११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

केपी ओली कप क्रिकेट : मधेश र आर्मी सेमिफाइनलमा

दीपक परियार

पोखरा — त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश विजयी भएसँगै मंगलबार केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । वाग्मती र एपीएफ यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । 

पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार कोशी प्रदेशलाई ३९ रनले हराएर समूह ‘डी’ को शीर्षस्थानमा रहँदै आर्मी अन्तिम चारमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो । आर्मीका ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धशतक बनाए । सन्तोषले ४१ बलमा ५० रन बनाएर रिटायर्ड हर्ट हुँदै पेभेलियन फर्किदा भीमले २४ बलमा ५३ रन बनाए । कप्तान विनोद भण्डारीले १७ र रोहित पौडेलले २३ रनको योगदान दिए ।

कोशी प्रदेशका श्रवण यादवले ३ विकेट लिए । उनले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । कोशीका कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले १–१ विकेट लिए । जवाफी ब्याटिङमा कोशी प्रदेश १८.२ ओभरभित्र १ सय ४७ रनमा समेटियो । सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनीष थापाले १६ रनको योगदान दिए । आर्मीका सोमपाल कामी र विवेक यादवले २–२ विकेट लिए । बसिर अहमद, जितेन्द्र मुखिया, शाहब आलम र रोहित पौडेल १–१ विकेट लिन सफल भए ।

अर्को खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग ४ विकेटले सनसनीपूर्ण जित दर्ता गर्दा मधेश प्रदेश नेट रनरेटका आधारमा अन्तिम चारमा पुग्यो । खेलमा १ सय ५९ रनको लक्ष्यलाई सुदूरपश्चिमले १८.४ ओभरमा ६ विकेट क्षतिमा पूरा गरेको हो ।

सुदूरपश्चिमले आफ्नो इनिङ्सुमा १ सय ६२ रन बनायो । सुदूरपश्चिम र पुलिस दुवै टोली प्रतियोगिताबाट बाहिरिए । अघिल्लो खेलमा पुलिसले मधेशलाई ५७ रनले पराजित गरेको थियो भने मधेशले पहिलो खेलमा सुदूरपश्चिमलाई ८ विकेटले हराएको थियो ।

सुदूरपश्चिमका किरण ठगुन्नाले अविजित अर्धशतक बनाए । ३४ बलमा किरणले ४ चौका र २ छक्का मदतमा नटआउट ५१ रन बनाए । छैटौं र सातौं नम्बरमा आएका किरण र नरेन साउदले उत्कृष्ट इनिङ्स खेल्दै ९३ रनको साझेदारी गरे । उनीहरूको साझेदारी नै जितका लागि बाटो खुल्यो । नरेनले ३० बलमा ५ चौका र १ छक्का प्रहार गरी ३९ बनाए । उनी रसिद खानको बलमा आरिफ शेखको हातबाट क्याचआउट भए । सुदूरपश्चिमका नारायण जोशीले ७ बलमा १७ रन प्रहार गरे ।

पुलिसका रशिद खानले ३ विकेट, सुनील धमला र सागर ढकालले १–१ विकेट हात पारे । टस जितेको पुलिसका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ५ चौका र ५ छक्का प्रहार गरी ६७ रन बनाए । अर्का ओपनर सुनील धमलाले २ चौका र २ छक्का मदतमा ४० बलमा ४२ रन जोडे । उनी वसन्त खत्रीको बलमा आउट भए । पहिलो विकेटका लागि कुशल र सुनीलले १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए ।

सुनील व्यक्तिगत ४२ रनमा आउट भए । खेलमा २ छक्का प्रहार गरेका अर्जुन साउद २० रनमा आउट हुन पुगे । करण केसीले तीन बल खेल्दै ७ रन बनाए । एक छक्का प्रहार गरेका उनी नटआउट रहे । खेलमा विकास आग्रीले २ विकेट लिए । खेलमा सुदूरपश्चिमका किरण ठगुन्ना प्लेयर अफ द म्याच भए । बुधबार एकमात्र खेल आयोजक मदन भण्डारी स्पोटर््स एकेडेमी ‘नीलो’ र कोशी प्रदेशबीच हुनेछ । बिहीबार सेमिफाइनलमा आर्मी र वाग्मती तथा एपीएफ र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : मंसिर १३, २०८० ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?