केपी ओली कपमा १२ टिम

पोखरा — पोखरा रंगशाला क्रिकेट मैदानमा मंसिर ७ देखि हुने केपी ओली राष्ट्रिय कप टी–२० क्रिकेट प्रतियोगितामा १२ टिम प्रतिस्पर्धा गर्ने भएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा ३ विभागीय, ७ प्रदेश र २ आयोजक टिमले प्रतिस्पर्धा गर्ने छन् ।

युवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना दुई टिम पहिलोपल्ट प्रतियोगितामा सहभागिता गराउन लागेको एकेडेमीअन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनले बताए । एकेडेमीले हालै देशभरि २ सयभन्दा बढी युवा खेलाडीबाट छनोट गरी दुई टिम बनाएको हो ।
खेल तालिकाअनुसार समूह ‘ए’ मा वाग्मती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी नीलो छन् ।
मंसिर १५ सम्म हुने प्रतियोगितामा हरेक दिन दुई खेल हुने संयोजक गौचनले बताए । उद्घाटन खेल वाग्मती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोबीच हुनेछ । प्रतियोगितामा सबै प्रदेशबाट राष्ट्रिय खेलाडीको सहभागिता हुने संयोजक गौचनले जानकारी दिए ।
आयोजक एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न करिब ७० लाख रुपैयाँ खर्च हुने जनाएको छ । विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । म्यान अफ द म्याच र उत्कृष्ट ब्याटर र बलरलाई नगद प्रदान गरिने छ ।
प्रकाशित : मंसिर ५, २०८० ०७:२३