१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

किरात गोल्डकप : झापा सेमिफाइनलमा

लक्ष्मी गौतम

पाँचथर — युनाइटेड क्लब झापा फिदिममा जारी किरात गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार सम्पन्न दास्रो दिनको खेलमा प्रतिस्पर्धी रेडहर्स फुटबल क्लब इलामलाई ०–१ गोलअन्तरले पराजित गर्दै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

किरात गोल्डकप : झापा सेमिफाइनलमा

खेल सुरु भएको २१ औं मिनेटमा झापाका ११ नम्बर जर्सीधारी श्याम मुर्मूले गरेको गोल नै झापाका लागि निर्णायक बन्यो । मुर्मू आइतबारको खेलमा म्यान अफ दि म्याच घोषित हु्ँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भए ।

सोमबार युनाइटेड क्लब दार्जिलिङ र डिएफसी मोरङबीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले बताए । शनिबार सुरु भएको प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठ टिमले भाग लिएका छन् । प्रतियोगितामा पहिलो हुने टिमले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र दोस्रो हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँ पाउनेछन् । फाइनल खेल मंसिर २३ गते हुने तालिका छ ।

मितेरी क्लबलाई दुई वर्षका लागि प्रतिबन्ध

यसैबीच आयोजक पाँचथर फुटबल क्लबले छिमेकी जिल्ला तेह्रथुमको मितेरी क्लबलाई किरात गोल्डकपको दोस्रो र तेस्रो संस्करणमा सहभागी नगराउने भएको छ । शनिबार आयोजक टिमसँगको खेलमा पराजित भएपछि उक्त टिमका तर्फबाट ८ नम्बर जर्सी लगाएर खेलेका पेपे नामक विदेशी खेलाडीले रेफ्रीमाथि अपशब्द बोल्दै आयोजकलाई समेत धावा बोलेको भन्दै उक्त क्लबलाई गोल्डकपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

क्लबका अध्यक्ष मगरले आइतबार विज्ञप्ति जारी गर्दै मितेरी क्लबका खेलाडीले मैदानमा देखाएको अस्वाभाविक व्यवहारले खेल र खेलप्रेमीमा नकारात्मक सञ्चार प्रवाह गरेकाले प्रतिबन्ध लगाइएको उल्लेख गरेका छन् । साथै उक्त क्लबका खेलाडी पेपेलाई पाँचथरमा आयोजना हुने कुनै पनि फुटबल प्रतियोगितामा सहभागी हुन नपाउने गरी कारबाही गर्न फुटबल संघ पाँचथर र अखिल नेपाल फुटबल संघमा सिफारिस गर्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : मंसिर १७, २०८० २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?