज धनगढी कप फुटबल प्रतियोगिताको उपाधि कैलाली अत्तरियाको होलील्यान्ड एकेडेमीले जितेको छ ।
धनगढी रंगशालामा बिहीबार भएको फाइनल खेलमा होलील्यान्डले सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)लाई १-० गोलले हराउँदै प्रतियोगिताको च्याम्पियन बनेको हो । जितसॅंगै होलील्यान्डले ५० हजार राशिको नगद पुरस्कार तथा उपविजेता सुदूरपश्चिमाञ्चल एकेडेमीले २५ हजार पुरस्कार प्राप्त गर्यो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा रह्यो । दोस्रो हाफमा होलील्यान्डका कप्तान मिलन बोहरा गोल गर्न सफल भए । बोहराकै गोल होलील्यान्डलाई उपाधि जिताउन निर्णायक बन्यो । खेल बराबरीमा ल्याउन सुदूरपञ्चिमाञ्चल एकेडेमीले निकै प्रयास गरे पनि सफल हुन सकेन । फाइनलको प्लेयर अफ द म्याच विजयी टिम होलील्यान्डका कप्तान मिलन बोहरा घोषित भए । उत्कृष्ट खेलाडी सुदूरपश्चिमाञ्चल एकेडेमीका सन्दिप सिंह घोषित भए । उत्कृष्ट गोलरक्षक होलील्यान्डकै ओम कामी र उदयमान खेलाडी लिटल फ्लावर बोर्डिङ स्कुलका सफल तामाङ घोषित भए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २ हजार तथा अन्य उत्कृष्ट खेलाडीलाई १/१ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
फागुन ६ गतेदेखि सुरु भएको प्रतियोगितामा कैलाली जिल्लाका १० विद्यालयका टिम सहभागी थिए । श्री कलेज व्यवस्थापन मुख्य प्रायोजक रहेको प्रतियोगिता आगामी वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्ने र सकभर प्रदेश स्तरीयरुपमा अघि बढाउने आयोजक लिटल फ्लावर स्पोर्ट्स क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए ।
प्रकाशित : फाल्गुन १०, २०८० २०:४८