सूर्य नेपाल सेन्ट्रल ओपन : अगाडि आए युवा गल्फर सद्भाव

काठमाडौँ — सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन मंगलबार एमेच्योर गल्फर सदभाव आचार्य ३ स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा पुगेका छन् ।

राष्ट्रिय गल्फ टोलीका सदस्य सदभावले गोकर्ण गल्फ क्लबमा ४ अन्डर ६८ स्कोर गर्दै समग्रमा १० अन्डर १ सय ३४ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे । दिनको उत्कृष्ट कार्ड बनाउने क्रममा दिनेशले ७ अन्डर ६५ खेले । उनी समग्रमा ७ अन्डर १ सय ३७ सहित दोस्रो स्थानमा उक्लिए । ५ अन्डर १ सय ३९ स्कोरसहित तेस्रो स्थानमा उक्लिएका जयराम श्रेष्ठले मंगलबार ३ अन्डर ६९ खेलेका थिए ।
पहिलो दिन अगाडि रहेका एमेच्योर टासी छिरिङ २ अन्डर १ सय ४२ सहित चौथो स्थान झरे । उनले ५ ओभर ७७ को बिर्सनलायक प्रदर्शन गरे । ३ अन्डर ६९ स्कोर गरेका धनबहादुर थापा समग्रमा १ अन्डर १ सय ४३ सहित पाँचौ स्थानमा रहे । समग्रमा इभन पार १ सय ४४ सहित भुवन नगरकोटी छैटौं स्थानमा छन् । उनले १ अन्डर ७१ मा दिनको खेल टुंग्याए ।
समग्रमा १ ओभर १ सय ४५ स्कोरसहित सञ्जय लामा र नीरज तामाङले संयुक्त सातौं स्थान बाँडे । नीरजले ३ अन्डर ६९ मा र ४ ओभर ७६ मा खेल सके । कुमार कामी र प्रदीपकुमार लामा समग्रमा २ ओभर १ सय ४६ सहित संयुक्त नवौं स्थानमा रहे । कुमारले १ अन्डर ७१ र २ ओभर ७४ मा खेल टुंग्याए ।
शीर्षस्थानमा उक्लने क्रममा सदभावले चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन ३ अन्डर ३३ मा टुंग्याए । ब्याकनाइन भने १ अन्डर ३५ मा पूरा गरे । १०, १२ र १५ औं होलमा एक–एक शट बचाए पनि १० र १८औं होलमा बोगी खेपे ।
दिनेशले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्टनाइन ५–अन्डर ३१ खेले । उनले पहिलो, तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे । यसपछि उनले ११, १५, १६ र १७ औं होलमा चार बर्डी प्रहार गरे पनि १२ र १४ औं होलमा एक–एक शट खेर फाल्दा ब्याकनाइन २ अन्डर ३४ मा पूरा गरे । यो स्कोरमा उनी प्रोफेसनलतर्फ सबैभन्दा अगाडि रहेका छन् ।
१४ ओभर १ सय ५८ सम्म स्कोर गरेका २१ प्रोफेसनल गल्फरहरू रमेश अधिकारी, रवि खड्का, बलभद्र राई, तोरणविक्रम शाही, भुवनकुमार रोक्का, सुनील केसी, दीपक मगर, रामे मगर, शिवराम पौडेल, पशुपति शर्मा, भू बहादुर गुरुङ, दलबहादुर लामा र टासी घलेले कट बनाएका छन् । अन्य तीन एमेच्योर गल्फर युवराज भुजेल, अमित बोगटी र उदिम राई पनि अन्तिम १८ होलको लागि योग्य भएका छन् ।
सूर्य नेपाल गल्फ टुरअन्तर्गत यस सिजनको यो पहिलो प्रतियोगिता हो ।
प्रकाशित : मंसिर ५, २०८० २२:११