१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

किरात गोल्डकप : आयोजकलाई हराउँदै मोरङ फाइनलमा 

लक्ष्मी गौतम

पाँचथर — डाँगीहाट फुटबल क्लब मोरङ पाँचथरको सदरमुकाम फिदिममा जारी ‘प्रथम वाइवाई किरात गोल्डकप-२०८०’ को फाइनलमा प्रवेश गरेको छ ।

किरात गोल्डकप : आयोजकलाई हराउँदै मोरङ फाइनलमा 

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक पाँचथर फुटबल क्लबलाई ट्राइबेकरमा १–४ गोल अन्तरले हराउँदै मोरङले फाइनल यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरीमा खेलेपछि ट्राइबेकरमा निर्णय लिइएको थियो ।

ट्राइबेकरमा मोरङका उमेश कार्की, उमेश राई, गनिया धिमाल र अभिषेक लिम्बूले १–१ गोल गरे भने पाँचथरका अशीम राईले १ मात्रै गोल गरे ।

प्रकाश धमलाले हानेको गोलरक्षकले समाते । यस्तै क्याप्टेन रोहन आङदेम्बेको प्रहार पोष्टमा ठोकिएर बाहिर गएपछि आयोजक पाँचथर फुटबल क्लब सेमिफाइनल चरणबाट बाहिरिन पुगेको हो ।

बुधबारको खेलमा मोरङका गोलरक्षक प्रमिजय गच्छदार म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार पाउन सफल भए । बिहीबार बिर्ता युनाइटेड झापा र कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङबीच अन्तिम सेमिफाइनल खेल हुने तालिका छ ।

शनिबार सुरु भएको प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठवटा टिमले भाग लिएका थिए । प्रतियोगितामा पहिलो हुने टिमले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र दोस्रो हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले बताए ।

प्रकाशित : मंसिर २०, २०८० १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?