१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

एसियाली बुद्धिचाल उपाधिको छिनोफानो आइतबार मात्रै

सुवास विडारी

मकवानपुर — हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधिको छिनोफानो आइतबार मात्र हुने भएको छ । शनिबार सातौं चरणको खेल सम्पन्न हुँदासम्म भारतीय  खेलाडी सुभयान कुण्डु र बंगलादेशी आइएम मोहम्मद मिनहाज उद्दिन संयुक्त अंकका साथ शीर्ष स्थानमा रहेका छन् ।

एसियाली बुद्धिचाल उपाधिको छिनोफानो आइतबार मात्रै

हालसम्म दुवै खेलाडी अपराजित रहेका छन् । दुवैले हालसम्म पाँच जित र दुई बराबरीसहित ६ अंक जोडेर संयुक्तरुपमा शीर्ष स्थानमा रहेका हुन् ।

प्रतियोगिताको शीर्ष वरीयता २३९३ रेटेड भारतीय खेलाडी सुभयान सुभायानले भारत कै राहुल गुरुङविरुद्ध कारोकान प्रणालीमा सेतो गोटीबाट खेल आरम्भ गरेका थिए । उक्त खेलमा राहुलले छैटौं चालअन्तर्गत बिसप डि सिक्स चाल्दै सानो गल्ती गर्न पुगे । जसको फाइदा लिँदै सुभयानले सोह्र चालभित्रै छिटो खेल आफ्नो पक्षमा लिन सफल रहे । उनले आठौं चरणको खेलमा बंगलादेशी २१९३ रेटेड एफ अहमद शेख नासिरसँग कालोगोटी लिएर प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामार्फत् ७ रेटिङ वृद्धि गर्दै अन्तर्राष्ट्रिय आइएम उपाधि प्राप्त गर्ने लक्ष्य रहेको उनले बताए ।

दोस्रो बोर्डमा २२१७ रेटेड बंगलादेशी मोहम्मद मिनहाज उद्दिनले भारतीय १९७६ रेटेड खेलाडी एएफएम सौरव चौबेमाथि कठिन जित गर्दै ६ अंकका साथ संयुक्त अग्रस्थानमा उभिन सफल बने । मिनहाजले ओपन सिसिलियन भारिएशन इ फो सि सिक्स, नाइट एफ थ्री नाइट एफ सिक्सबाट खेल सुरु गर्दै ४२ औं चालमा चलाखी गर्दै पाउन अप गरे । उनले उपाधिका लागि जित्नै पर्ने आठौं चरणको अर्को खेल समकक्षी बंगलादेशी एफएम सरिफ होसेनसँग कालो गोटी लिएर खेल्ने छन् ।

प्रतियोगितामा बंगलादेशी एफएम नयम हक, भारतका अमरदीप बर्टक्के, अर्बिन्दर प्रित सिं, बंगलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५.५ अंक जोड्दै सामूहिक दोस्रो स्थानमा सुरक्षित रहन सफल भएका छन् । आठौं चरणको खेलमा नयन हकले अबु शेखसँग, अमरदीपले अर्बिन्दर प्रितसँग, नासिर शेखले सुभयानसँग र सरिफ होसेनले मिनहाजसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा शुश्रुत दहाल, युवा खेलाडीद्वय पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४.५ अंक बनाएर नेपाली खेलाडी मध्येबाट अगाडि रहन तछाडमछाड गरिरहेका छन् । उनीहरुसँगै पूर्वनेपाल च्याम्पियन एफएम पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ समान ४ अंक प्राप्त गर्दै खेलिरहेका छन् ।

भारतीय महिला खेलाडी मरियम फातिमा ४.५ अंकका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनि रानासिंघे ४ अंक बनाई दोस्रो स्थानमा रहन सफल भएका छन् । नेपालका भेट्रान खेलाडी मोहनसिं प्रधानले ३ अंक जोड्दै आफूलाई प्रतिस्पर्धामा उभ्याउन सफल भएका छन् ।

प्रकाशित : मंसिर १६, २०८० १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?