९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

एलपीएल  क्रिकेट : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

चित्रांग थापा

धनगढी — धनगढीको फाप्ला  क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)  को आठौं संस्करण अन्तर्गत पाँचौं दिन बिहीबार सम्पन्न  खेलमा युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन् ।

एलपीएल  क्रिकेट : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

युथ अफ टिकापुरले शारदा सेकेण्डरी स्कुललाई तथा सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई पराजित गर्‍यो

बिहीबारको पहिलो खेलमा युथ अफ टिकापुरले विजयी सुरुवात गर्ने क्रममा शारदा सेकेण्डरी स्कुललाई ९४ रनले पराजित गर्‍यो ।

टिकापुरले दिएको १९० रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाएर ९५ रन मात्र बनायो । शारदाको ब्याटिङमा सुशान्त खत्रीले सर्वाधिक ३७ तथा सुबास सिंहले १६ रन योगदान दिए । युथ अफ टिकापुरका प्रकाश जैसीले ३ विकेट लिए भने मोहम्मद हुसेन, प्रेम शाह र सुमित महर्जनले १/१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङमा उत्रेको युथ अफ टिकापुरले १७.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो । टिकापुरका कप्तान प्रेम शाहले सर्वाधिक ४८ रन बनाए । प्लेयर अफ द म्याच घोषित शाहले ३७ बलमा ७ चौका प्रहार गरे । यस्तै सुमित महर्जनले ३४, हरि चौहानले २५, प्रदिप ऐरीले २४ तथा मोहम्मद हुसेनले २३ रन बनाए ।

शारदाको बलिङमा विश्वास पन्त एक्लैले ६ विकेट लिए । उनले ३.५ ओभरमा ३१ रन खर्चिए । अभिषेक मल्लले २ तथा सुशान्त कार्कीले १ विकेट लिए।

यस्तै बिहीबारकै दोस्रो खेलमा सत्यवती एकेडेमीले विजयी सुरुवात गर्ने क्रममा जेएस स्पोर्ट्स–११ लाई ३ विकेटले पराजित गर्‍यो । जेएस स्पोर्ट्स–११ ले दिएको ९९ रनको लक्ष्य सत्यवतीले १२.५ ओभरमा ७ विकेट गुमाएर हासिल गर्‍यो । सत्यवतीको लागि ओपनर इमरान शेखले सर्वाधिक ३४ रन योगदान दिए । समिर कार्कीले १३ तथा खगेन्द्र जोशीले ११ रन बनाए । जेएस स्पोर्ट्स–११ का बलर राज बमले ३ विकेट, नितिश न्यौपानेले २ तथा साजन बिटालुले १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको जेएस स्पोर्ट्स–११ सुपर स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनायो । जेएस स्पोर्ट्स–११को लागि राजेश साउदले सर्वाधिक १९ तथा सुनिल चन्दले १७, रोयल बमले ११ तथा साजन बिटालुले ११ रन बनाए ।

सत्यवती एकेडेमीको बलिङमा अभिषेक कोइरालाले ३ विकेट लिए भने फिर्दोश अन्सारी, रञ्जितकुमार र सन्तोष कार्कीले समान २/२ विकेट लिए । प्लेयर अफ द म्याच घोषित भएका अभिषेकले ४ ओभरमा १५ रन खर्चिए ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौ संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाा पुरस्कार पाउने छन ्। प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ ।

प्रकाशित : मंसिर २१, २०८० १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?