२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नामिबियासँग नेपालको लगातार दोस्रो हार

काठमाडौँ — कप्तान जेराहर्ड इरासमसको अलराउन्ड प्रर्दशनमा नामिबियाले क्रिकेट विश्वकप लिग-२ शृंखलामा बिहीबार नेपाललाई २ विकेटले पराजित गरेको छ । नामिबियाले यस शृंखलाको पहिलो खेलमा पनि नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

नामिबियासँग नेपालको लगातार दोस्रो हार

नेपालले ३ खेलमा १ मा मात्र विजय हात पार्न सकेको छ । नामिबियाको ३ खेलमा यो दोस्रो विजय हो । इरासमसले ५२ रन बनाएपछि नामिबियाले १ सय ६९ रनको लक्ष्य ४० ओभरमा १ सय ७२ रन बनाउदै पुरा गर्‍यो । नयाँ आएका ब्याटर बर्नान्ड स्कोल्ट्जले २ चौका प्रहार गर्दै नामिबियालाई जित दिलाए । अर्का अविजित ब्याटर जेजे स्मिटले ६६ बल खेलेर १ चौका र २ छक्कासहित ३४ रन बनाए ।

नेपालले दोस्रो ओभरमै निकोलास डेभिनलाई ८ रनमा रनआउट गरी राम्रो सुरुवात गरेको थियो । पाँचौं ओभरमा कप्तान रोहित पौडेलले आफ्नो पहिलो बलमै जेपी कोट्जेलाई ३ रनमा बोल्ड गरे । माइकल भान लिङ्गेन र कप्तान जेरार्ड इरासमसले तेस्रो विकेटमा ५२ रनको साझेदारी गरे । भान लिङ्गेनलाई कुशल मल्लले आसिफ शेखबाट स्टम्प आउट गराए । उनले ३४ बल खेल्दा ४ चौका र २ छक्का प्रहार गरी ३१ रन बनाए ।

त्यसपछि आएका जेन फ्राइलिन्कलाई दीपेन्द्रसिंह ऐरीले ४ रनमा एलबीडब्लु आउट गरे । भुर्तेलले पनि आफ्नो पहिलो ओभरमै विकेट लिए । उनले इरासमसलाई मिडविकेटमा करण केसीबाट क्याच गराई नेपाललाई महत्वपूर्ण विकेट दिलाएका थिए । आफ्नो १३ औं अर्धशतक बनाएका इरासमसले ५६ बल खेली ८ चौका र २ छक्का प्रहार गरे ।

निकोल लफ्टी इटोनलाई भुर्तेलले ५ रनमा आउट गरे । जेन ग्रिनलाई ललित राजवंशीले ६ रनमा बोल्ड गरे । जेजे स्मिट र रुबेन ट्रम्पलमनले आठौं विकेटमा २८ रनको महत्वपूर्ण साझेदारी गरी नामिबियालाई विजयको बाटो देखाए । ट्रम्पलमनले १२ बल खेल्दा २ चौका र १ छक्का प्रहार गरी १६ रनमा आउट भए । उनी भुर्तेलको तेस्रो शिकार भए ।

यसअघि नामिबियाले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खराब ब्याटिङ गर्दै ३७.१ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो ।

कुशल भुर्तेल र आसिफ शेखले ६ ओभरमा ३८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर सातौं ओभरमा बर्नान्ड स्कोल्ट्जले डबल विकेट मेडन गर्नेक्रममा भुर्तेल र अनिल शाहलाई आउट गरे । भुर्तेल १६ बल खेल्दा ३ चौका प्रहार गरी १८ रन बनाई एलबीडब्लु आउट भए । अनिल दोस्रो बलमा डक आउट भए ।

जेक ब्रसेलले देव खनाललाई पनि डक आउट गराए । देव ५ बल खेल्दा विकेटकिपरलाई क्याच दिन पुगे । आसिफ र कुशल मल्लले चौँथो विकेटमा ५७ रनको साझेदारी गरे । स्कोल्ट्जले आसिफलाई पनि ५८ रनमा एलबीडब्लु आउट गरे । आसिफको यो लगातार दोस्रो अर्धशतक हो । आसिफले ६४ बल खेल्दा ८ चौका र १ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको १२ औं अर्धशतक हो ।

नेपाली इनिङ्समा शुन्यमा आउट हुने रोहित पौडेल तेस्रो खेलाडी रहे । कप्तान रोहित खाता खोल्नु अघि नै हान्ने चक्करमा आउट भए । त्यसपछि मल्लले पनि धैर्यता गुमाउन पुगे । स्विप गर्ने चक्करमा मल्लले शर्ट फाइन लेगमा क्याच दिन पुगे । छक्का प्रहार गर्दै उनले खाता खोलेका थिए । मल्लले कुल ५२ बल खेली १ चौका र ३ छक्का प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरी ६ र सोमपाल कामी ४ रनमा आउट भए । भिम सार्कीलाई बोल्ड गर्दै स्कोल्ट्जले चौथो विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ३१ रन खर्चे । अर्का स्पिनर निकोल लफ्टी इटोनले पनि ४ विकेट लिए । उनले ६.१ ओभरमा ३४ रन खर्चे । ब्रसेल र कप्तान जेराहर्ड इरासमसले १,१ विकेट लिए ।

आउट हुने अन्तिम खेलाडी करण केसी थिए । गुलशन झाको स्थानमा खेलेका उनले १ चौका र १ छक्का प्रहार गर्दै १२ बलमा १२ रन बनाए ।

नामिबियासॅगको पहिलो खेलमा पहिला ब्याटिङ गरेको नेपाल १ सय ३२ रनमा अलआउट हुदैं ४ विकेटको पराजय बेहोरेको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको प्रभावशाली विजय हात पारेको थियो ।

प्रकाशित : फाल्गुन ९, २०८० १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?