१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

नेपालको तयारीबाट क्यानडा लिग २ लाई तयार

विनोद पाण्डे

काठमाडौँ — क्यानडा क्रिकेटका प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो टोली क्रिकेट विश्वकप लिग २ का लागि तयार भएको बताएका छन् ।

नेपालको तयारीबाट क्यानडा लिग २ लाई तयार

नेपाल ‘ए’ विरुद्ध बिहीबार क्यानडा ११ ले मूलपानी क्रिकेट मैदानमा भएको खेलमा ४ विकेटको विजय हात पार्दै तीन खेलको शृंखलामा २–१ ले कब्जा जमायो ।

‘यो शृंखला जित्नुभन्दा पनि आफूहरूले बनाएको योजना मैदानमा उतार्न सकेकोमा खुसी छौं,’ दासानायकेले भने, ‘सबै हिसाबले हेर्दा राम्रो तयारी भयो । जाडोबाट खेल्न आएका थियौं, त्यसैले सुरुमा केही गाह्रो भयो । अहिले हामी सही दिशामा गइरहेका छौं । यो अवसरका लागि नेपाल क्रिकेट संघलाई धन्यबाद दिन चाहान्छु । हामीले यो अवसरको सही उपयोग गरेका छौं ।’

नेपालमा झन्डै तीन साता तयारी गरेपछि क्यानडाले बुधबारदेखि यूएईमा सुरु हुने लिग २ मा आफ्नो पहिलो शृंखला खेल्नेछ । ८ वर्षपछि आईसीसी एसोसिएटको प्रमुख प्रतियोगितामा फर्किएको क्यानडाले दुबईमा हुने लिग २ मा यूएई र स्कटल्यान्डविरुद्ध २–२ खेल खेल्नेछ । बुधबार यूएईविरुद्ध खेलेर क्यानडाले लिग २ को सुरुआत गर्नेछ ।

झन्डै तीन साता काठमाडौं बसाइका क्रममा क्यानडाले नेपाली राष्ट्रिय टोलीसँग ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला खेलेको थियो । तीनै खेलमा क्यानडा पराजित रहे पनि नेपालमा खेलिएको ६ खेलले लिग २ का लागि आफ्नो टोली तयार बनाउन पर्याप्त मौका दिएको दासानायकेले बताए । नेपाली राष्ट्रिय टोलीविरुद्ध क्यानडाले पहिलो खेलमा ठूलो चुनौती तेर्स्याए पनि त्यसपछिका दुई खेलमा खासै प्रभावकारी हुन सकेको थिएन ।

चोटमुक्त हुनेक्रममा रहेका क्यानडाका तीब्र गतिका बलर कलिम सानाले बिहीबार पहिलो पटक खेलेका थिए । ७ ओभर बलिङ गरेका उनले रशिद खानको विकेट लिएका थिए । ‘साना मैदानमा फर्किए, त्यसमा हामी खुसी छौं, तर उनी अझै फिट भएका छैनन्,’ दासानायकेले भने, ‘उनलाई हामीले मुख्य खेलका लागि तयार पारिरहेका छौं । दुबईको विकेट यहाँको भन्दा तीव्र हुने हुनाले हामीलाई उनको धेरै खाँचो रहेको छ । २–३ जना ब्याटर चोटबाट अझै तंग्रिनसकेकाले आज खेलाएका थिएनौं ।’


निकोलस किर्तनले अविजित ५८ रन बनाएपछि क्यानडाले १ सय ८२ रनको लक्ष्य ३८.५ ओभरमा पूरा गरेको थियो । प्लेयर अफ द म्याच उनले ७९ बल खेल्दै ६ चौका प्रहार गरे । नभनीत धालिवालले मध्यक्रममा ४५ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाए । ओपनर आरोन जोन्सनले ३१ बल खेलेर २ चौका र ४ छक्काको मदतमा ४२ रन बनाएका थिए ।

नेपालबाट शाहब आलमले ४ विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चे । अर्का देव्रेहाते स्पिनर सागर ढकाल र बसिर अहमदले १–१ विकेट लिए । शाहब र सागर नेपाली राष्ट्रिय टोलीको प्रमुख बलरभन्दा फरक नरहेको दासानायकेले बताए । दुई वर्षअघि दासानायके दोस्रो पटक नेपालको प्रशिक्षक भएर आउँदा शाहबले नेपाली राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए भने सागरले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । शाहबले क्यानडा ११ सँगको तीन खेलको शृंखलामा ९ विकेट लिए । सागरले पहिलो दुई खेलमा १–१ विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङका लागि बोलाइएको नेपाल ‘ए’ ४७ ओभर खेल्दै १ सय ८१ रनमा अलआउट भयो । ओपनर आशुतोष घिरोइयाले सर्वाधिक २८ रन बनाए । उनले ४३ बल खेल्दै ५ चौका प्रहार गरे । अर्का ओपनर अर्जुन कुमालले ५३ बलमा २ चौकासहित २७ रन बनाए । शेर मल्ल शून्यमा आउट भए ।

कप्तान सन्दीप जोरा २४, सुजन थपलिया २०, रशिद खान १९, बसिर अहमद २५, प्रतिष जिसी १९ र हेमन्त धामी ६ रनमा आउट भए । क्यानडाबाट किर्तन, डिल्लोन हेलिगर र हर्ष ठाकेरले २–२ विकेट लिएका थिए ।

प्रकाशित : फाल्गुन १०, २०८० २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?