१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

एलपीएल क्रिकेट : घोडाघोडी र कैलाली विजयी

चित्रांग थापा

धनगढी — आठौं लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा बुधबार घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् ।

एलपीएल क्रिकेट : घोडाघोडी र कैलाली विजयी

पहिलो खेलमा घोडाघोडीले आयोजक लिटल फ्लावर स्कुललाई ४१ रनले हरायो । १ सय २८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६.५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो । मनीष थापाले १७ रन, कृष्ण कार्कीले १५, प्रतीक श्रेष्ठ र कौशल रुपाखेतीले समान ११ रन जोडे । घोडाघोडीका देब्रेहाते स्पिनर अशोक धामी एक्लैले ५ विकेट लिँदै लिटल फलावरको इनिङ्स धराशायी बनाए । प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा १८ रन खर्चिए । नरेश सुनारले २ र नवयुग बस्नेतले १ विकेट लिए ।

टस जितेको घोडाघोडीले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनायो । नरेश सुनारले सर्वाधिक ३४, विपिनविक्रम शाहीले २४, कृष कार्कीले २२ रन बनाए । लिटल फ्लावरका दिनेश अधिकारीले ४ विकेट लिए । कप्तान कृष्ण कार्कीले ३, कौशल रुपाखेतीले २ र विपिन खत्रीले १ विकेट लिए ।

दोस्रो खेलमा कैलाली जिल्ला क्रिकेट टिमले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंङ सेन्टरलाई ३४ रनले हरायो । १ सय ४० रनको लक्ष्य पछ्याएको खप्तडले १७.४ ओभरमा १ सय ५ रन बनाउँदा सबै विकेट गुमायो । खप्तडका प्रकाश पाण्डेले २६, अभिषेक थापाले २० र अरुण रानाले १२ रन बनाए । कैलालीका नरेन साउदले ४ विकेट लिए । दीपक टमाटाले २ विकेट लिंदा शेर मल्ल, दीपक रोकाया, डबल ऐर र राहुल केसीले १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको कैलालीले २० ओभरमा ७ विकेट गुमाई १ सय ३९ रन बनायो । कैलालीका लागि डबल ऐरले अर्धशतकीय अविजित ५४ रन बनाए । प्लेयर अफ द म्याच उनले ५२ बलमा ४ चौका र २ छक्का प्रहार गरे । सुधांशु रावलले १९ रन बनाउँदा दीपक टमाटा र नरेन साउदले समान १० रन बनाए । खप्तडका अरुण रानाले ३, रवि विष्ट र नगेन्द्र उपाध्यायले २–२ विकेट लिए ।

बिहीबार युथ अफ टीकापुर र शारदा सेकेन्डरी तथा सत्यवती एकेडेमी र जेएस स्पोर्ट्स ११ सुपर स्टार्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : मंसिर २०, २०८० २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?