११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

जित्न नजान्ने एफसी चितवन

हिमेश

काठमाडौँ — एफसी चितवनलाई यी दुई प्रश्नले निरन्तर पछ्याइरहने छ, जबसम्म टोलीले एउटै जित निकाल्ने छैन । यी प्रश्न छन्, चितवनले किन जित्न नजानेको हो ? चितवनको पहिलो जित कहिले आउँछ ? 

जित्न नजान्ने एफसी चितवन

यस सिजनको नेपाल सुपर लिगमा मंगलबार चितवनले काठमाडौं रेजर्सको सामना गर्दा फेरि एकपल्ट कथा उही रह्यो । चितवन जितको नजिक त पुग्यो । तर, खेल सकिँदा टोलीले महसुस गर्‍यो, यो जित त अझै कति धेरै टाढा रहेछ । विमल घर्तीमगरले ८६ औं मिनेटमा गोल गर्दा चितवन टिममा अपार खुसीयाली छाएको थियो, मैदानभित्र, बक्स र टिमका मालिक सचिन ढकाल नेतृत्वमा रहेको दर्शकदीर्घामा पनि । तर, यो खुसी धेरै टिक्न सकेन ।

दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा एनकेग्नी जुनियरले डिफेन्डिङ च्याम्पियन काठमाडौंका लागि बराबरीलाई मीठो गोल फर्काए । त्यतिबेला खुसी मनाउने पालो भने काठमाडौंका खेलाडी, बक्स र टिमका मालिक विष्णु अग्रवाल नेतृत्वमा रहेको दर्शकदीर्घातर्फ थियो । दशरथ रंगशालामा भएको खेलको सुरुआत खासै मज्जाको रहेन । खेल जति अगाडि बढ्दै गयो, त्यसमा रोमाञ्चक र रौनकता थपियो । खेलको अन्तिम १० मिनेट जतिले सनसनीपूर्ण नै रह्यो । पूरा खेल अवधिमा बलियो त चितवन नै रह्यो । टोलीले काठमाडौंलाई दबाबमा पनि राखेको हो । तर, समस्या उही साबित भयो, चितवनले किन हो, जित्नै जानेन ।

चितवन व्यवस्थापनले खोज्नुपर्नेछ, कतै टिममा जित्ने डीएनए नै कमजोर त छैन ? कि टिम व्यवस्थापनमै केही कमजोरी छ ? यो सबै कुराको पृष्ठभूमि के भन्दा चितवनले दुवै संस्करणका प्रतियोगितामा गरेर अहिलेसम्म ८ खेल खेलिसकेको छ । त्यसमा एकै जित पनि छैन । जितहीन निरस यात्रामात्रै छ । यी ८ खेलमा अब तीन बराबरी भएको छ अनि ५ हार त पहिले नै थियो । यी ८ खेलमा टोलीले समग्रमा जोडेको ३ अंक मात्रै हो । यो त अस्वाभाविक खराब प्रदर्शन नै हो । स्वाभाविक छ, यसबारे प्रशिक्षक मेहराज उद्दिनलाई दोहोर्‍याएर सोधिने नै छ । यस्ता प्रश्नबाट उनीमात्र होइन, चितवनका कोही पनि भाग्न पाउने छैनन् ।

यसमा प्रशिक्षक उद्दिनको कूटनीतिक जवाफ छ, ‘मलाई यो प्रश्न पोखराविरुद्धको खेल गुमाउँदा पनि सोधिएको थियो । आज हामीले राम्रो खेल्यौं । टिमको प्रदर्शनमा मलाई खुसी छ । अबको दिनमा अझ राम्रो प्रदर्शन हुनेछ र जित निस्कने नै छ ।’

कम्तीमा चितवनले लगातार ५ हारको क्रम रोकेको छ र बहुमूल्य १ अंक बटुलेको छ । चितवनले अबको खेलमा वीरगन्ज युनाइटेडको सामना गर्नेछ । प्रशिक्षक उद्दिन मान्छन्, वीरगन्ज पनि उत्तिकै कठिन प्रतिद्वन्द्वी हो । त्यसैले अबको खेलमा सजिलै जित निस्कने छैन । यता दोस्रो खेलमा आएर विमलले पूरा ९० मिनेट मैदानमा बिताए । अझै पनि उनको पुरानो खेलको धार देखिएको छैन ।

उनको गोलले पनि धेरैथोक वर्णन गर्छ । खासमा उनको गोल काठमाडौंका टोजिनिनोभ कोमिवनको नाममा आत्मघाती हुनुपर्ने थियो । विमलले निकालेको पास कोमिवनको खुट्टामा बाक्लो डिफ्लेक्ट हुँदै बलले पोस्टको दिशा लिएको थियो । भारतीय रेफ्री सुरोजित दासले भने यस गोललाई विमलकै नाम दिएका छन् ।

त्यसको तुलनामा जुनियरले गरेको गोल कता हो कता धेरै राम्रो थियो । कम्तीमा तीन खेलाडीले घेरिएको स्थितिमा उनले शक्तिशाली प्रहार मदतमा गोल गरेका थिए । ‘टिमको प्रदर्शनका केही कमजोरी देखिए । आक्रमणमा समस्या रह्यो । सम्भवतः टिममा भाषाको पनि समस्या हुनसक्छ, खेलाडीले बोल्ने भाषा फरक फरक छ,’ काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले खेलपछि भने ।

सम्भवतः काठमाडौंको कमजोरी कप्तानमा पनि छ । मार्की प्लेयरका रूपमा हिसुब थपलियाले टिमको कप्तानी गरिरहेका छन् । लाग्छ, कप्तानीको बोझले उनको आफ्नै व्यक्तिगत खेललाई थिचिरहेको छ । उनी उम्दा खेलाडी हुन् । यसका कुनै शंका छैन । तर, कप्तानीको जिम्मेवारी उनीसामु धेरै चाँडै आइपुगेको छ, उनले अझै अनुभव बटुल्न आवश्यक छ । जावलाखेलका लागि उनले जसरी स्वतन्त्र भएर खेल्न पाए, त्यो प्रवृत्ति उनको खेलका लागि पनि राम्रो हो । काठमाडौंको दुई खेलपछि ४ अंक भएको छ । टोलीको प्रतियोगितामा अपराजित यात्रा ४ खेल पुगेको छ । यो स्थितिमा काठमाडौं फेरि एकपल्ट अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ ।

आजको खेल

पोखरा थन्डर्सविरुद्ध ललितपुर सिटी

प्रकाशित : मंसिर १३, २०८० ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?