११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नेपाल सुपर लिग : रक्षात्मक रणनीतिले गोलको खडेरी

दोस्रो संस्करणको नेपाल सुपर लिगमा ७ खेल टुंगिँदा १० गोलमात्र
हिमेश

काठमाडौँ — केही खेल यस्ता हुन्छन्, जसमा खेलाडी निकै व्यस्त त हुन्छन् । तर, त्यो व्यस्तता मैदानको बीच भागमै बढी हुन्छ । पूरा खेल अवधिमा सटिक मान्न मिल्ने आक्रमण बिरलै हुन्छ । पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच बुधबार दशरथ रंगशालामा भएको नेपाल सुपर लिग (एनएसएल) को खेल यस्तै रह्यो ।

नेपाल सुपर लिग : रक्षात्मक रणनीतिले गोलको खडेरी

यी दुई टिमले पहिलो संस्करणमा पनि गोलरहित बराबरी खेलेका थिए । यसपालि पनि यस्तै रह्यो गोलविहीन । यो खेलमात्र होइन, यस सिजनको एनएसएलमा गोलको खडेरी लाग्ने संकेत देखिन थालेको छ ।

अहिलेसम्म प्रतियोगितामा ७ खेल टुंगिएको छ । यी खेलमा जम्मा १० गोलमात्र भएको छ । त्यसको अर्थ औसत गोलसंख्या १.४२ मात्र रहेको छ । पोखरा र ललितपुरबीचको नतिजा भने यसपल्टको पहिलो गोलरहित बराबरी रह्यो । सम्भवतः यसको कारण हुनसक्छ, सहभागी टिमको रक्षात्मक सोच । अथवा यसको अर्को कोण हुनसक्छ, नेपाली फुटबलको मूल समस्या जस्तै यस सिजनको एनएसएलमा पनि गतिलो फरवार्डको समस्या त होइन ?

भर्खर दुई चरणको खेल सकिन नपाएको स्थितिमा यसको उत्तर अबका खेलले दिनेछ । तर, एउटा तथ्य भने निश्चित छ, सहभागी सबै टिमको सोच जितभन्दा पनि कम्तीमा अंक नगुमाउने छ । यसको स्पष्ट छनक त फेरि एकपल्ट प्रशिक्षककै मुखबाट सुनियो । पोखराका प्रशिक्षक नवीन न्यौपानेले क्लिन सिट राख्न पाएकामै खुसी माने । पोखराले यसपल्ट खेलका दुवै खेलमा क्लिन सिट राखेको छ । यो एक प्रकारले उपलब्धि नै रह्यो ।

पोखरा थन्डर्सका गोलरक्षक प्रिसो जान्गासहित डिफेन्सलाइन बल बचाउँदै । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रशिक्षक न्यौपानेले यसको कारण खुलाए । उनले भने, ‘हामीले दुई दिन बिराएर खेल्नुपर्छ । त्यसैले खेलाडीले आफ्नो शक्ति जोगाएर राख्नुपर्ने पनि हुन्छ । लिग आफैंमा पनि प्रतिस्पर्धात्मक छ । त्यसैले एक अंक पनि राम्रै हो ।’

ललितपुरका प्रशिक्षक इयान एन्ड्र्यु गिलानी भने पोस्टम्याच कन्फ्रेन्समा आउन पाएनन् । बुटवल–लुम्बिनी एफसीविरुद्धको अघिल्लो खेलमा उनले दोहोरो पहेँलो कार्ड पाएका थिए । उनी दर्शकदीर्घामै रहे ।

उनको स्थानमा आएका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारले आफ्नो टिमको रणनीति नै अंक नगुमाउन रहेको बताए । उनले भने, ‘जित त पक्कै पनि हाम्रो उद्देश्य थियो, तर हामी अंक नगुमाउने रणनीतिमा थियौं ।’ सम्भवतः अरू टिमभन्दा कागजमा बलियो ललितपुरले सुरुआती २० मिनेटभित्र आफ्ना पहिलो रोजाइका दुई खेलाडी पापा इबोउ केबे र सनिश श्रेष्ठलाई चोटको कारण गुमाएको थियो । त्यसैले पनि खेल टिमको अपेक्षा अनुसार रहेन ।

सिलाकारले आफू सिक्दै गरेको प्रशिक्षक रहेको र गिलानीकै निर्देशनअनुसार खेलाएको बताए । गिलानीले भने ललितपुरको बक्सभन्दा ठीक माथि रहेर लगातार निर्देशन दिइरहे । पूरा खेल अवधिमा सिलाकार जति धेरै व्यस्त रहे, गिलानी पनि उत्तिकै व्यस्त देखिन्थे । सम्भवतः गिलानीले सुरुमै पूरा रणनीतिबारे आफ्ना सहयोगीलाई प्रस्ट पारेर शान्तसँग खेलकै मज्जा लिएको भए राम्रो हुन्थ्यो । आफ्ना सहायकलाई विश्वास गर्नु सक्नु पनि आत्मविश्वास नै हो ।

यसको अर्को दृष्टिकोण के पनि हो भने एक खेल प्रतिबन्धको स्थितिमा प्रशिक्षकले दर्शकदीर्घाबाट सिधा रणनीतिक निर्देशन दिनु ठीक पनि होइन । यो स्थितिबारे नियम मौन रहने गर्छ । फेरि खेलमै फर्कने हो भने बराबरीको नतिजापछि दुवै टिमले अंक बाँडे । दुवै टिमको दुई खेलबाट समान ४ अंक भएको छ । सुरुआती अंकतालिकामा ललितपुर गोलअन्तरका आधारमा शीर्षस्थानमा उक्लेको छ भने पोखरा तेस्रो स्थानमा छ ।

यी तीनै टिमको ४ अंक छ । पूरा खेलमै सबैभन्दा राम्रो मौका पोखराले बनाएको थियो । खेलको छैटौं मिनेटमा मोसेस ग्याबहको प्रहार पोस्टमा लागेर फर्केको थियो । ललितपुरका कप्तान अनन्त ताामाङले ३३ औं मिनेटमा गरेको हेडलाई विपक्षी गोलरक्षक प्रिसो जान्गाले रोक्न सके । पोखराका आयुश घलान प्लेयर अफ म्याच रहे । तर, उनी आफैं बराबरीमा खुसी हुन सकेनन् । ‘पूरा ३ अंक पाउन नसकेको हुनाले म खुसी हुन सकिनँ,’ उनले भने ।

प्रकाशित : मंसिर १४, २०८० ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?