कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

यमनसँगको खेल नेपाली फुटबलको परीक्षा

दशरथ रंगशालामा विश्वकपको एसियाली छनोट दोस्रो चरणमा नेपालले मंगलबार यमनको सामना गर्दै
‘हाम्रो टिम राम्रो छ । टिमले उच्च प्रदर्शन गर्नेछ । टिमको तयारी राम्रो छ । खेलको पहिलो सेकेन्डदेखि हामी आक्रमण बुन्ने छौं । ’ -मुख्य प्रशिक्षक एनिस
हिमेश

काठमाडौँ — मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले फेरि एकपल्ट दाबी गरेका छन्, ‘हाम्रो टिम राम्रो छ । टिमले उच्च प्रदर्शन गर्नेछ । टिमको तयारी राम्रो छ ।’ विश्वकपको एसियाली छनोट दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार यमनको सामना गर्न लागेको हो ।

यमनसँगको खेल नेपाली फुटबलको परीक्षा

खेल दशरथ रंगशालामा हुनेछ । त्यसैले यो नेपालका लागि ‘होम गेम’ भयो । नेपालले कस्तो खेल्ने छ त ? प्रशिक्षक एनिसले भनेका छन्, ‘खेलको पहिलो सेकेन्डदेखि हामी आक्रमण बुन्ने छौं ।’

सोमबार आयोजित पोस्टम्याच कन्फ्रेन्समा प्रशिक्षक उत्साही पनि देखिए, जुन सकारात्मक हो । साँच्चै नेपालको प्रदर्शन कस्तो हुनेछ त ? यसको उत्तर त खेल सकेपछि मात्र आउने छ । तर एउटा तथ्य निश्चित छ, यमनविरुद्धको यो खेलले नेपाली फुटबल कहाँ छ, त्यो भने देखाउने छ । नेपालसम्मिलित छनोटको समूह ‘एच’ मा चार टिम छन् । त्यसमध्ये यमन एक भयो । अर्को दुई टिम यूएई र बहराइन भए । अहिलेसम्म चारै टिमले एक–एक खेल खेलेको छ ।

त्यसमध्ये यूएईले नेपाललाई ४–० ले हराएको थियो । अर्को खेलमा यमन आफ्नै घरमा बहराइनको हातबाट २–० ले पराजित रह्यो । यी नतिजाले संकेत गर्छ, समूहको दुई स्थानका लागि बलिया प्रत्याशी उनीहरू नै हुन् । नेपाल र यमनले त्यसमै दखल पुर्‍याउन प्रयास गर्ने हो । यस्तोमा नेपालका लागि सबैभन्दा सजिलो प्रतिद्वन्द्वी कोही साबित हुन्छ भने त्यो यमन नै हो । त्यसैले यसपल्टको विश्वकप छनोटमा नेपालका लागि मंगलबारको खेल सबैभन्दा महत्त्वपूर्ण हुनेछ ।

समूहको शीर्ष दुई स्थान रहने टिम एसिया कपका लागि मात्र छनोट हुने छैन र विश्वकप छनोटको अर्को चरण पनि पुग्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टिमले एसिया कपमा प्रवेश पाउन फेरि खेल्नुपर्नेछ । त्यस अर्थमा तेस्रो र चौथोमा रहनुको धेरै फरक नहुनसक्छ । भलै, यसले वरीयतामा धेरै फरक पार्नेछ नै । प्रशिक्षक एनिसले भने जस्तै नेपालले आफ्नो घरेलु मैदानमा आफूअनुकुल नतिजा निकाल्ने हो भने त्यो नेपाली फुटबलकै लागि धेरै राम्रो रहनेछ ।

यमनका प्रशिक्षक मिरोस्लाभ सुकोपले पनि नेपाललाई सजिलो प्रतिद्वन्द्वी मान्न नसकिने बताए । उनको भनाइ थियो, ‘नेपालविरुद्धको खेल सजिलो हुने छैन । नेपालले लाओसलाई हराएर छनोटको दोस्रो चरण पुगेको हो । यूएईविरुद्धको खेलमा नेपाल पराजित त रह्यो, तर हाम्रो विश्लेषणमा नेपालले राम्रो खेलेको हो । यूएईविरुद्ध नेपालले केही राम्रो आक्रमण पनि बुनेको थियो र गोलको प्रयास गरेको देखियो । त्यसैले नेपाललाई पक्कै पनि कमजोर मान्न सकिने छैन ।’

खेलको पूर्वसन्ध्यामा यमनले सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको थियो । प्रशिक्षक सुकोपकै भनाइमा यमनले राम्रो तयारी त गरेको छ तर काठमाडौंसम्मको यात्रा टिमका लागि सहज भने रहेन । हवाई उडान तालिका तलमाथि भएपछि टिम आइतबार मात्रै काठमाडौं आइपुगेको थियो । खेलाडी धेरै थाकेका छन् । खेलाडीले लामै समय विमानस्थलमा बिताउनुपरेको थियो । तर प्रशिक्षकलाई लाग्छ, यसले टिमको प्रदर्शनमा फरक पर्ने छैन ।

एनिसले यूएईविरुद्धको खेलमा नेपाली टिमको प्रदर्शनको प्रसङ्ग उप्काए । भने, ‘त्यो खेलमा हाम्रो टिमले केही खास खास भुल गरेको छ । तर यो खेलले हामीलाई यमनविरुद्धको खेलका लागि तयारी गर्न मदत गरेको छ । यमनविरुद्ध हामी अंक जित्नका लागि खेल्नेछौं । सबै खेलाडी फिट छन् भन्दा हुन्छ । घरेलु भूमिमा समर्थकबीच खेल्दाको मज्जा अर्को नै हुने गर्छ । टिममा धेरै नयाँ खेलाडी छन्, पहिलो रोजाइका खेलाडी को–को हुने हुन्, त्यसले धेरै फरक पार्नेछ ।’

चिसो मौसमको प्रभाव

दशथ रंगशालामा खेल बेलुका ७ बजे हुनेछ । खेलमा मंसिरको जाडोको प्रभाव रहनेछ । यसले खेललाई प्रभावित पार्ने छ त ? यसको सिधा उत्तर भने नेपाली प्रशिक्षक एनिसले दिन चाहेनन् । उनको एउटै तर्क थियो, ‘बेलुका ७ बजेको समय जत्तिको राम्रो समय फुटबलका लागि अर्को छैन । त्यसैले नेपालले आफ्नो अन्तर्राष्ट्रिय खेल बेलुका ७ बजे नै खेल्ने बानी बसाउनुपर्छ । यो दर्शकलाई पनि राम्रो हो, सुविधा हुनेछ ।’

यमनका प्रशिक्षकले भने खेल समयलाई बढी महत्त्व दिन चाहेनन् । उनको आशय थियो, व्यावसायिक फुटबलमा खेल कति बेला हुने त्यो समय र मौसमबारे धेरै बोल्नु ठीक हुन्न । उनले भने, ‘बेलुका ७ बजेको खेलमा हामीलाई खासै समस्या छैन । हामी नेपालको सामना गर्दै छौं र यसका लागि तयार छौं । हाम्रा खेलाडी मनोवैज्ञानिक रूपमा तयार छन् । हामीले यस्तै मौसम र भौगोलिक परिस्थितिबीच खेल्न अभ्यास गरेका पनि छौं ।’

जित्नैपर्ने दबाब

नेपाली कप्तान किरण लिम्बूले टिमलाई एक प्रकारले जित्नैपर्ने दबाब रहेको पनि स्वीकारे । यस पछाडि उनको तर्क थियो, ‘छनोटको अर्को चरणका लागि आफ्नो दाबी कायम राख्न नेपालले यमनविरुद्धको खेल जित्न सक्नुपर्छ । हामीले यूएईविरुद्धको नतिजा बिर्सेर यमनको सामना गर्ने छौं । हाम्रा खेलाडी मानसिक रूपमा यसका लागि तयार छन् । यूएईबाट फर्केपछि हामीले राम्रो तयारी पनि गरेका छौं ।’

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा यमनलाई हराउन भने सकेको छैन । नेपाल र यमनबीच अहिलेसम्म ४ खेल भएको छ । त्यसमध्ये तीन खेलमा यमन विजयी छ । टोलीले सन् २००० मा एसिया कप छनोटमा नेपाललाई ३–० ले हराएको थियो । पछि सन् २०१४ को मैत्रीपूर्ण खेल पनि यमनकै पक्षमा ३–० रह्यो । एसिया कप छनोटको सन् २०१७ मा कामाडौंमा भएको खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसै प्रतियोगिताको अर्को खेलमा भने यमन १–० ले विजयी रह्यो ।

प्रकाशित : मंसिर ५, २०८० ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?