१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

पुलिसलाई हराउँदै एभीएम च्याम्पियन

काठमाडौँ — एभीएम टेबलटेनिस क्लबले शनिबार स्ट्याग ग्लोबल टेबलटेनिस लिगमा च्याम्पियन ट्रफी जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एभीएमले नेपाल पुलिस क्लबलाई ८–६ ले पराजित गर्दै उपाधि जित्यो ।

पुलिसलाई हराउँदै एभीएम च्याम्पियन

विदेशी खेलाडी सहभागी गराएर नेपालमा पहिलोपल्ट आयोजित टेबलटेनिस लिगमा एभीएम च्याम्पियन बनेको हो । एभीएम टोलीबाट रुविन महर्जन, सुजन गडाल, सन्जिल शाक्य, अंकुर भट्टाचार्य (भारत), कौशनी नाथ (भारत), सिक्का सुवाल श्रेष्ठ, इभाना थापा मगर र वियन्का राई थिए ।

पुलिस टोलीमा संयोग कपाली, विपुल महर्जन, निम जोशी, जुविन कुमार (भारत), नविता श्रेष्ठ, शुभश्री श्रेष्ठ, रविना महर्जन र सागरिका मुखर्जी (भारत) थिए ।

प्रतियोगितामा हरेक टोलीले अर्को टोलीविरुद्ध २–२ पुरुष/महिला सिंगल्स र एक मिक्स डबल्स खेल्नुपर्ने थियो ।

पहिलो पुरुष सिंगल्समा एभीएमका अंकुरले प्रहरीका संयोगलाई ११–५, ११–७, ११–६ ले पराजित गरी ३ अंक बटुले । महिला पहिलो सिंगल्स दुई भारतीय खेलाडीबीच भयो ।सागरिकाले एभीएमकी कौसनीलाई ११–९, ११–८, १०–११ हराउँदै पुलिसका २ अंक जोडिन् । दोस्रो सिंगल्सको समाप्तिमा एभीएमले ४–२ को अग्रता बनाएको थियो । प्रत्येक सेट जितका लागि टोली १ अंक पाउँथे ।

मिक्स डबल्समा एभीएमका अंकुर र सिक्काको जोडीले पुलिसका संयोग र सागरिकाको जोडीलाई ११–८, ३–११, ११–८ ले हराए । मिक्स डबल्सको समाप्तिमा एभीएम ६–३ ले अघि रह्यो । समग्रमा तेस्रो र दोस्रो पुरुष सिंगल्समा पुलिसका जुविनले एभीएमका रुविनलाई ११–९, ११–५, ११–७ ले हराउँदै ३ अंक जोडेर खेल ६–६ को बराबरीमा पुर्‍याए । निर्णायक महिला सिंगल्समा एभीएमकी इभाना थापा मगरले नौपल्टकी राष्ट्रिय च्याम्पियन पुलिसकी नवीतालाई ११–९, ११–८ ले स्तब्ध पार्दै एभीएमलाई उपाधि दिलाइन् । यदि नवीताले दोस्रो सेट जितेको भए खेल ७–७ को बराबरी स्थितिमा हुन्थ्यो र खेल तेस्रो सेटतर्फ लम्कने थियो । इभानाले एभीएमबाट ८ अंक जोडेपछि तेस्रो सेट खेलाउनुपरेन ।

विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पाए । तेस्रो भएका आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र कान्तिपुर भ्याली पिङपोङ क्लबले ५०–५० हजार पुरस्कार पाए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघ तदर्थ समितिका संयोजक चतुरानन्द राज वैद्य र उप–संयोजक वृजेन्द्र हमाल, टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक आरआर जोशी, सह–प्रायोजक सुमन खड्गीलगायलते पुरस्कृत गरे ।

प्रकाशित : मंसिर २३, २०८० २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?