धनगढी — धनगढी क्रिकेट एकेडेमी (डीसीए) र धनगढी स्पोर्ट्स क्लबले आठौं लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा विजयी भएका छन् । सोमबार डीसीएले कैलाली बहुमुखी क्याम्पसलाई ४३ रन र धनगढी स्पोर्ट्सले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित गरे ।
समूह ‘बी’ मा टस हारेको डीसीएले १५ ओभरमा ६ विकेट गुमाई १ सय २४ रन बनायो । कप्तान विजय रानाले ४१ रन जोडे । उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ऋतिक थापाले अविजित ३७ रन बनाउनेक्रममा ३० बलमा ५ चौका र १ छक्का हाने । नीरज ऐरले १० बलमा १ चौका र २ छक्का मदतमा २१ रन बनाए । कैलालीका अभिषेक कुँवर, लोकेन्द्र खनाल र दीप कँडेलले २–२ विकेट लिए ।
कैलाली बहुमुखीले ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो । डीसीएका नीरज ऐरले ४ विकेट लिँदै कैलाली बहुमुखीलाई धराशायी बनाए । प्लेयर अफ द म्याच नीरजले ३ ओभरमा १ मेडन राख्दै ४ रन खर्चिए । अनिश अवस्थी र मान साउदले २–२ विकेट लिए । कैलालीबाट गणेश ऐरले १७ र पंकज चौधरीले १४ रन बनाए ।
समूह ‘ए’ मा धनगढी स्पोर्ट्सले २० ओभरमा ६ विकेट गुमाई १ सय ६६ रन बनायो । ओपनर आयुष्मान बमले ४५ रन बनाए । नारायण जोशीले २५ बलमा ३५, आयुब चन्दले २९ बलमा ३२ र ओपनर सुनील धमलाले २५ रन बनाए । कैलालीका नरेन साउदले ३, राहुल केसी र डबल ऐरले १–१ विकेट लिए ।
जवाफमा कैलाली टिम १५.२ ओभरमा ९४ रनमा अलआउट भयो । दीपक टमाटाले ३३, विनोद नाथ र नरेन साउदले समान १३ रन बनाए । भोजराज भट्ट र दीपक चन्द ठकुरीले ३–३ तथा प्लेयर अफ द म्याच नारायण जोशीले २ विकेट लिए । दीपकले ४ ओभरमा १ मेडन राख्दै १० रन र भोजराजले ३ ओभरमा २० रन खर्चिए ।
विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ टिमको सहभागिता छ ।
प्रकाशित : मंसिर १८, २०८० २१:१६