२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

छैटौं बुटवल ओपन टेनिस अर्को सातादेखि

भैरहवा — बुटवलमा सञ्चालन हुँदै आएको राष्ट्रिय स्तरको लनटेनिस प्रतियोगिताको तयारी तीव्र पारिएको छ । यस वर्ष फागुन १५ देखि १९ गतेसम्म छैटौं बुटवल ओपन तथा दोस्रो मेयर कप सञ्चालन हुँदैछ । अहिले प्रतियोगिता सञ्चालनका लागि मैदानलाई तयारी अवस्थामा राखिएको छ । 

छैटौं बुटवल ओपन टेनिस अर्को सातादेखि

रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीका अनुसार विभिन्न उमेर समूहमा सञ्चालन हुने प्रतियोगिताका लागि बुटवलको देवीनगरस्थित लनटेनिस भिलेजमा रहेका दुईवटा अन्तर्राष्ट्रिय र दुईवटा राष्ट्रिय कोर्टलाई खेल सञ्चालनका लागि तयार गरिएको छ । यसबाहेक प्रतियोगिता सञ्चालनका लागि आवश्यक मुलुकका विभिन्न स्थानबाट सहभागी आमन्त्रित गरिएको छ । प्रतियोगितामा सहभागिता जनाउन विभिन्न उमेर समूहका खेलाडीले नाम दर्ता गराइरहेको अध्यक्ष ज्ञवालीले बताए ।

प्रतियोगिता संयोजक सागर थापाले यसपटक विभिन्न स्पर्धामा सहभागिताका लागि भारत र भुटानका खेलाडीलाई समेत निम्ता गरिएको छ । एक/दुई दिनमा खेलाडीको टुंगो लागिसक्ने उनले बताए । काठमाडौंबाहिर पोखरापछि बुटवलमा राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुँदै आएको छ । यहाँका खेलाडीले आफ्नै खर्चमा २०७५ सालबाट बुटवल ओपनको सुरुवात गरेका थिए । दुई वर्षयता बुटवल उपमहानगरले प्रतियोगिताका लागि बजेट विनियोजन गरिरहेको छ । गत वर्ष चार लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

यसपटक उपमहानगरले प्रतियोगिताका लागि आठ लाख रुपैयाँ विनियोजन गरेको संघका अध्यक्ष ज्ञवालीले बताए । यसबाहेक प्रतियोगिता सञ्चालनका लागि आवश्यक खर्च खेलाडी र दाताबाट संकलन गरिएको उनले बताए । प्रतियोगिता नियमित सञ्चालन हुन थालेपछि जिल्लामा टेनिसका खेलाडी उत्पादन हुनुका साथै खेलप्रेमीको समेत चासो बढेको उनले बताए ।

प्रकाशित : फाल्गुन ९, २०८० ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?