काठमाडौँ — नेपालकी धाविका रसिला तामाङले इन्डोनेसियाको सेन्ट्रल जाभामा भएको एसिया ट्रेल मास्टर्स च्याम्पियनसिप फाइनलको उपाधि जितेकी छन् ।
उनले शुक्रबार सम्पन्न ७७ किलोमिटर लामो दौड १२ घण्टा २५:५२ मिनेटमा पूरा गरिन् । तीन हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको दौडमा रसिला पहिलो भएकी हुन् ।
नेपालको प्रतिनिधित्व गर्दै एक दर्जनभन्दा बढी अल्ट्रा रेसमा सहभागी भइसकेकी २३ वर्षीया रसिलाले पहिलो स्थान प्राप्त गरेको यो चौथो दौड हो । सन् २०१४ देखि यस दौडमा नेपाली खेलाडीको सहभागिता रहँदै आएको छ । रसिला स्वर्ण जित्ने पहिलो धाविका हुन् । रसिलाले दौड आफैंमा निकै कठिन रहेको बताइन् ।