फाल्गुनन्द गाउँपालिकालाई भलिबल उपाधि

पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ र ७ को संगमस्थल वसाँगुमा आयोजित पालिकास्तरीय आमन्त्रण द्वितीया मेला भलिबल प्रतियोगिताको उपाधि फाल्गुनन्द गाउँपालिकाले जितेको छ ।

शनिबार साँझ सम्पन्न फाइनल खेलमा जिल्लाको कुम्मायक गाउँपालिकालाई २५–१६, २५–२२ र २५–२१ को सोझो सेटमा हराउँदै फाल्गुनन्द गाउँपालिकाको भलिबल टिमले उपाधि जित्न सफल भएको हो । फाल्गुनन्दले उपाधि जितेसँगै नगद १ लाख १५ हजार ५ सय १५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।
यस्तै उपविजेता कुम्मायक गाउँपालिकाले नगद ६५ हजार ५ सय ६५ रुपैयाँमा चित्त बुझायो ।
विजेता र उपविजेता टिम र खेलाडीलाई फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बे, निवर्तमान अध्यक्ष वीरबहादुर कुरुम्बाङ र मेला आयोजक कमिटी अध्यक्ष अमर आङदेम्बे लगायतले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरे ।
पाँचथरसहित तेह्रथुम र इलाम जिल्लाका ख्यातिप्राप्त १२ टिमले भाग लिएको प्रतियोगिता कात्तिक २९ गते सुरु भएको थियो । प्रतियोगिता प्रत्येक वर्ष तिहारको अवसरमा १८११ सालदेखि भाइटीकाको दिन लाग्दै आएको द्वितीया मेलाको अवसरमा आयोजना गरिएको हो ।
प्रकाशित : मंसिर ३, २०८० ०९:३३