कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेपाल ‘ए’ सँग क्यानडा पराजित

सन्दीप जोरा र बसिर अहमदको अर्धशतक, नेपालको रोमाञ्चक जितपछि शृंखला बराबरी

काठमाडौँ — कप्तान सन्दीप जोरा र बसिर अहमदको अर्धशतकपछि नेपाल ‘ए’ ले क्यानडा ११ विरुद्धको दोस्रो एकदिवसीय खेलमा २ विकेटको रोमाञ्चक जित हात पारी तीन खेलको शृंखला १–१ को बराबरीमा ल्याएको छ । 

नेपाल ‘ए’ सँग क्यानडा पराजित

विनोद भण्डारीको स्थानमा नेतृत्व गरिरहेका जोराले ६६ र बसिरले अविजित ५२ रन बनाएपछि नेपाल ‘ए’ ले २ सय ४१ रनको लक्ष्य ४९.५ ओभरमा पूरा गरेको थियो । क्यानडाले पहिलो खेल आइतबार ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो ।

मूलपानी क्रिकेट मैदानमा नेपालको सुरुआत राम्रो थिएन । मायन यादव इनिङ्सको पहिलो बलमै आउट भए । तेस्रो नम्बरमा पठाइएका शेर मल्लले पनि ७ रनमात्र बनाउन सके । अर्जुन कुमाल र जोराले तेस्रो विकेटमा १ सय ४ रनको साझेदारी गरे । अर्जुनले ६४ बल खेल्दै ३ चौकासहित ४० रन बनाए ।

अर्जुन र जोरा ३ बल अन्तरमा आउट भए । जोराले ७४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । किरण ठगुन्ना १३ रनमा आउट भएपछि बसिर र रशिद खानले छैटौं विकेटमा ७७ रनको साझेदारी गरे । रशिदले ५१ बलमा ३ चौका र २ छक्कासहित ४७ रन बनाए । विवेक यादव १, शाहब आलम शून्यमा आउट भए पनि बसिरले विजयी रन बटुले । उनले ७३ बलको इनिङ्समा ४ चौका र १ छक्का प्रहार गरे ।

क्यानडाले यसअघि पहिला ब्याटिङ गर्दै २ सय ४० रनमा अलआउट हुनुपूर्व ४९.५ ओभर खेलेको थियो । आरोन जोन्सन र श्रीमान्था विजयरत्नेले १२ ओभरभित्र ६४ रन जोडेर क्यानडालाई राम्रो सुरुआत दिलाएका थिए । जोन्सनले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३६, विजयरत्नेले ५७ बलमा ६ चौका प्रहार गरी ४१ रन बनाए ।

निकोलास किर्तन ७, हर्ष ठाकेर ८ रनमा आउट भए । नभनीत धालिवालले ६० बलमा ६ चौका र १ छक्कासहित ४६ र श्रेयस मोभ्भाले ८२ बल खेल्दै ५ चौकासहित ६८ रन बनाए । डिलोन हेलिगरले १६ रन जोडे । नेपालबाट शाहबले ३ विकेट लिए । उनले १० ओभरमा ३८ रनमात्र खर्चे । रशिदले ५.५ ओभरमा ३४ र शेर मल्लले १० ओभरमा ३९ रन खर्चेर २–२ तथा सागर ढकाल र बसिरले १–१ विकेट लिए । यी दुई टोलीबीच तेस्रो खेल बिहीबार हुनेछ ।

प्रकाशित : फाल्गुन ९, २०८० ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?