१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

चार खेलाडी शीर्ष स्थानमा

सुवास विडारी

मकवानपुर — हेटौंडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता-२०८० को पाँचौँ चरणको खेल समाप्त हुँदा चार जना खेलाडीले संयुक्त रूपमा शीर्ष स्थान ओगटेका छन् । हेटौंडामा जारी प्रतियोगितामा भारत र बंगलादेशका समान २/२ जना खेलाडीले समान ४.५ अंक जोडेका छन् ।

चार खेलाडी शीर्ष स्थानमा

२३९३ रेटिङ भएका यस प्रतियोगिताका शीर्ष वरीयताका भारतीय खेलाडी सुभयान कुण्डुले चौथो राउन्डमा सहज जित हात पारे पनि पाँचौँ राउन्डमा दोस्रो वरीयताका बंगलादेशी अन्तर्राष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिनसँग बराबरीमा रोकिँदै अंक बाँडे ।

भारतीय खेलाडी राहुल गुरुङले श्रायण माजुम्दार र बंगलादेशी एफएम नयेम हकले अमरदीप बर्तकेमाथि जित निकाल्दै शीर्ष स्थानमा तीन दिनदेखि आफूलाई टिकाइरहेका छन् । बंगलादेशी खेलाडीद्वय मोहमद मिन्हाज उद्दिन र एफएम नएम हक समान ४.५ अंकका साथ उपाधि दौडमा रहेका छन् ।

नेपाल च्याम्पियन एफएम रुपेश जयसवालले भारतीय खेलाडी आशुतोष कुमार र पूर्वनेपाल च्याम्पियन सीएम पुरुषोत्तम चौलागाईले अभिनव कुमारलाई पराजित गर्दै ४ अंक जोडेका छन् । चार अंकका साथ बंगलादेशी आईएम अबु सुफियान सकिल र भारतीय खेलाडीहरू एफएम अरविन्दप्रित सिंह, एरिना एफएम सौरभ चौवे, अक्षत नेगी, देबौषणीक डे र अमरदीप बर्कते शीर्ष खेलाडीलाई पछ्याउँदै छन्।

पाँचौँ राउन्डमा नेपाली युवा खेलाडी एरिना आईएम सुश्रुत दाहालले बंगलादेशी एफएम मोहमद शरीफ हुसैनसँग बराबरी खेल्दै ३.५ अंक हात पारेका छन् । बंगलादेशी एफएम महमद शरीफ, एफएम शेख नासिर अहमद, आशिष राज र शिवम् चौधरी पनि ३.५ अंक बटुल्न सफल भएका छन् । कुल पाँच लाख ८७ हजार पाँच सय नगद पुरस्कार राशि भएको यस प्रतियोगिता नेपाल बुद्धिचाल महासंघको सहमतिमा भएको महासंघका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिए ।

प्रकाशित : मंसिर १५, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?