१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एन्फा मकवानपुर युथ–२१ च्याम्पियन

सुवास विडारी

मकवानपुर — हेटौंडा च्यालेन्ज कपको युथ–२१ फुटबल प्रतियोगिताको उपाधि एन्फा मकवानपुरले जितेको छ ।

एन्फा मकवानपुर युथ–२१ च्याम्पियन

बुधबार हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा भएको फाइनलमा रियल स्टार क्लबमाथि ४–० गोल अन्तरको सहज जित निकाल्दै एन्फा मकवानपुर च्याम्पियन बनेको हो ।

पहिलो हाफमा १ गोल गरेको एन्फाले दोस्रो हाफमा ३ गोल थपेको थियो । एन्फाले मोहित गुरुङको गोलमार्फत पहिलो हाफमा अग्रता लिएको थियो । दोस्रो हाफमा अनिष महर्जनले २ तथा सुजल श्रेष्ठले १ गोल थपेका हुन् ।

१४ वटा क्लबको सहभागिता रहेको प्रतियोगिताको विजेता एन्फाले १ लाख ११ हजार ११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भएको रियलले ५५ हजार ५ सय ५५ रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ ।

फाइनल खेलको म्यान अफ द म्याच एन्फाका अनिष महर्जन भए । उनले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एन्फाका मोहित गुरुङ, उत्कृष्ट गोलरक्षक कृषल मोक्तान, मिडफिल्डर रितेश श्रेष्ठ र फरवार्ड प्रितम स्याङ्बो र उत्कृष्ट प्रशिक्षक विजयलाल श्रेष्ठ घोषित हुँदा उत्कृष्ट डिफेन्डर रियलका उर्गेन रुम्बा चुनिए ।

प्रतियोगिता विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी तथा आयोजक एफसी मुण्डियालका अध्यक्ष सुविन घिमिरेलगायतले पुरस्कार वितरण गरेका हुन् ।

प्रकाशित : मंसिर १३, २०८० १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?