९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

पारङ्गत फुटबलकर्मीको अन्त्य

खेलाडी, प्रशिक्षक हुँदै एन्फा टेक्निकल डाइरेक्टरसमेत भएका फुटबलकर्मी भीम थापाको हृदयघातबाट निधन 
हिमेश

काठमाडौँ — कसले भन्छ, फुटबलमा लाग्नेहरू पढ्ने लेख्ने खालका हुन्नन् भनेर ? अझ केही त असाध्यै बौद्धिक खाले हुन्छन् । प्राज्ञिक स्तरका हुन्छन् । भीम थापा यस्तै रहे । उनको पूरा जीवन फुटबलमै बित्यो । सुरुमा खेले । पछि प्रशिक्षक बने । बीच–बीचमा प्रशासनिक काम पनि गरे ।

पारङ्गत फुटबलकर्मीको अन्त्य

उनी फुटबलमा लाग्नेहरूले पढ्नैपर्छ, लेख्नैपर्छ भनेर जिद्दी गरिरहेका हुन्थे । त्यसमाथि भलाद्मी अति थिए । मधुर स्वरमा बोल्थे तर त्यो वजनदार हुन्थ्यो ।

यिनै भीम थापाको शुक्रबार बिहान निधन भएको छ । उनलाई हृदयाघात भएको थियो । उनी ७५ वर्षका थिए । उनको निधनसँगै नेपाली फुटबलको एउटा अध्याय सकिएको छ । उनलाई सम्झनुपर्ने अनेक कारण छन् । त्यसमध्ये पहिलो कारण त उनलाई फुटबलको साहित्यमा पारंगत प्राप्त थियो । फुटबल खेलिन्न मात्रै । साँच्चै पढिन्छ, लेखिन्छ पनि । सँगै उनलाई इतिहास, साहित्य र चित्रकलाप्रति उत्तिकै रूचि थियो । फुटबलसँग जोडिएका हरेक महत्त्वपूर्ण कागजातलाई उनी जतनले संग्रह गर्थे ।

जो जति उनको कुलेश्वर हाइटमा रहेको घरमा जान पाए, तिनलाई थाहा हुन्छ उनको फुटबल प्रेम वास्तवमै कस्तो छ भनेर । उनले आफ्नो जीवनको ६ दशकभन्दा बढी समय फुटबलमै बिताए । पछिल्ला केही वर्ष भने उनी कम सक्रिय रहे । विश्वकप र यस्तै अन्य ठूलो प्रतियोगिता हुनुपर्थ्यो, उनी दिनरात नभनेर त्यसमै व्यस्त हुन्थे । उनले एकपल्ट भनेका थिए, ‘के बेर, यो नै मेरो अन्तिम विश्वकप हुनसक्छ, त्यसैले म कुनै पनि खेल छुटाउँदिनँ ।’

सन् १९७१ मा जापानमा भएको एएफसी युथ च्याम्पिनयसिपबाट नेपालको औपचारिक अन्तर्राष्ट्रिय फुटबल इतिहास सुरु हुन्छ । यो नै नेपालले खेलेको फिफा/एएफसीको पहिलो आधिकारिक प्रतियोगिता हो । यसमा सहभागी हुन् १३ खेलाडी जापान पुगेका थिए । त्यसकै एक सदस्य थिए, भीम थापा । भनेपछि उनी नेपाली अन्तर्राष्ट्रिय फुटबल इतिहासको पहिलो पानामा आउने नाम भए । उनको जन्म गुल्मीको बारकोटमा भएको थियो ।

बुवा इन्डियन आर्मीमा थिए । त्यसैले उनले देहरादुनमा पढ्ने अवसर पाए । त्यहीं उनले फुटबल पनि सिके । पछि भीम थापा काठमाडौं आए । उनले यहाँ खेलेको पहिलो क्लब थियो ठमेल–११ । भारतीय फुटबलमा तहल्का मच्चाएका श्याम थापासँग गहिरो दोस्ती थियो । उनीहरूको सुरुआती सम्बन्ध त्यही देहरादुनमा बनेको थियो । उनले पछि एनआरटी र महावीरबाट पनि खेले । भीम थापा एनआरटीलाई भने आफ्नो वास्तविक क्लब मान्थे ।

देहरादुनमा पढेको हुनाले उनको अंग्रेजी राम्रो थियो । त्यसैले पनि नेपाली फुटबललाई ती दिनमा उनको आवश्यकता जहिल्यै भइरह्यो । नेपालमा सन् १९८२ मा भएको एसियन युथ च्याम्पियनसिपमा उनले पहिलोपल्ट फुटबलको कागजी काम गरे र पछि लामै समय योक्रम जारी रह्यो । अंग्रेजी दखलताकै कारण नेपाल आएका विदेशी प्रशिक्षकलाई उनी चाहिन्थ्यो, त्यसैले उनी लामो समय नेपाली राष्ट्रिय फुटबल टिमसँग जोडिएर रहे ।

रूपकराज शर्मा पछिको पुस्ताका अधिकांश खेलाडीका लागि उनी नै नेपालका प्रमुख प्रशिक्षक रहे । उनले सन् १९८४ मा पहिलो पटक औपचारिक रूपमा नेपाली टिम सम्हाले, जतिबेला काठमाडौंमै एसिया कप छनोटको खेल भएको थियो । उनको नेतृत्वमा नेपालले सन् १९९५ को दक्षिण एसियाली खेलकुद, सन् १९९६ को एसिया कप छनोट र सन् १९९७ को पहिलो साफ च्याम्पियनसिप खेलेको थियो । त्यो पहिलो साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन असाध्यै खराब रह्यो ।

त्यसै बेला उनले घोषणा गरेका थिए, ‘अबदेखि म फुटबल प्रशिक्षणमा कायम रहने छैन ।’ उनले त्यो वचन अन्त्यसम्म कायम राखे । त्यो अर्थमा नेपालले खेलेका आधिकारिक १६ खेलका प्रशिक्षक रहे, भीम थापा । जतिबेला नेपालमा उमेश प्रधान र मणि शाहसँगै त्यस समयको एक पुस्ताको नेपाली फुटबलमा उदय भइरहेको थियो, तिनीहरूको खेल जीवनलाई सपार्न प्रशिक्षक थापाले सक्दो सहयोग गरे । त्यसैले त्यो पुस्ता आफ्ना प्रशिक्षकप्रति कृतज्ञ छ ।

उनको एउटा अर्को ठूलो योगदान भनेको नेपालमा एन्फा एकेडेमी स्थापनाका लागि आधार तयार पार्ने हो । उनले नै एकेडेमीको सोच साकार पार्न प्राविधिक पक्षमा रहेर काम गरे । पछि यो एकेडेमीले राम्रा खेलाडी पनि उत्पादन गर्न थालेको थियो । तर, आफ्नै आँखा अगाडि त्यो एकेडेमी लगभग हराएपछि उनी असाध्यै दुःखी थिए । वर्ष ०६९ मा उनका यस्तै अतुलनीय फुटबल योगदानका लागि ‘एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिएको थियो ।

प्रकाशित : मंसिर १६, २०८० ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?